प्रधानमन्त्री सबैथोक दिने, अर्को पक्ष निदाउने
विपक्षी त्यसमा पनि नेकपाको प्रचण्ड–माधव समूहप्रति आक्रामक अभिव्यक्ति दिँदै आउनुभएका प्रधानमन्त्री केपी ओलीले आइतबार अनेक उपाय गरेरै भए पनि लुम्बिनीमा राम्रैसँग मान्छे उतार्नुभयो । उहाँका राजनीतिक निर्णय र कदम जति आलोच्य भए पनि एकथरी मान्छे छाँद हालेर दौडिएको देखिन्छ । बेपर्वाह खर्च गर्नसक्ने हैसियत भएपछि मान्छे बटुल्न त्यति गाह्रो नहुनु स्वाभाविक हो ।
प्रधानमन्त्री भनेको सरकारी पद दिने मूली मान्छे हो । त्यसैगरी एउटा समूहको अध्यक्ष भएपछि पार्टीको पद पनि दिन सकिने नै भइयो । पद र पैसा दिन सकिने भएपछि सत्तारुढ दल वा प्रधानमन्त्रीको कार्यक्रममा एकथरी मान्छे ओइरिन्छन् नै ।
हुनतः नेकपाको अर्को पक्षका नेताले पनि सरकारी जिम्मेवारी दिन नसकेपछि पार्टीको पद र जिम्मेवारी भने दिन सक्छन् तर दिन खोजेको देखिँदैन । त्यसैको फाइदा उठाउँदै प्रधानमन्त्री ओलीले चाहेको बेला पद, दशैंमा टीका लगाएर गच्छेअनुसार पैसा दिन थालेको धेरै भइसक्यो । एकजना सञ्चारकर्मीलाई आफ्नो बनाउन उहाँले निकै चर्चा हुने गरी ब्रिफकेश नै दिनुभएको थियो । महेश बस्नेतलाई अघिल्ला वर्षको हिउँदमा जाडो धेरै भयो भनेर ओभरकोट दिनुभयो ।
नेकपा नेता तथा सधँै किसान तथा सहकारी आन्दोलनको अगुवा केशव बडालकी श्रीमतीको उपचार गराउन अलिवर्ष पहिले ३ लाख रूपैयाँ सहयोग गर्नुभएको थियो । त्यसपछि बडाल आजीवन ओलीको खाँटी मान्छे बन्नुभयो । उहाँले जसलाई जे चाहेको हो त्यहि दिएपछि मान्छेको मन न हो पग्लन के को आइतबार !
तर, नेकपाको अर्को पक्षका नेताहरूले विधानबमोजिम काम गर्ने भन्नुभएकाले मान्छे रहेमा मात्र विधानको काम हुने, कार्यकर्ता नै नभए विधानको के अर्थ ? भन्न थालिएको छ । त्यस्तो अवस्थामा पार्टी विधान कहाँ लागू गर्ने ? अनि कसलाई लागू गर्ने ? प्रचण्ड–माधव समूहमा सँधै वरिष्ठता र अनुभवको आधारमा जिम्मेवारी बाँडफाँडको चर्चा हुन्छ । बालुवाटारले भने यस्तो बेलामा जो भिड्न सक्छ, उसलाई जिम्मेवारी दिने भन्दै धमाधम रिक्त पदपूर्ति गरिरहेको छ । फोटाग्राफरले स्न्याप हानेझैँ आफ्नो मान्छे भन्नेबितिक्कै प्रधानमन्त्री समूहले ठाउँको ठाउँ झ्याप्प नियुक्ति दिइहाल्ने गरेको देखिन्छ ।
पार्टीभित्र देखिएको अहिलेको असहज अवस्थामा जो कुद्न र खट्न सक्छ त्यसलाई जिम्मेवारी दिएर खटाइ हाल्नुपर्ने रणनीति नेपाल–दाहाल समूहमा देखिँदैन । यता, लुम्बिनीमा अस्ति जम्मा भएको भीड कहाँबाट जुटाइयो भन्ने त्यसैको परिणाम भएको स्पष्ट हुन्छ । बुटवल पुगेका नेता तथा अगुवा कार्यकर्ताहरूलाई मात्र हेर्दा पनि उक्त वास्तविकता छर्लंग हुन्छ । शान्ता चौधरी, मीनु श्रेष्ठ, महेश बस्नेत, राजेन्द्र अर्याल, प्रमोद दाहालहरूको उपस्थिति र जिम्मेवारीतर्फ विपक्षी कसैले हेक्का राखेको देखिँदैन ।
यी सबै हिसाबले प्रधानमन्त्री ओलीले कसरी आफ्नो मान्छे बनाएर राख्नुभएको छ भन्ने निश्कर्ष निकाल्दा कसैलाई पद दिने, कसैलाई आवश्यकतानुसार आर्थिक सहयोग गर्ने, कसैको बिग्रेको काम छ भने बनाइदिने ।
टिप्पणीहरू