माओवादी गढमा फस्टाउँदै शिक्षाको व्यापार

माओवादी गढमा फस्टाउँदै शिक्षाको व्यापार

कुनै बेला रोल्पामा समाजवादी शिक्षाको नारा खुवै सुनिन्थ्यो । निजी शिक्षण संस्थालाई शैक्षिक दोकान भनेर आलोचना गरिन्थ्यो । यसरी आलोचना गर्नेहरू माओवादी हुन्थे । एमाले कम्युनिष्ट भए पनि निजी शिक्षाको खासै आलोचना गर्दैनथ्यो । कांग्रेस त निजी क्षेत्रको वकालत गर्ने पुँजीपति पार्टी नै भइहाल्यो ।

अचेल रोल्पाका दशमध्ये सात स्थानीय सरकार पूर्वमाओवादीले चलाएको छ । सत्तामा पुगेर द्वैध शिक्षा अन्त्यको ठुल्ठूला भाषण गर्ने तिनै कमरेडले जितेका पालिकामा निजी विद्यालय फस्टाइरहेका छन् । कांग्रेस–एमालेले जितेका स्थानीय तह निजी विद्यालयविहीन हुँदा कमरेडका पालिकामा भने हरेक वर्ष त्यस्ता विद्यालय बढिरहेका छन् । 

जिल्लाका त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका र लुंग्री गाउँपालिका निजी विद्यालयविहीन छन् । त्रिवेणी एमालेले जितेको पालिका हो । ०७४ र ०७९ मा एमालेले जितेको सो पालिका निजी विद्यालयविहीन छ । त्रिवेणीले निजी विद्यालयलाई सरकारी विद्यालयमा समायोजन गरेको छ । नर्सरीदेखि कक्षा १० सम्म पढाइ भइरहेको शिखर जलजला एकेडेमी बोर्डिङ स्कूल, त्रिवेणी– ५ जुँगारलाई जनजागृति मावि त्रिवेणी बनाइएको छ । अहिले सो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पठनपाठन हुन्छ । 

त्यस्तै, निजीस्तरमा सञ्चालित मदरल्याण्ड एजुकेयर एकेडेमी प्रालिलाई शुक्र मावि झुम्लुङमा, रोल्पा सनराइज इंग्लिस बोर्डिङ स्कूललाई वीरेन्द्र मावि गाङमा र बुढागाउँको मदरल्याड एकेडेमी प्रालिलाई सरस्वती मावि लिङदुङमा समायोजन गरिएको थियो ।

त्रिवेणी गाउँपालिकाले समायोजन हुने विद्यालयमध्ये मावि तहका लागि रु. ५ लाख, निमावि तहका लागि रु. ३ लाख र प्रावि तहका लागि रु. २ लाख बजेट उपलब्ध गराएको थियो । समायोजन भएका विद्यालयलाई प्राथमिकता दिई अन्य सेवा–सुविधा उपलब्ध गराउने नीति रहेको गाउँपालिका शिक्षा शाखाको भनाइ छ । 

निजी विद्यालय सरकारीमा समायोजन भएसँगै पढाइको गुणस्तरमा पनि सुधार आएको अभिभावक बताउँछन् । समायोजनसँगै निजीका शिक्षकहरू सरकारी विद्यालयमा आएका छन् । ‘बोर्डिङ स्कूलका सरहरूबाट अधिकांश विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुन थालेको छ,’ अभिभावक ऋषिकेश डाँगीले भने । 

उनका अनुसार शिक्षाको गुणस्तर निजीभन्दा राम्रो बनाउने शर्तमा मात्रै समायोजनको सहमति दिइएको हो । ‘निजीमा पढ्दै गरेका मेरा छोराछोरी सरकारीमा भर्ना गर्दा पढाई कस्तो होला भन्ने लागेको थियो तर, अहिले ढुक्क भएका छौं,’ डाँगीले सुनाए । 
दाङ जिल्लासँग सिमाना जोडिएको रुन्टीगढी गाउँपालिकासमेत निजी विद्यालयविहीन पालिका हो । रुन्टीगढी कांग्रेसले जितेको स्थानीय तह हो । २०७४ मा  एमालेले जितेको थियो । रुन्टीगढी गाउँपालिकामा यसअघि सञ्चालित निजी विद्यालय हाल बन्द अवस्थामा रहेपछि सो गाउँपालिका पनि निजी विद्यालयविहीन भएको हो । 

यस्तै, लुंग्री गाउँपालिकामा समेत निजी विद्यालय छैन । सो गाउँपालिका यस पटक नेकपा माओवादी केन्द्रले जिते पनि २०७४ सालमा कांग्रेसले जितेको थियो । लुंग्रीमा हालसम्म निजी विद्यालय स्थापना भएको छैन । जिल्लाका दश स्थानीय तहमध्ये अन्य सात स्थानीय तहमा भने निजी विद्यालय छन् । जिल्लामा कक्षा १‒५ चलेका ११, कक्षा १‒८ चलेका ५ र कक्षा १‒१० चलेका ३ सहित १९ वटा निजी विद्यालय छन् ।

जिल्ला सदरमुकाम रहेको रोल्पा नगरपालिकामा ४ वटा निजी विद्यालय छन् । कक्षा १‒५ पढाइ हुने विद्यालय २ र कक्षा १‒१० पढाइ हुने विद्यालय २ वटा रहेका छन् । यस्तै माओवादी नेता किमबहादुर थापा (सुनिल) को नाममा राखिएको सुनिलस्मृति गाउँपालिकामा ५ वटा निजी विद्यालय रहेका छन् । जहाँ कक्षा १‒५ पढाइ हुने २, कक्षा १ ‒८ पढाइ हुने २ र कक्षा १‒१० पढाइ हुने १ विद्यालय छन् ।

यस्तै, सुनछहरी गाउँपालिकामा कक्षा १‒५ पढाइ हुने एक विद्यालय रहेको छ । सशस्त्र युद्ध कालमा जनसत्ताको चरम अभ्यास गरेको थवाङ गाउँपालिकामा समेत एउटा निजी विद्यालय छ । त्यहाँको विद्यालयमा कक्षा १‒८ पढाइ हुँदै आएको छ । अर्का माओवादी नेता नेपबहादुर केसी (परिवर्तन) को नामबाट राखिएको परिवर्तन गाउँपालिकामा ४ वटा निजी विद्यालय छन् । जसमा कक्षा १‒५ पढाइ हुने २ र कक्षा १ ‒८ पढाइ हुने २ वटा विद्यालय छन् । माओवादी नेता गंगा खत्री र देवबहादुर वलीको नामबाट राखिएको गंगादेव गाउँपालिकामा कक्षा १‒५ चलेका २ निजी विद्यालय छन् । गंगादेव गाउँगालिका यसपटक कांग्रेसले जिते पनि २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । यस्तै, माडी गाउँपालिकामा कक्षा १ ‒५ चलेका २ वटा निजी विद्यालय छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाका अनुसार यस वर्ष जिल्लाका १९ निजी विद्यालय १ हजार ४८४ छात्रा र १ हजार ७९७ छात्रसहित ३ हजार २८१ विद्यार्थीले अध्ययन गर्दै आएका छन् । निजी विद्यालयतर्फ बालविकासमा ५५१ छात्रा र ८७८ छात्रसहित १४२९ छात्रछात्राले अध्ययन गर्दछन् ।

(जनआस्था साप्ताहिकको पुस  ३० गते बुधबारको अंकमा प्रकाशित)  

 

टिप्पणीहरू