“कोरोनाको बेला करमा नगरियोस् करकर” (भिडियो सहित)

“कोरोनाको बेला करमा नगरियोस् करकर” (भिडियो सहित)

घरेलु,साना तथा मझौला उद्योगीहरुले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक वर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

कोभिड १९ संक्रमणको पहिलो लहरमा भएको लामो समयसम्मको बन्दाबन्दीका कारण मर्कामा परेको व्यवसाय पुरानै लयमा फर्कन नपाउँदै पुनः थला परेकाले सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने उनीहरुले बताएका हुन् ।

मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएका घरेलु तथा साना र मझौला उद्योगीहरुले कोभिड १९ महामारीको चपेटामा परेको भन्दै प्राथमिकताका साथ आफूहरुको समस्या सम्बोधन होस् भनेका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष इनु पौडेलले महामारीको पहिलो लहरदेखि नै साना तथा मझौला व्यवसायी मारमा परेकाले शून्यको अवस्थाबाट व्यवसाय शुरु गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले व्यवसाय पुनरुत्थानका लागि विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने समेत बताउनुभएको छ ।

अल्पविकसित एवं अविकसित मुलुकहरुको अर्थतन्त्रलाई चलायमान बनाउने मूल आधार नै साना तथा मझौला उद्योगहरु भएको र विश्वभर यस्ता उद्योगलाई प्राथमिकतामा राख्ने गरिएको भन्दै उहाँले नेपाल सरकारले पनि प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्नुपर्ने माग गर्नुभएको छ ।

आन्तरिक राजश्व विभागले अनलाइन माध्यमबाट कर तिर्ने व्यवस्था गरेकाले त्यसतर्फ समस्या नभएको उल्लेख गर्दै उहाँले व्यवसाय नै ठप्प भएको बेलामा भने बेला कर तिर्न नसकिने बताउनुभयो ।

उहाँले कोभिड १९ संक्रमणको जोखिम घटेर अवस्था सामान्य भएपछि मात्र करलगायतका शुल्क तिर्ने व्यवस्था गर्नेतर्फ सरकारले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

टिप्पणीहरू