फागुन २१ को मध्यावधि चुनावमा मोबाइल छाप चिन्ह लिई जनादेश पार्टी नेपाल पनि प्रतिश्पर्धामा होमिएको छ । वैकल्पिक तथा नयाँ शक्ति दावी गर्ने यो पार्टीका अध्यक्ष छन्, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गर्न सहजकर्ताको भूमिका निभाएका बरिष्ठ अधिवक्ता रमणकुमार कर्ण ।
प्रारम्भमा केही जेनजी युवा-युवतीलाई साथ लिई दल घोषणा गरेका उनको पार्टीमा ऋषि धमला दम्पती पनि सामेल थिए । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट बहिरिएर यस पार्टीमा आएकी धमलापत्नी एलिजा गौतम त उपाध्यक्ष नै थिइन् । तेस्रो पटक पार्टी फेरेकी उनी पति ऋषिलाई पनि सँगै लिएर प्रभु साहको आम आदमी पार्टीतिर लागेकी छन् । मोबाइल चिन्हबाटै समानुपातिकमा बसेकी उनले श्रीमानलाई भने मधेश प्रदेशको रौतहट-४ बाट प्रत्यक्ष उठाएकी छन् । चुनावी अभियानका क्रममा अनेक चटक देखाइरहेका धमलाले राम्रै खर्चपर्च गरेको चर्चासमेत छ ।
उता, अध्यक्ष कर्ण र उनको टोली पनि छुट्टै मत माग्न जनताको घर-आँगनमा जाँदैछ । पहिले डिजिटल प्रचार र त्यसपछि घरदैलो गर्ने योजनाअनुरुप यसैसाता मधेश झर्ने उनको तयारी छ । कर्ण आफैं महोत्तरी-२ बाट प्रत्यक्ष उम्मेदवार बनेका छन् ।
पूर्वमन्त्री सरतसिंह भण्डारी, नेपाली कांग्रेसका किरण यादव लगायतसँग कडा प्रतिष्पर्धा हुने आकलन गरिएको सो क्षेत्रलाई कर्णले प्राथमिकतामा राखेको बुझिन्छ । उनले चुनावका बेला जनतालाई अनेक आस्वासन दिने परम्परागत शैलीको विपक्षमा रहेको बताए । जनआस्थासँगको कुराकानीमा उनले भने, 'जनताको मनोविज्ञान र समाजको अपेक्षालाई ध्यान दिएर कार्यन्वयन गर्न सकिने विषय मात्र हाम्रो चुनावी एजेण्डा हुन्छ, भोटकै लागि अनावश्यक ललिपप बाँड्ने काम हामी गर्दैनौँ ।'
अध्यक्ष कर्णले 'मतदान' भन्ने शब्दप्रति पनि असन्तुष्टि जनाए । यसको व्याख्या गर्दै भने, 'मत दान गर्ने होइन, जनताको आदेश हो ।' राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिले जनतामाथि शासन गर्ने नभई सेवक हुनुपर्ने उनको भनाइ छ ।
'हामी सीमित सरकारको पक्षमा छौँ, संविधानत: जनता आफैँ सार्वभौम छन्', कर्णले प्रष्ट्याउँदै भने, 'जनतालाई शासन गर्ने सरकार चाहिएको होइन । त्यसकारण आम चुनावले शासल जन्माउने होइन सेवक खोज्ने हो ।'
यसैका आधारमा आफ्नो पार्टीले राष्ट्रिय घोषणापत्र भन्दा पनि क्षेत्रगत समस्या समाधानका लागि योजना बनाएर जनताको माझमा जान लागेको जानकारी उनले दिए ।