मनोनयनअघि निर्णय गर्न गगनको माग

मनोनयनअघि निर्णय गर्न गगनको माग

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले तत्काल पार्टीको विवरण अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । 

विशेष महाधिवेनबाट चयन भएका नयाँ पदाधिकारी र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न दिउँसो आयोग कार्यालय पुगेका उनले प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई यस्ताे आग्रह गरेका हुन् । राष्ट्रिय सभाको निर्वाचन संघारमा आएको र माघ ६ गते मनोनयन दर्ता गर्नुपर्ने भएकाले चाँडो निर्णय गरिदिन थापाले माग गरे । 

उनले बुझाएको निवेदनमा पार्टी विधानको धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशन गरिएको अवगत गराइएको छ । उक्त महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति नै आधिकारिक हुने थापाको दावी छ । 

निर्विरोध सभापति चयन भएका थापाले हिजो बन्दसत्रलाई सम्बोधन गर्दै पार्टीको रुख चिन्ह र झण्डा आफूहरुकै हुने दावी गरेका थिए । उता संस्थापन पक्षले पनि हिजो दुई महामन्त्री र एक सहमहामन्त्रीलाई कारवाही गर्दै पाँच वर्षको लागि पार्टीबाट निष्कासित गरेको पत्र आयोगलाई बुझाइसकेको छ । 

दुई समूहबीच आधिकारिकताको लागि संघर्ष शुरु भएपछि पार्टी विभाजनको विषय अदालतसम्म पुग्ने धेरैको अनुमान छ ।

टिप्पणीहरू