प्रथम महिला एमिकस क्युरीको स्पष्टोक्ति : संविधान कोमामा गएको छैन
वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले संविधान कोमामा गएको भन्ने कानुन व्यवसायीहरूको भनाईको खण्डन गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा एमिकस क्युरीका तर्फबाट शुक्रबार संवैधानिक इजलासमा आफ्नो राय दिँदै पाठकले संविधान कोमामा गएको भन्ने कानुन व्यवसायीहरूको भनाई गलत भएको तर्क गर्नुभएको हो ।
उहाँले संविधान कोमामा गएको भए पनि यसका धाराले अक्सिजनको काम गर्ने भन्दै आफूहरू त्यहि धारा लिएर अदालतमा उपस्थित भएको बताउनुभयो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका एक जना कानुन व्यवसायीले संविधान कोमामा गएको दाबी गरेका थिए । सोही प्रसङ्गतर्फ इङ्गित गर्दै पाठकले संविधान बिरामी नभएको र कोमामा पनि नगएको तर्क गर्नुभएको हो ।
‘संविधानको जीवन्तता यथावत छ । संविधान न बिरामी हुन्छ,न कोमामा छ । यदि संविधान कोमामा छ भने हामी पनि कोमामा छौं,’ उहाँले भन्नुभयो ।
उहाँले संविधानमै समाजवाद लेखिएकाले शासकीय स्वरूपको आधार त्यसैबाट निर्देशित हुने पनि उल्लेख गर्नुभयो । ‘देशको शासन व्यवस्था पार्लियामेण्ट्री होइन भनेर म भन्दिँन तर त्योभन्दा अगाडि संविधानमा महत्वपूर्ण कुराहरू अरु के के राखिएका छन्, त्यो हेर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाई अन्तिम चरणमा पुगेको छ । आज पाठकले आफ्नो राय राखिसकेपछि सम्पूर्ण सुनुवाईको प्रक्रिया सकिएको छ ।
टिप्पणीहरू