क्याबिनेटमा त्यसपछि कडा केरकार
‘तिमी पनि चुनाव लड्ने हो कि के हो ?’, केरकारको शैलीमा प्रश्न तेर्सिएपछि उनले अत्तालिँदै जवाफ दिए, ‘खै ! मेरो त ठेगान छैन ।’ त्यसपछि सुझावमिश्रित निर्देशन आयो, ‘उठ ! उठ !’ पुस २१ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्की र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताबीचको संवाद हो यो ।
कार्कीले शुरुमा कुलमान घिसिङको नामै लिएर चुनाव लड्ने तयारीमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएकी थिइन् । रास्वपा कार्यालयमा पुगेर घण्टी बजाउने सञ्चारमन्त्री जगदीश खरेलको भने नाम उच्चारण नगरेकी उनले भनिन्, ‘यो गैरदलीय सरकार हो, तपाईंहरूका बारेमा बाहिर विभिन्न कुरा आइरहेका छन् । के हो ? चुनाव लड्ने र पार्टीको राजनीति गर्ने हो भने मार्गप्रशस्त गर्दा ठीक होला !’ त्यसैक्रममा घण्टीबाट उठ्ने तयारीमा रहेको भनिएका गुप्ता पनि केरकारमा परेका हुन् ।
प्रधानमन्त्रीको कडा निर्देशनपछि कुलमानले भोलिपल्टै राजीनामा दिए । जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारको मन्त्री बनेका उनी यसबीच आफैँ पार्टी खोलेर राजनीतिमा सक्रिय भएका थिए । पछिल्लो समय रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका उनीमाथि पद छोड्न नैतिक दबाब थियो । यद्यपि, उक्त एकता १२ दिनमै भंग भएपछि फेरि पुरानै पार्टी जगाएका छन् । खरेल र गुप्ताले भने पद छाडेका छैनन् ।
कार्की सरकारमा एक मात्र जेनजी मन्त्री भनिएका गुप्ताको विवादास्पद अमेरिका भ्रमण स्वीकृतिको निर्णय पनि सोमबारकै क्याबिनेट बैठकबाट भएको हो । तर, चर्को विवादमा परेपछि मन्त्रीको हैसियतमा अमेरिका घुम्ने रहर पूरा नहुने भएको छ । स्रोतका अनुसार गुप्तालाई अमेरिकामा रहेका नेपाली समुदायले एनआरएनएको नामबाट गत मङ्सिरमै एउटा कार्यक्रम बनाएर निम्ता पठाएका थिए । अर्थमन्त्रीको सहभागिता हुनुपर्ने प्रकृतिको उक्त कार्यक्रममा आफू जाँदा प्रश्न उठ्नसक्ने भएकैले उनले क्याबिनेटमा प्रस्ताव लैजान सकेका थिएनन् ।
सोमबारको बैठकमा पनि डराईडराई प्रस्ताव पेश गरेको समाचार स्रोतले सुनायो । उनले भनेका थिए, ‘मेरो ढिला भैसक्यो, चाँडै गर्दिए जान पाउँथे ।’ गुप्ताले चाँडै भइदिए हुन्थ्यो भन्नुको भित्री कारणचाहिँ चुनाव लड्ने कुरासँग जोडिएको बुझिन्छ । फागुन २१ को निर्वाचनका लागि माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गर्ने तालिका छ । अन्तरिम सरकारका मन्त्रीले उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिनुपर्ने हुन्छ । यो अवस्थामा यदि पुसभित्रै अमेरिका जान नपाए मन्त्रीकै हैसियतमा भ्रमण सम्भव हुँदैनथ्यो ।
क्याबिनेट मन्त्रीहरूले पद र पहुँचको आडमा सक्रिय राजनीतितिर पाइला बढाइरहँदा प्रधानमन्त्री कार्की भने कुनै पनि शर्तमा सत्ता लम्ब्याउने पक्षमा नरहेको बुझिन्छ । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर सहज बहिर्गमनमा जाने चाहना उनले विभिन्न भेटघाट, छलफल र सार्वजनिक मञ्चबाट प्रकट गर्दै आएकी छन् । पुस २३ गते पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको ३ घण्टा लामो ‘वान टु वान वार्ता’ मा पनि प्रमले त्यही सन्देश दिएको बताइएको छ ।
स्रोतका अनुसार ३ घण्टा लामो भेटवार्ताको प्रारम्भमा करिब एक घण्टा निर्वाचन केन्द्रित छलफल भएको थियो । ओलीले फागुन २१ गते चुनाव हुनेमा संशय व्यक्त गरेपछि कार्कीले प्रष्ट शब्दमा भनेकी थिइन्, ‘जुनसुकै हालतमा चुनाव हुन्छ, हामीलाई सरकारको आयु लम्ब्याएर कुर्सीमा बस्नु छैन ।’ शुरुमा चुनाव हुनेमै आशंका गरेका पूर्वप्रधानमन्त्रीले त्यसपछि भने दुई चरणमा चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्रीले उक्त प्रस्ताव ठाडै अस्वीकार गरेको स्रोत बताउँछ ।
‘दुई चरण, तीन चरण गर्दै गर्दैनौँ । हामीलाई एकदिन पनि बढी कुर्सीमा बस्नुछैन’, अर्थमन्त्री डा. रामेश्वर खनाल र कानुनमन्त्री अनिल सिन्हाको नाम लिएर प्रमले भनेकी थिइन्, ‘हामी कोही पनि रहरले यहाँ बसेका हैनौँ । विशेष अवस्थामा मुलुकलाई संकटबाट पार लगाउन जिम्मेवारी लिनुपरेको हो । त्यसकारण २१ गते चुनाव गराएर हिँड्ने हो ।’संवादका क्रममा ओलीले ‘संसद पुनस्र्थापना भयो भने के गर्नुहुन्छ ?’ भनेर पनि जिज्ञासा राखेका थिए । कार्कीको जवाफ रह्यो, ‘कुनै हालतमा पुनःस्थापना हुँदैन, अब गर्ने बेला पनि गैसक्यो ।’
त्यसपछिको बाँकी २ घण्टा भने ठोस राजनीतिक विषयमा कुरा भएन । ओलीले झापा आन्दोलनदेखि पछिल्लो प्रधानमन्त्रीकालसम्मका आफ्नै कथा–व्यथा सुनाए । सार्वजनिक सभा–समारोह, पार्टीका भेला, बैठक र भित्री छलफलहरूमा अनेक टुक्का जोडेर लम्बेतान भाषण गर्ने ओलीको स्वभाव नै हो । महाभारतदेखि गरुड पुराणसम्म अनि माक्र्सवाददेखि पूर्वीय दर्शनका प्रसँग झिकेर प्रवचन दिने उनका अभिव्यक्ति निश्चित विषयमा केन्द्रित रहँदैन । प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले सुनाएअनुसार त्यस दिन पनि ओली त्यसैगरी प्रस्तुत भएका थिए ।
कार्की नेतृत्वको सरकारलाई हाहुको सरकार भनेर सडकबाट चुनौती दिँदै आएका ओली बालुवाटार पुग्नुको वास्तविक कारण चाहिँ गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगले ‘सफ्ट कर्नर राखिदियोस्’ भन्ने आशयउन्मुख रहेको बताइन्छ । ओलीजस्तो इखालु र दम्भी मान्छे आफैँ भेट्न जानु र ३ घण्टा त्यहाँ बिताउनुको भित्री रहस्य त्यही हो भनिन्छ । यद्यपि, ‘उनले प्रष्ट शब्दमा त्यस्तो केही नभनेको, बरू लम्बेतान कुरा सुनेर दिक्क भएँ भनी प्रधानमन्त्रीले खुइय’ गरेको भन्नेसम्मको विवरण सुरक्षा स्रोतले सुनायो ।
(जनआस्था साप्ताहिकको पुस ३० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू