कपिलवस्तुमा एमालेलाई अर्को धक्का
मधेशी दल जसपाले दोहोर्याएर संसद बनाउन नचाहेपछि ०७९ को चुनावअघि केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेशगरी समानुपातिक सांसद बनेकी अमृता अग्रहरीले एमाले त्याग्ने भएकी छन् ।
कपिलवस्तुकी यिनी केपीको कृपाले मधेशी महिला क्लस्टरमा सांसद बनेकी थिइन् । जसका कारण वर्षौंदेखि एमालेमै लागेर कपाल फुलाएका मधेशी महिलालाई अवसरबाट बन्चित हुनुपर्यो । तर, अन्तत: उनै अग्रहरीले आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखैमा एमाले छोड्न लागेकी हुन् ।
यसबारे जनआस्थाले चासो राख्दा उनले भनिन्- ;'अहिले निर्णय गरिसकेको त छैन, तर त्यागेकै अर्थमा बुझ्नुस् । म एक्लै छोड्नुभन्दा एउटा समूह नै बनाएर सामूहिक राजीनामा दिने सल्लाह भैराखेको छ ।'
अग्रहरीले आफूलाई एमालेमा भित्र्याउने बेला दिएको आस्वासन पूरा गर्न नेतृत्वले इमान्दारिता नदेखाएपछि यो पार्टीसँग मोहभंग भएको बताइन् । सांसद बनाए पनि पार्टीको जिम्मेवारी दिन आनाकानी गरिएको उनको गुनासो छ ।
एमालेको चरित्रबारे व्याख्या गर्दै उनले थप भनिन्- 'एमालेका जिल्ला नेताहरू डेढ हजार मत पनि ल्याउन सक्दैनन् । त्यसैले पैसा भएका तथा अन्य दलमा जनमत भएकाहरूलाई चुनावको मुखमा प्रवेश गराएर टिकट दिने चलन रहेछ ।'
अग्रहरीका अनुसार राजपाबाट एमाले प्रवेश गर्दा पार्टीमा हैसियत दिने विश्वास अध्यक्ष केपी र महासचिव शंकर पोखरेलबाट दिइएको थियो । तर, विश्वासघात भएकोले एमालेको विधान अधिवेशनदेखि हालै सम्पन्न राष्ट्रिय महाधिवेशनमा पनि सहभागिता नजनाएको उनले बताइन् ।
गजेन्द्र नारायण सिंहकै संगतमा सद्भावनाबाट राजनीति शुरु गरेकी अग्रहरी स्पष्ट वक्ता हुन् । निडर स्वभावकी यिनी प्रष्टसंग आफ्ना कुरा राख्ने मधेशी नेताका रुपमा चिनिन्छिन् ।
कपिलवस्तुकै वृजेशकुमार गुप्ताले पनि दुई दिनअघि एमाले छोडेका थिए । पूर्वमन्त्रीसमेत रहेका यिनको जिल्लामा राम्रै प्रभाव छ, भनिन्छ । एमाले नेतृत्वलाई विभिन्न आरोप लगाएर बाहिरिएका गुप्ता अर्को पार्टीबाट चुनाव लड्ने तयारीमा रहेको बताइन्छ ।
यता, उखु किसानको पैसा नतिरेर रुवाएका पूर्वराज्यमन्त्री वीरेन्द्र कनौरियाले भने एमाले रोजेका छन् । उनी कांग्रेस छोडेर यता आएका हुन् ।
घुस काण्डमा बद्नाम भएका कपिलवस्तुकै बलराम अधिकारीले चुनाव नलड्ने भएका भएका छन् । बिचौलियासँग जेब्रा झोलामा पैसा लिएको आरोप लागेका यिनको बचाउमा ओलीले बोलेका थिए ।
कपिलवस्तुबाटै निर्वाचित एमालेका अर्का सांसद मंगलप्रसाद गुप्ताले पनि बिरामीका कारण चुनाव नलड्ने भएका छन् । गत निर्वाचनमा अधिकारी र गुप्ता दुवै प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
टिप्पणीहरू