गुण्डु गएर माफी मागे उम्कन्छन् गोकुल

गुण्डु गएर माफी मागे उम्कन्छन् गोकुल

आगामी प्रतिनिधिसभा निर्वाचनमा टिकटबाट वञ्चित गराउन खोजिएका काभ्रेली कमरेड गोकुल बाँस्कोटालाई अध्यक्ष केपी शर्मा ओलीको सामुन्ने गएर गल्ती स्वीकारे निर्णय पुनर्विचार हुनसक्ने सन्देश पठाइएको छ । हिजो सचिवालय बैठकले स्वीकृत गरेको उम्मेदवार सूचीमा गोकुल बाँँस्कोटाको निर्वाचन क्षेत्रको हकमा अध्यक्षले निर्णय गर्ने भनिएको छ । 

मोरङका विनोद ढकाललाई पनि बाँस्कोटालाई झैँ होल्डमा राखिएको छ भने उपमहासचिव योगेश भट्टराईलाई बैठकमै ‘ताप्लेजुङमा तपाईँको अवस्था ठीक नभएको रिपोर्टिङ आयो’ भनिएको थियो । जवाफमा भट्टराईले आफ्ना कुरा राख्दै पार्टीभित्र गलत प्रवृत्ति नभित्र्याउन अध्यक्षलाई सुझाएको बताइन्छ । 

यसअघि भानुभक्त ढकालसहितलाई गुण्डु बोलाएर ओलीले थेवेलाई तयारी थाल्न निर्देशन दिइसकेको स्रोतको दावी छ ।

उता दाङको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मेटमणि चौधरी र २ मा महासचिव शंकर पोखरेलबीच तालमेल गर्ने योजना बनाइएको अनुमान छ । दोस्रो विकल्पका रुपमा चौधरीको ठाउँमा एमाले र पोखरेलको ठाउँमा नेकपा उम्मेदवार नउठाउने विकल्प सारिएको बताइन्छ । 

पहिलो विकल्पतर्फ दाङ १ मा काँग्रेसका गोविन्दराज पोखरेल उठे एमालेले उम्मेदवार नउठाउने र २ मा एमाले महासचिवको ठाउँमा काँग्रेस उम्मेदवार नउठाउने लाइनमा पनि छलफल अघि बढाइएको बुझिएको छ । त्यसो हुँदा प्युठानमा सूर्य थापालाई पनि सजिलो हुने एमाले नेतृत्वको विश्लेषण छ । गोविन्दराजको पुर्ख्यौली थलो प्युठान हो ।

तेस्रो विकल्पमा राप्रपासँग तालमेल गर्ने कोणबाट पनि जोड घटाउ अघि बढाइएको छ । जसअनुसार झापा ३ र ५, दाङ २ र रुपन्देहीको एउटा क्षेत्रमा तालमेल गर्ने प्रस्ताव छ । 

उता रुपन्देहीबाट विष्णु पौडेलले छाडेको क्षेत्र वासुदेव घिमिरेलाई दिइएको छ । यसअघि एमाले छाडिसकेको खबर आएपछि घिमिरेलाई पौडेलको पहलमा टिकटको वचन दिइएको थियो । यस पटक पौडेल पाल्पा उक्लिएका छन् ।

ईश्वर पोखरेललाई ओखलढुंगाबाट पनि टिकट दिन सकिने सम्भावनाबारे यसअघि गुण्डुमा बादल,विष्णुु पौडेल, विष्णु रिमालसहितको बैठकमा अस्मिता थापाको कुनै चर्चा नै भएको थिएन । बरु ओखलढुंगाबाट नाम सिफारिस भएको अवस्थामा पोखरेलसँग एक चरण कुरा गर्छु भनेका अध्यक्ष ओलीले हिजोको बैठकमा फ्याट्टै अस्मिताको नाम लिएको बुझिएको छ । 

अस्मिता लिखु गाउँपालिका उपाध्यक्ष हुन् । गत मंसिरमा बिहेको निम्तो कार्ड बाँड्न हिँडेकै अवस्थामा महाधिवेशन प्रतिनिधिमा पराजित उनलाई एकाएक केन्द्रीय सदस्य बनाइएको थियो । जेन जी पुस्ताको नाम लिँदै ओलीले हिजो फ्याट्टै सांसद उम्मेदवारको रुपमा अस्मिताको नाम लिएका थिए ।
 

टिप्पणीहरू