सीधै बालुवाटारबाट
अब विभागीय मन्त्रालय, मन्त्री र सचिवहरूले हैन, सीधै बालुवाटारले कर्मचारी छान्छ र काममा पठाउँछ । एउटा ज्वलन्त उदाहरण हो, राजश्व अनुसन्धान विभाग ।
अहिले प्रधानमन्त्री कार्यालयको मातहत राखिएको त्यो ठाउँमा आजभोलिमै हाकिम फेरिँदैछन् । बालुवाटार भनेको प्रधानमन्त्रीलाई बस्नका लागि सरकारले व्यवस्था गरेको निवास हो । तर, त्यहीँबाट प्रशासनिकदेखि पार्टीका कामसम्म हुने गरेपछि सिंहदरबार बेकामे बनेको छ । किनभने, आन्तरिक राजस्व विभाग बालुवाटारबाट हैन, सिंहदरबारबाट चल्नुपथ्र्यो । तर, चलिदिएको छ, बालुवाटारबाट ।
त्यहाँ महानिर्देशकका रुपमा जानका लागि ठिक्क पारिएको छ, कडिकडाउसँग काम गरिरहेका दीर्घ मैनालीलाई । अहिले राजस्व अनुसन्धान विभागमा कार्यरत दीर्घलाई त्यहाँ पठाउने रुची सीधै बालुवाटारबाट प्रकट भएपछि सिंहदरबारमा तयार पारिएका अरु इच्छुक सहसचिवको नाम चट्चटी काटिएको हो । त्यहाँ जान पहिला ठूला करदाता कार्यालय सम्हालिसकेका सहसचिवहरू झक्कप्रसाद आचार्य, रामेश्वर दंगाल, अर्थको बजेट महाशाखाका धनीराम शर्मा, उद्योमा हुने शोभाकान्त पौडेलहरूको सूची सिंहदरबारमा बनेको थियो ।
त्यसमध्येका केहीले अहिलेको अवस्थामा जान रुची राखेनन् । किनभने, हुकुमी सरकार चलेको बेला कानुनी र प्रशासनिक मर्यादाभित्र बसेर काम गर्न सकिँदैन भन्ने उनीहरूको ठहर रह्यो । यसपछि सहसचिव चन्द्रकला पौडेलले रुची देखाइन् । उनको रुचीलाई कृषि मन्त्री पद्मा अर्यालले बालुवाटारसम्म पु¥याइन् । कारण थियो, जिल्लावासी हुनु । तर, बालुवाटारको पहिलो प्राथमिकतामा दीर्घ मैनाली परिदिए ।
उता, नेकपाका कर्मचारी संगठनभित्रै एकता अभियान देखा परेको छ । आ–आफ्नो कित्ता प्रष्ट पारे पनि उनीहरू एकताबिना आगामी ट्रेड युनियन निर्वाचनमा सफल नहुने भन्दै यस्तो अभियानमा लागेका हुन् । त्यसमा प्रचण्ड–माधव पक्षमा खुलिसकेका भोला पोखरेलदेखि केपीपक्षीय १५ सय १ सदस्यीय केन्द्रीय कमिटीका सदस्य बालकृष्ण गिरीसम्म छन् । यही अभियानभित्र प्रचण्ड–माधवपक्षीय पर्यटन व्यवसायी मदन आचार्य र काठमाडौं महानगरपालिकाका कर्मचारी नेता हरिकुमार श्रेष्ठ पनि छन् ।
टिप्पणीहरू