कहाँ गर्‍यो काम ?
प्रधानमन्त्री केपी ओलीले दरवारमार्गमा उभिएर भाषण गर्नुभयो, ‘यो सरकारले जति काम गरेको छ त्यति त आजसम्म कसैले गरेको छैन । इतिहासमै सबैभन्दा बढी काम गरेको सरकार हो यो ।’
प्रधानमन्त्रीबाट यस्तो भाषण आएपछि प्रचण्ड–नेपाल गुटका एक वरिष्ठ नेताले भने, ‘झुट । कति झुट बोल्न सकेको होला यो ओलीले !’
प्रचण्ड–नेपाल गुट भने पनि उहाँ कमरेडको मूल त ओली नै हो । कुनै बेला ओलीकै मान्छे भएका नेताले नै झुट भनेपछि मलाई पनि लाग्यो, साँच्चै झुटै पो हो कि ?
मैले नेताजीलाई सोधेँ, ‘झुट हुनलाई कुनै प्रमाण पनि त चाहियो नि । के प्रमाण छ ?’
‘अरे मैले भनेपछि प्रमाण किन चाहियो ?’ नेताजीले भने, ‘ओलीले यो जति पनि काम गरेँ भन्नुभएको छ, त्यो केही पनि गर्नुभएको छैन । सबै झुट हो ।’
मैले पुनः सोधेँ, ‘झुट कसरी हुन्छ ? प्रमाण त चाहियो नि ।’
उनले भने, ‘अरे प्रधानमन्त्रीले काम त केही पनि गर्नुभएको छैन । यो मलाई पुरै थाहा छ । अरे काम त उहाँले तब न गर्ने हो जब हामी गर्न दिन्छौँ । हामीले उहाँलाई कुनै काम गर्न दिएनौँ । जब हामीले कुनै कामै गर्न दिएका छैनौँ भने उहाँले काम गर्नुहुन्छ कसरी ?’
नेताजीको कुरा सुनेर म ट्वाँ परेँ । वास्तवमा त्यो अवस्थामा ट्वाँ पर्नु नै सबैभन्दा उत्तम उपाय थियो ।
टिप्पणीहरू