चिनियाँ सिनेमासँगको मेरो आत्मीय संवाद
– किरण बिक
फिल्म कलेजमा अध्ययन गर्दाका दिनहरू सम्झिँदा आज पनि एउटा कुरा स्पष्ट रूपमा मनमा आउँछ—हामीलाई हेर्नका लागि प्रायः अंग्रेजी र युरोपियन फिल्महरू नै बढी सिफारिस गरिन्थ्यो। हलिउडका फिल्महरूलाई कथावस्तु, संरचना र प्रविधिको नमुनाका रूपमा प्रस्तुत गरिन्थ्यो भने युरोपियन फिल्महरूलाई कलात्मकता, प्रयोगशीलता र दार्शनिक गहिराइको उदाहरणका रूपमा पढाइन्थ्यो। यी सबै शैक्षिक दबाब र सिफारिसहरूका बीच पनि मेरो मन भने बारम्बार चिनियाँ फिल्मतर्फ आकर्षित भइरहन्थ्यो। त्यो आकर्षण केवल मनोरञ्जनका लागि थिएन, बरु जीवन, इतिहास र संस्कृतिसँग जोडिएको एक किसिमको आत्मीय सम्बन्ध थियो।
मैले सानै उमेरमा क्राउचिङ टाइगर, हिडन ड्रागन हेरेको थिएँ। त्यो फिल्म बालमनमा गहिरो गरी बस्यो। बाँसका घना जंगलमा पात्रहरू हावाजस्तै हलुका भएर उडिरहेको दृश्य देख्दा मलाई साँच्चै लाग्थ्यो—कतै चिनियाँ मानिसहरू यस्तै उड्न सक्ने त होइनन्? पछि बुझ्दै गएँ, त्यो उडान शारीरिक होइन, सांस्कृतिक र प्रतीकात्मक रहेछ। चिनियाँ संस्कृतिमा बाँस केवल बोट होइन; त्यो लचकता, धैर्य, आत्मअनुशासन र नैतिक बलको प्रतीक रहेछ। त्यो फिल्मले मलाई पहिलोपटक चिनियाँ मिथक र दर्शनको संसारमा प्रवेश गराएको थियो।
चिनियाँ फिल्महरूको अर्को ठूलो आकर्षण भनेको कुंग–फु हो। बाल्यकालमा कुंग–फु सिक्ने रहर मभित्र निकै बलियो थियो। नेपालमा चिनियाँ कुंग–फु फिल्म र कोरियन कराते फिल्महरूको प्रभाव झन्डै एकै समयमा फैलिएको जस्तो लाग्छ। ती फिल्महरूले केवल लडाइँका दृश्य मात्र होइन, गुरु–शिष्य सम्बन्ध, अनुशासन, आत्मसंयम र जिम्मेवारीको दर्शन पनि सिकाउँथे। त्यसैले कुंग–फु फिल्महरू शारीरिक शक्तिभन्दा बढी मानसिक र नैतिक शक्तिका कथा लाग्थे।
चिनियाँ फिल्महरू केही बढी व्यावसायिक बन्दै गएका छन् भन्ने स्वीकार गर्नुपर्छ, तर त्यसका बाबजुद पनि तिनले चिनियाँ इतिहास, सांस्कृतिक पहिचान र जनजीवनलाई पूरै त्यागेका छैनन्।
यदि अंग्रेजी फिल्महरू बढी प्रयोगवादी लाग्थे भने युरोपियन फिल्महरू तिलस्मी, प्रतीकात्मक र कहिलेकाहीँ कठिन पनि लाग्थे। तर चिनियाँ फिल्महरू भने मलाई सधैं जीवनवादी लागे। ती फिल्महरूले आम मानिसको संघर्ष, परिवारभित्रको द्वन्द्व, इतिहासका चोट र समाजको परिवर्तनलाई सरल तर गहिरो रूपमा प्रस्तुत गर्थे। आजकल चिनियाँ फिल्महरू केही बढी व्यावसायिक बन्दै गएका छन् भन्ने स्वीकार गर्नुपर्छ, तर त्यसका बाबजुद पनि तिनले चिनियाँ इतिहास, सांस्कृतिक पहिचान र जनजीवनलाई पूरै त्यागेका छैनन्।
मेरो उमेर २० देखि २६ वर्षको बीचमा मैले अत्यन्त धेरै चिनियाँ फिल्महरू हेरेँ। त्यो समय मेरो जीवनमा चिनियाँ सिनेमाले गहिरो प्रभाव पारेको चरण थियो। कहिलेकाहीँ फिल्म हेर्दै गर्दा अझै पनि “के साँच्चै चिनियाँ मानिसहरू यति सजिलै उड्छन् त?” भन्ने सोच मनमा आउँथ्यो। तर विस्तारै बुझ्दै गएँ—चिनियाँ फिल्ममा देखाइने उडान वास्तविक उडान होइन, त्यो कल्पना, संस्कार र सांस्कृतिक अभिव्यक्तिको उडान हो।
चिनियाँ इतिहास र जनजीवन किताब पढेर बुझ्नुभन्दा फिल्ममार्फत बुझ्न मलाई अझ सजिलो र छिटो लाग्थ्यो। चिनियाँ फिल्महरू प्रायः आफ्ना मिथक, पुराना लोककथा, ऐतिहासिक संघर्ष र सामाजिक परिवर्तनमा आधारित हुन्थे। कतिपय फिल्महरूले समाजको संरचना बुझ्न सघाउँथे, कतिपयले मिथकीय संसारमा लैजान्थे भने कतिपयले विकास हुँदै गरेको आधुनिक चिनियाँ समाजको चित्र उतार्थे। माओ त्सेतुङ, चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास, चिनियाँ संस्कृति, चिनियाँ खाना, चीन–जापान युद्ध, चीन–अमेरिका सम्बन्ध, क्रान्ति र लङ मार्चजस्ता विषयहरू मैले धेरै हदसम्म चिनियाँ फिल्महरूबाटै बुझें। यी विषयहरू फिल्ममार्फत बुझ्दा इतिहास तथ्य मात्र नभई अनुभूति बनेर प्रस्तुत हुन्थ्यो।
अब म केही निर्देशक, फिल्म र कलाकारबारे उल्लेख गर्न चाहन्छु, जसले मेरो चिनियाँ सिनेमाप्रतिको बुझाइलाई अझ गहिरो बनाएका छन्।
झ्यांग यी मोउ : मान्छेको जीवन पढ्ने निर्देशक
मैले सबैभन्दा धेरै हेरेका चिनियाँ निर्देशकहरूमध्ये झ्यांग यी मोउ अग्रस्थानमा पर्छन्। उनका फिल्महरू हेर्दा लाग्छ—उनी क्यामेराबाट कथा मात्र होइन, मान्छेको मन पढिरहेका छन्। रेजिङ द रेड ल्यान्टर्न मेरो लागि उनको सबैभन्दा प्रभावशाली फिल्म हो। यसले पुरानो चिनियाँ समाज र संस्कृतिको गहिरो चित्रण गर्छ। बहुविवाह प्रथामा आधारित यो फिल्मले चिनियाँ धनाढ्य वर्गको सामाजिक संरचना उजागर गर्छ। चार श्रीमतीबीचको घरेलु प्रतिस्पर्धा, ईष्र्या, शक्ति संघर्ष र मौन हिंसाले फिल्मलाई गहिरो बनाएको छ।
यस फिल्मको सबैभन्दा रोचक पक्ष पात्रहरूको मनोविज्ञान हो। सबैभन्दा सोझी र निरीह देखिने महिला नै अन्ततः सबैभन्दा कपटी, रणनीतिक र इखालु सावित हुन्छिन्। झ्यांग यी मोउ मान्छेका साना नजर, मौनता र व्यवहारलाई अत्यन्त सूक्ष्म रूपमा पर्दामा उतार्छन्। उनी प्रायः एउटै फिल्मभित्र दुई–तीन तहका कथा मिसाउँछन्। आज विश्वका धेरै फिल्म स्कुलहरूमा ‘झ्यांग यी मोउ’ नाममै छुट्टै स्कूल अफ थट विकास भइसकेको छ। रेजिङ द रेड ल्यान्टर्न चिनियाँ सिनेमा बुझ्न चाहनेलाई सिफारिस गर्न मिल्ने पहिलो फिल्म हो।
उनको पहिलो फिल्म रेड शोर्गम ले ग्रामीण चीनको जीवन देखाउँछ। रक्सी बनाउने महिलाको कथामार्फत स्थानीय संस्कृति, गरिबी, ग्रामीण द्वन्द्व र जीवन संघर्षलाई चित्रण गरिएको छ। यो प्रसिद्ध अभिनेत्री गोंग लीको पनि पहिलो फिल्म हो, जसले पछि चिनियाँ सिनेमामा नयाँ युगको सुरुवात गरिन्।
टु लिभ झ्यांग यी मोउको अर्को महान कृति हो। यस फिल्मले एक जुवाडेको जीवनमार्फत चिनियाँ समाज, युद्ध र क्रान्तिको कथा भन्छ। जुवाडे कसरी क्रान्तिमा जोडिन्छ, योगदान दिन्छ र अन्ततः व्यक्तिगत क्षतिले ऊभित्र गहिरो विरक्ति कसरी पैदा हुन्छ भन्ने कथा अत्यन्त मार्मिक छ। मैले यो फिल्म धेरै पटक हेरेको छु। यसले नेपाली फिल्मकर्मीहरूलाई समेत गहिरो प्रभाव पारेको देखिन्छ।
दरबार, षड्यन्त्र र युद्ध
कर्स अफ द गोल्डेन फ्लावर दरबारभित्रको शक्ति संघर्ष, पारिवारिक षड्यन्त्र र राजनीतिक खिचातानीको कथा हो। राजाले आफ्नै रानीविरुद्ध षड्यन्त्र गर्छ; औषधि उपचार होइन, झन् रोग बन्छ। गोल्डेन फ्लावर पर्वको भव्य तयारी भइरहँदा दरबारभित्र ठूलो षड्यन्त्र चुपचाप आकार लिइरहेको हुन्छ।
नेपालमा चिनियाँ कुंग–फु फिल्म र कोरियन कराते फिल्महरूको प्रभाव झन्डै एकै समयमा फैलिएको जस्तो लाग्छ। ती फिल्महरूले केवल लडाइँका दृश्य मात्र होइन, गुरु–शिष्य सम्बन्ध, अनुशासन, आत्मसंयम र जिम्मेवारीको दर्शन पनि सिकाउँथे।
फ्लावर्स अफ द वार ले नानजिङमा भएको जापानी नरसंहारको पृष्ठभूमिमा एउटा मानवीय कथा भन्छ। संयोगवश म नानजिङ पुगेको थिएँ, तर नरसंहार स्मारक हेर्न भने पाइनँ—सायद त्यो पीडा अझै पनि शहरको हावामा घुलिएको महसुस हुन्थ्यो।
द रोड होम ग्रामीण चीनमा प्रेम, प्रतीक्षा र स्मृतिको कथा हो। आमाको आँखाबाट बुवासँगको प्रेमकथा सम्झिँदै वर्तमानमा फर्किने यो कथा सरल देखिए पनि भावनात्मक रूपमा निकै गहिरो छ। प्रेम केवल शब्दमा होइन, प्रतीक्षामा र समर्पणमा पनि हुन्छ भन्ने सन्देश यस फिल्मले दिन्छ।
अन्त्यमा,
क्राउचिङ टाइगर, हिडन ड्रागन, चुङकिङ एक्सप्रेस, ड्रन्केन मास्टर, अ चाइनिज घोस्ट स्टोरी, पोलिस स्टोरी, आइपी म्यान लगायत अनगिन्ती चिनियाँ फिल्महरूले मलाई चीनसँग आत्मीय अनुभूति गराएका छन्। कुनै समय म बेइजिङ फिल्म एकेडेमीमा अध्ययन गर्न जाने सपना पनि देख्थें। नेपाल–चीन फिल्म फेस्टिभल हुँदा म नियमितजसो सहभागी हुने गर्थें। चिनियाँ फिल्महरू नेपाली सिनेमा हलहरूमा विरलै लाग्छन्, तर ती फिल्महरू नेपाली दर्शकसम्म अझ व्यापक रूपमा पुगून् भन्ने चाहना अझै जीवित छ।
आज हलिउड कथाको अभावमा फ्यान्टासी र सुपरहिरोको संसारमा अल्झिएको देखिन्छ। त्यसको विपरीत, चिनियाँ सिनेमा अझै पनि मान्छेको कथा, समाजको कथा र जीवनको कथा भनिरहेकै छ। यही नै चिनियाँ सिनेमाको सबैभन्दा सुन्दर पक्ष हो। चिनियाँ फिल्महरूले अझै धेरै वर्षसम्म हामीलाई सोच्न, बुझ्न र महशुस गर्न बाध्य बनाइरहून् यही कामना छ।
टिप्पणीहरू