रुकुममा काँग्रेसीहरुको रोइलो छुट्टै
आगामी प्रतिनिधिसभा निर्वाचन र पार्टीको महाधिवेशन नजिकिँदै जाँदा रुकुममा आफूलाई वरिष्ठ र कुशल संगठनकर्ता ठान्ने जिल्लाका केही काँग्रेस नेताहरूले विभिन्न माध्यमबाट रोइलो गरेका छन् । यस्तै मध्येका एक हुन् पार्टीको दलित केन्द्रीय सदस्य मानबहादुर नेपाली ।
आफूलाई प्रतिनिधिसभा निर्वाचनमा दलित क्लस्टरबाट समानुपातिक उम्मेदवार ठान्दै आएका उनलाई जिल्लाका आफ्नै गुटका केही नेताले असहयोग गर्ने चिन्तामा डुबेका छन् । सोही कारण कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई खुसी पार्न फेसबुकमार्फत् गगन थापाको विरोध गरेको देखिन्छ । जिल्लामा अन्य नेताभन्दा आफू पूर्णबहादुरको नजिक देखिन प्रतिस्पर्धा नै चलेको अवस्था छ ।
अर्कोतर्फ, मानबहादुरमाथि जिल्लाका धेरै जनासँग लिएको सापटी नतिरेको, चेकसमेत नसाटिएको आरोप लाग्दै आएको छ । सोही कारण आफूविरुद्ध मुद्दा हालेर उम्मेदवारी नै खारेज गरिदिने त्रास उनमा सबैभन्दा बढी देखिन्छ । योसँगै उनी पार्टी महाधिवेशनबाट दलित सह–महामन्त्री बन्ने दाउमा रहेको धेरैको बुझाइ छ ।
रोइलो गर्दै आएका अर्का नेतामा पार्टी सभापति प्रेमप्रकाश वली पनि पर्छन् । प्रतिनिधिसभा निर्वाचनमा जिल्लाबाट प्रत्यक्ष उम्मेदवार बन्न चाहेका उनी विगतमा उम्मेदवारी खारेज भएको इतिहास रहेकाले यसपटक पनि त्यस्तै हुनसक्ने धेरैको अनुमान छ । उनी पनि आर्थिक व्यवहार र मामिलामा निकै कमजोर रहेको काँग्रेसीहरुको बुझाइ छ ।
अर्का कांग्रेस नेता तिलक भण्डारीले फेसबुकमार्फत नेपाली र वलीले गरेका आर्थिक बेइमानीका प्रमाण संकलन गर्न सार्वजनिक आह्वान नै गरेका छन्। त्यसमा कतिपयले साथ र सहयोग गर्ने वचन दिएको देखिन्छ ।
सबैभन्दा बलियो प्रमाणको रुपमा प्रेमप्रकाशमाथि सहकारीको रकम अपचलनको विषय उठाइएको छ । निर्वाचन आयोगले उम्मेदवारले आफूमाथि कुनैपनि खालको उजुरी नरहेको स्वःघोषणा गर्नुपर्ने नियम ल्याएकाले सांसदको टिकट पाएमा उनीमाथि सहकारीसम्बन्धी कानुन आकर्षित हुने चर्चा चलाइएको छ ।
प्रेमप्रकाश केही वर्षअघि जिल्ला सदरमुकाम चौरजहारीमा खुलेको एउटा सहकारी संस्थासँग आवद्ध थिए । सहकारीको अध्यक्ष हुँदा उनले रकम अपचलन तथा दुरुपयोग गरेको भन्दै अख्तियार, राष्ट्र बैंक, सहकारी विभागलगायत निकायमा हालिएको उ बेलाको उजुरीले सांसदको टिकट पाएको अवस्थामा अप्ठेरो पार्ने बताइन्छ । यद्यपि उनी पार्टी महाधिवेशनमा पूर्णबहादुर खड्काको गुटबाट केन्द्रीय सदस्य वा प्रदेश सभापतिको दाबीसहित अघि बढ्ने सोचमा देखिन्छन् ।
कांग्रेसका पुराना नेता गोपालजी जंग शाह पनि जिल्लामा अप्ठेरै अवस्थामा देखिन्छन्। उनले यसपटक सांसदको टिकटको दाबी गरेका छन्। प्रतिकूल अवस्थामा आफूले पार्टीलाई सहयोग गरेकाले अहिले अनुकूल अवस्थामा टिकट पाउनुपर्ने उनको तर्क छ। यस पटकलाई अन्तिम पटक भन्दै उनले सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काजस्ता समकालीन नेताले टिकट पाएको अवस्थामा आफूले पनि पाउनुपर्ने उनको दाबी छ ।
प्रदेश कमिटीका महामन्त्री कृष्णबहादुर रोकाया राष्ट्रिय सभाका सांसद भएकाले प्रतिनिधिसभा सांसद बन्ने विषयमा उनको रोइलो देखिँदैन । तर उनी आफ्नो गुटभन्दा पनि बहिनी र ज्वाइँलाई अवसर दिलाउने मार्गमा सँधै केन्द्रिकृत रहेको काँग्रेसीहरुको बुझाइ छ ।
समानुपातिक उम्मेदवार सिफारिस गर्न बसेको पार्टी बैठकमा बहिनीले आफूलाई पार्टी जिल्ला सभापतिको दाबी गरेको बताइन्छ । दाइको दबाबमा उनी महिला समानुपातिक क्लस्टरमा जिल्लाबाट सिफारिसमा परेकी थिइन्। उनका श्रीमान् श्रीमती दुवै आगामी जिल्ला महाधिवेशनमा महत्वपूर्ण पद ओगट्ने योजनामा देखिन्छन् ।
कृष्णबहादुरलाई रुकुमको कोठे राजनीतिमा खप्पिस नेता मानिन्छ । विगतमा देउवा गुटको फाइदा उठाउँदै पटक–पटक सांसदको टिकट पाए । जिल्लामा कोइराला पक्ष बलियो हुँदाहुँदै पनि सधैं गुटगत भागबन्डाबाट लाभ लिनेमा उनी अगाडि देखिन्छन् । अहिले मानबहादुर र प्रेमप्रकाशलाई कमजोर बनाउने रोडम्यापको अगाडि उनी रहेको बताइन्छ ।
जिल्ला र प्रदेशमा उनी देउवा निकट देखिन्छन् । केन्द्रमा पछिल्लो समय नेता कृष्ण सिटौला र विगतदेखि विमलेन्द्र निधिको समूहमा सक्रिय छन् । आगामी महाधिवेशनमा उनी सिटौलाको प्यानलबाट केन्द्रीय सदस्य र अवसर मिलेमा विमलेन्द्र निधिको समूहबाट उपमहामन्त्रीमा उठ्ने योजना बनाउँदै दुईवटा डुंगामा गोडा राखेको अवस्था छ ।
पूर्णबहादुरलाई जानकारी नदिई विमलेन्द्रको सहयोगमा राष्ट्रिय सभामा प्रमुख सचेतक बनेका उनलाई प्रतिस्पर्धी पूर्णबहादुरको समूहले उनलाई बढीमा प्रदेश उपसभापतिमा सीमित गर्न चाहेको अवस्था छ । उनीमाथि आफ्नो समूहलाई अपेक्षित सहयोग नगरेको, राष्ट्रिय सभामा प्रभावकारी भूमिका नखेलेको र कर्णाली संगठनमा प्रभाव जमाउन नसकेको पूर्णबहादुरहरुको ठहर छ ।
वर्तमान सरकारले गरेको स्वकीय सचिव हटाउने निर्णयबाट प्रत्यक्ष असरमा पर्नेमध्ये उनी पनि हुन् । विगतमा सरकारले दुई स्वकीय सचिवको व्यवस्था गरिदिएको थियो। तीमध्ये एकलाई अयोग्य भन्दै हटाएपछि आफ्नै बुहारीलाई स्वकीय सचिव बनाइएको थियो। अहिले स्वकीय नै राख्न नपाइने भएको छ ।
नेता हर्कसिंह खत्रीले पार्टी महाधिवेशनमा जिल्ला सभापति बन्ने चाहना राखेका छन् । आफूलाई कम्युनिस्ट पार्टीको स्कुलिङबाट आएको भन्दै अरूभन्दा बढी क्रान्तिकारी देखाउने उनको बानीलाई धेरैले राम्रो मान्ने गरेको देखिँदैन । आफ्नै समूहका नेताले उम्मेदवारी सिफारिसका लागि हस्ताक्षर गर्न अनुरोध गर्दा नमानेपछि उनलाई विश्वास गर्नेहरुको संख्या औंलामा सीमित भएको हो ।
बन्धु केसी
टिप्पणीहरू