पूर्वमन्त्री घरभित्रै सीमित
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री हृदयराम थानीले चुनाव नलड्ने घोषणा गरेका छन् । तीन दशकदेखि सुर्खेत क्षेत्र नम्बर २, मा कांग्रेसबाट उम्मेदवार बन्दै आएका उनले यो पटक चुनाव नै नलड्ने निर्णय गरेका हुन् ।
प्रतिकूल स्वास्थ्यका कारण यसपटक चुनाव नलड्ने निर्णयमा पुगेको उनले जानकारी गराएका छन् । आज विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘मेरो प्रतिकूल स्वास्थ्य अवस्थाको कारण यही माग ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित र तत्पश्चात् सक्रिय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु ।’
थानी ०५१ सालदेखि सुर्खेत क्षेत्र नम्बर २, मा कांग्रेसबाट उम्मेदवार बन्दै आएका थिए । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पनि कांग्रेसको तर्फबाट उनी उम्मेदवार सिफारिस भएका थिए ।
तर, आफूलाई करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी समस्याले हिड्डुल गर्न गाह्रो भएको र चिकित्सकको सल्लाहबमोजिम घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गराइरहेको उनको भनाइ छ ।
टिप्पणीहरू