ओलीले टिकटमा एकलौटी गरेपछि पाप-धर्मको कुरा

ओलीले टिकटमा एकलौटी गरेपछि पाप-धर्मको कुरा

आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का केही चर्चित अनुहार नदेखिने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अभिव्यक्ति दिने र प्रतिस्पर्धा गर्न खोज्ने प्रभावशाली नेताहरुलाई उम्मेदवार बन्नबाटै बञ्चित गराएका छन् । 

हालै सम्पन्न महाधिवेशनबाट तेस्रो कार्यकालको लागि अध्यक्ष चयन भएका ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल स्वयंले टिकट पाउने सम्भावना कम देखिन्छ । केही दिनअघि पार्टीको नीति अनुसन्धान प्रतिष्ठानबाट पोखरेलको जिम्मेवारी खोसेका ओलीले प्रतिनिधिसभा निर्वाचनको लागि टिकट नदिने संकेत गरेका हुन् । 

हिजो बसेको सचिवालय बैठकले १४४ क्षेत्रमा उम्मेदवार चयन गर्दा पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ-५ 'अध्यक्षले निर्णय गर्नेगरी' खाली राखिएको छ ।त्यस्तै,महाधिवेशनमा पोखरेलकै प्यानलबाट महासचिवको लागि प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डेलाई पनि टिकटबाट बञ्चित गरिएको छ । उपमहासचिव योगश भट्टराईले पनि टिकट पाइसकेका छैनन् । पछिल्ला दुई वटा चुनाव ताप्लेजुङबाट जितेका उनलाई दबाबमा राख्नकै लागि हुनुपर्छ उक्त क्षेत्र पनि 'अध्यक्षले निर्णय गर्नेगरी' खाली छोडिएको छ । त्यहाँबाट क्षितिज थेबेलाई दिने तयारी छ ।

ओलीको आलोचना गरेकै कारण टिकटबाट बञ्चित हुने अन्य केही चर्चित अनुहारमा गोकुल बाँस्कोटा,ठाकुर गैरे, विनोद ढकाल,विन्दा पाण्डे,उषाकिरण तिम्सिना,कृष्णभक्त पोखरेललगायत छन् । ०७९ मा पाँच दलीय गठवन्धनविरुद्ध एक्लै मैदानमा उत्रिएर जितेका गोकुलको हकमा ओलीले 'माफी माग्नुपर्ने' शर्त राखेको बुझिन्छ । 

उपाध्यक्ष विष्णु पौडेललाई ठाउँ खाली गर्न पाल्पाबाट अघिल्लो चुनाव जितेका ठाकुरलाई शहीद बनाइएको छ । नुवाकोटकी नेतृ तिम्सिनाले 'ठाकुर गैरेको पाप लाग्छ है कमरेड' भनेर फेसबुकमा लेखेकी छन् ।

टिप्पणीहरू