ललिता निवासको लफडामा पनि पेशी चढ्यो
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतमा सुरुवाइ शुरु भएको छ । आज निवेदकतर्फका वकिलले जवाफी बहस गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पक्षधर कानुन व्यवसायीहरुले बिहिबार बहस सकेका छन् । ती कानुन व्यवसायीले उठाएको प्रश्नको जवाफ आज रिट निवेदकहरुले दिनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि यसलाई असंवैधानिक कदम भन्दै १३ वटा रिट निवेदन दर्ज भएको थियो । जहाँ २५ बर्षका वकिलदेखि ९५ बर्षसम्मका बयोवृद्धसम्मले बहस गरेका थिए । सो मुद्दामा रिट निवेदकको तर्फबाट ७२,सरकारको तर्फबाट ४९ र सभामुखको तर्फबाट ३ जना गरी १ सय २४ जनाको बहस सकिएको छ । आज रिट निवेदकतर्फका वकिलले जवाफी बहस गर्ने कार्यक्रम रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले बढीमा पाँच जना अधिवक्ताले मात्र रिट निवेदकका तर्फबाट उठेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।
यता बालुवाटारस्थित सरकारी निवास (ललिता निवास) जग्गा प्रकरणमा परेको रिटउपर आज फेरि पेशी तोकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनकै पक्षमा खुलेर वकालत गरिरहेका राजावादी बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा न्यायाधीशद्वय हरि फुँयाल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको हो ।
टिप्पणीहरू