अहिलेसम्म सूर्यमा भोट नहाल्नेलाई एमालेको टिकट

अहिलेसम्म सूर्यमा भोट नहाल्नेलाई एमालेको टिकट

जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्ने नेकपा एमालेमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा अध्यक्ष केपी शर्मा ओलीको एकलौटी देखिएको छ । एघारौँ महाधिवेशनमा आफूसँग प्रतिष्पर्धा गरेका ईश्वर पोखरेल समूहलाई टिकट नदिएर उनले 'आफ्नै हात जगन्नाथ' गरेका हुन् । 

पोखरेलदेखि योगेश भट्टराई हुँदै गोकुल बाँस्कोटासम्मलाई उम्मेदवार नबनाउने संकेत ओलीले गरेका छन् । फरक बिचार समूहलाई सोत्तर पार्नकै लागि उम्मेदवार छनोटका लागि पार्टीले तय गरेको मापदण्ड कुल्चिइएको छ । 

एमालेको हिजो बसेको सचिवालय बैठकले १६५ मध्ये २३ क्षेत्रमा पछि निर्णय गर्नेगरी बाँकी उम्मेदवार छनोट गरेको थियो । त्यसमध्ये जिल्ला र प्रदेशबाट एकल सिफारिसमा परेकालाई 'आउट' गर्नेदेखि अहिलेसम्म सूर्य चिन्हमा भोट नहालेका पात्रलाई टिकट थमाउनेसम्मको अवस्था  देखिएको छ । 

प्रतिस्पर्धामा पहिलो मत ल्याएका र सोहीअनुसार तलबाट सिफारिस भएकाहरू ओलीको रोजाइमा परेनन् ।

एमालेका केही जिल्ला कमिटीले उम्मेदवारका आकांक्षी धेरै भएपछि मतदानमार्फत् तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो । तर, प्रतिस्पर्धामा पहिलो मत ल्याएका र सोहीअनुसार तलबाट सिफारिस भएकाहरू ओलीको रोजाइमा परेनन् । दैलेख-२ मा सर्वाधिक मत ल्याएर पहिलो नम्बरमा सिफारिस भएका विष्णु रिजाल त्यसमध्येका एक हुन् । उनको ठाउँमा पञ्चायतकालमै चुनाव उठेका लक्ष्मीप्रसाद पोखरेलले ओलीले पाए । 

उम्मेदवार सिफारिसका लागि भएको निर्वाचनमा कार्यकर्ताले रुचाएका रिजालजस्तालाई टिकटबाट बन्चित गरेका ओलीले जिल्लाबाट फालिएका केही पात्रलाई भने मज्जैले टिपेका छन् । त्यसमध्येकी एक हुन्- पूर्वमाओवादी नेतृ ज्वाला साह । 

४७ जना मतदातामध्ये उम्मेदवार सिफारिस गर्न भएको मतदानमा जम्मा चार भोट ल्याएकी उनलाई सोही क्षेत्रको उम्मेदवार बनाउने निर्णय गरिएको छ । जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले सतप्रतिशत मत प्राप्त गरी पहिलो नम्बरमा सिफारिस भए पनि गुण्डुको मत जित्न नसक्दा टिकट पाएनन् ।

जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले सतप्रतिशत मत प्राप्त गरी पहिलो नम्बरमा सिफारिस भए पनि गुण्डुको मत जित्न नसक्दा टिकट पाएनन् । 

यता,राप्रपा,माओवादी,नयाँ शक्ति,काँग्रेस हुँदै दुई वर्षअघि एमाले प्रवेश गरेका रसुवाका प्रेमबहादुर तामाङ पनि गुण्डुको दिल जित्न सफल भए । एकमात्र निर्वाचन क्षेत्र रहेको त्यहाँ एमालेका पुराना नेताहरूको ठूलो पंक्तिलाई जिल्याउँदै विष्णु रिमालका विश्वासपात्र उनले टिकट हत्याएका हुन् । तामाङ २०५१ सालको मध्यावधि निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव प्रचारमा खटिएका थिए । त्यसपछि जनयुद्धमा लागेका उनी ०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादीबाट सभासद चुनिए । ०७० सालमा माओवादीबाटै उठेका उनी पराजित भए । 

पार्टी छोड्ने र टिकटका लागि अर्को समाउने क्रममा २०७४ को चुनावमा बाबुराम भट्टराईको नयाँ शक्तितिर लागे । सो पार्टीबाट बागमती प्रदेशसभा सदस्य जितेका तामाङ कार्यकाल नसकिंदै कांग्रेस प्रवेश गरे । रोचक के छ भने एउटा दलको सांसद हुँदाहुँदै अर्को पार्टीको नेता बनेर महाधिवेशनमा प्रतिनिधित्व गर्ने अनौठो परिचय उनकै नाममा छ ।

टिप्पणीहरू