पैसा र पद त रै’छ नि हजुर दुनियाँ

पैसा र पद त रै’छ नि हजुर दुनियाँ

नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले साथै छौँ, साथै रहनेछौँ भन्दै तिलोत्तमा नगरका प्रमुख वासुदेव घिमिरे र उपमेयर जागेश्वरी चौधरीसँगै बसेको तस्बिर आफ्नो फेसबुकमा राखेपछि नेकपा वृत्तमा यस साता खुबै चर्चा चल्यो । उनीहरूलाई साथ दिएका थिए सैनामैनाका मेयर चित्रबहादुर कार्कीले । मेयर कार्की पौडेल रक्षामन्त्री हँुदा स्वकीय सचिवसमेत थिए । उक्त तस्बिर प्रधानमन्त्री ओलीको बुटवल संबोधनपछि आएको हो ।

त्यो तस्बिर अर्थमन्त्रीसमेत रहेका पौडेलको फेसबुकमा पोस्ट भएपछि सोही तस्बिरलाई प्रयोग गर्दै मिडियाहरूले घनश्यामका खास मान्छे ओली समूहमा भनी लेखेका छन् । तर, पौडेलसँगै तस्बिर खिचाएकी उपमेयर चौधरीले भने आफू माधव–प्रचण्ड समूहमै रहेको बताइन् । उनले आफ्नो तस्बिरलाई दुरुपयोग गरेको निकटस्थलाई बताएकी छन् ।

घटना यस्तो थियो : मेयरले बारम्बार फोन गरेर बोलाएपछि अर्थमन्त्रीलाई भेट्न चौधरी पौडेल बसेको होटल पुगेकी थिइन् । त्यहाँ केन्द्रीय सदस्य लीला गिरीसहित थिए । मेयर घिमिरे पहिल्यै पुगिसकेका थिए । केही राजनीतिक गफगाफ भएपछि लौ अबदेखि हामी प्रधानमन्त्रीको पक्षमा भएको कुरा नेताहरूले राखे । तर, चौधरीले आफूले यो विषयमा सहमत नहुने बताइन् भने घिमिरे खिसिक्क हाँसे । केहीबेरपछि महासचिव पौडेल भैरहवा एयरपोर्ट जाने तरखरमा लागे । जहाज आएको खबर सहयोगीले सुनाएपछि पौडेलले नै चौधरी र घिमिरेलाई पनि एयरपोर्ट सँगै जाऔँ भने । उनीहरू गए । एयरपोर्टमा तस्बिर खिचियो । उक्त तस्बिर पौडेलले घिमिरेलाई देखाए । घर नआइपुग्दै समाचार आएछ । पत्तै नपाई अर्कै समूहमा झुक्काएर तस्बिर हालेको भन्दै चौधरी तनाबमा थिइन् ।

चौधरीलाई ओली समूहले केही हप्तापहिले केन्द्रीय सदस्यमा पनि चयन गरेको थियो । त्यतिबेला उनले प्रतिगमनलाई साथ दिन नसक्ने भन्दै विज्ञप्ति निकालेर उक्त पद अस्वीकार गरेकी थिइन् । नेकपा आधिकारिक फुट नभए पनि नेता–कार्यकर्ता तानातान शुरु भएको छ ।

यसैबीच, रुपन्देहीमा ओली समूहको महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र घनश्याम भुसालबीच कार्यकर्ता तानातान शुरु भएको छ । भुसालको निर्वाचन क्षेत्र रुपन्देही ३ हो भने पौडेलको २ हो ।

पौडेलले भारतीय फिल्मी शैलीमा भुसालको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने तिलोत्तमा नगरपालिका मेयर वासुदेव घिमिरे र सिद्धार्थनगर कमिटी अध्यक्ष चोपलाल आचर्यसहितको टिमलाई आफ्नो समूहमा भिœयाएका छन् ।

विगतमा भुसालसँग निकट भएकै कारण दोहोरो बोलचाल राम्रोसँग नहुने गरेका अर्थमन्त्री पौडेल र मेयर घिमिरेबीचको पहिलो वार्ता मेयरकै होटल टुलिपमा भएको थियो । त्यसपछि अर्काे वार्ता ड्रिमल्यान्डमा भयो ।

अर्थमन्त्री पौडेलले तिलोत्तमा रिङरोडको लागि आवश्यक बजेट दिने र आगामी निर्वाचनमा बुटवलको तिलोत्तमादेखि भैरहवा बेलहियासम्म जोडेर हुने महानगरको मेयर दिने आश्वासन दिएपछि घिमिरे लुरुलुरु पौडेलको पछि लागेको बताइन्छ ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेलगत्तै देशभरका ७५२ स्थानीय पालिका मौन बसिरहँदा तिलोत्तमाले उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भन्दै विज्ञप्ति निकालेको थियो । त्यतिबेला ओलीनिकट वडाध्यक्षहरू र नेताहरूले सरकारी लेटरप्याड दुरुपयोग गरेको भन्दै घिमिरेको चर्काे आलोचना गरेका थिए ।

घिमिरेलाई उनका व्यवसायी पार्टनर विष्णु भुसाल, झविन्द्र भण्डारी, नेत्र बनसहित हाउजिङ व्यवसायी र होटल व्यवसायीले पनि कन्भिन्स गरेका हुन् । विगतमा रियल इस्टेट व्यवसायीका रुपमा रहेका घिमिरेले स्थानीय निर्वाचनमा घनश्यामकै जोडबलमा टिकट पाएका थिए । घिमिरेलाई टिकट दिएकै रिसमा पौडेल र छविलाल विश्वकर्माले देवदह नगरमा नीलकण्ठको टिकट खोसेका थिए । त्यतिबेला वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पाँच वर्ष बसेर केही पैसा कमाई फर्केका घिमिरेलाई टिकट दिँदा पार्टीका इमान्दार कार्यकर्ताले भुसालको समेत आलोचना गरेका थिए ।

यता, नारायणकाजीसँगै एमाओवादीमा समाहित भएका चोपलाल आचार्य एमाले र माओवादी एकीकरण भई नेकपा हुँदा भागबण्डाको कारण आफूभन्दा सिनियरलाई उछिनेर सिद्धार्थनगरकमिटी अध्यक्ष भए । उनीभन्दा धेरै सिनियर पूर्व एमालेका नेताहरू उनको मातहतमा नबस्ने भनिरहे पनि अन्ततः घनश्याम भुसालले नै पार्टी एकीकरणको बेला उथुलपुथल हुन्छ, पद ठूलो होइन बसौँ भनी बस्न आग्रह गरेपछि नेताहरूले नेतृत्व स्विकारेका थिए ।

उनै चोपलालको नेतृत्वमा प्रधानमन्त्रीको कदम प्रतिगमन भन्दै चार/पाँचवटा नगरस्तरीय सभा पनि भए । बुटवलमा माधव–प्रचण्डको सभामा पनि चोपलालले नै अगुवाइ गरेर कार्यकर्ता लगेका थिए । तर, प्रधानमन्त्री बुटवल आउँदा पनि चोपलालले नै अगुवाइ गरेपछि उनले प्रतिगमन स्विकारेको देखिएको छ ।

अर्थमन्त्री पौडेलले भैरहवामा निर्माणाधीन उद्योग व्यापार संगठन भवनको लागि एक करोड दिने आश्वासन दिएपछि चोपलालसहित उक्त उद्योग व्यापार संगठनका नेता पनि पौडेल समूहमा लागेको देखिएको छ ।

टिप्पणीहरू