प्रधानमन्त्रीको कदमबिरुद्ध काँग्रेस
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाली काँग्रेसले आज विभिन्न स्थानमा र्यालीसहित प्रदर्शन गरेको छ । पार्टी केन्द्रिय समितिको निर्णयअनुसार काँग्रेस काठमाण्डौ क्षेत्र नम्बर ६ र ७ ले काठमाडौंमा संयुक्त र्याली र प्रदर्शन गरेका हुन् ।
काठमाण्डौको क्षेत्रपाटी चोकदेखि नरदेवी चोक,प्याफल चोक हुँदै वसन्तपुर डबलीसम्म भएको प्रदर्शन र र्यालीमा वडा नम्बर १७ का वडाअध्यक्ष नवीनकुमार मानन्धर र २५ का वडाअध्यक्ष नीलकाजी शाक्यलगायतको उपस्थिति थियो ।

काँग्रेस काठमाण्डौ क्षेत्र नम्बर ६ र ७ ले काठमाडौंमा संयुक्त र्याली
काठमाण्डौं क्षेत्र नम्बर ६ का सभापति श्याम खड्गी र ७ का सभापति मुकुन्द रिजालको नेतृत्वमा प्रदर्शनकारीले प्रधानमन्त्री ओलीविरुद्ध आयोजित विरोध र्यालीमा नेपाली काँग्रेस जिन्दावाद,कम्युनिष्ट सरकार चाहिँदैनलगायतका नारा लगाएका थिए ।
त्यसैगरी काठमाडौ क्षेत्र नम्बर ८, ९, १० को पनि आज पूर्व सांसद राजन के.सीको नेतृत्वमा परोपकारबाट निकालिएको जुलस वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रधानमन्त्रीको असंवैधानिक कदम, सर्वसत्तावाद, कुशासन, भ्रष्टाचारविरूद्व आयोजित र्याली र सभाको प्रमुख अतिथि पूर्वसहमहामन्त्री तथा केन्द्रीय सदस्य अर्जुननरसिंह के. सी. हुनुहुन्थ्यो । त्यसैगरी, काठमाडौ जिल्ला सभापति सबुज बानियाँ, केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान,काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै काँग्रेस क्षेत्र नं १ देखि १० सम्मका क्षेत्रीय सभापतिहरूको उपस्थिति थियो ।
आजै नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा जावलाखेलबाट जिल्ला सभापति मदनबहादुर अमात्यको नेतृत्वमा जुलुश प्रदर्शन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, ललितपुरकी उपमेयर गीता सत्याललगायतको सहभागिता रहेको ¥याली लगनखेल पुगेर विरोधसभामा परिणत भएको थियो । कार्यक्रमलाई काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्नुभएको थियो ।
टिप्पणीहरू