भेनेजुयलाली सैनिकहरु एकाएक रगतपच्छे

भेनेजुयलाली सैनिकहरु एकाएक रगतपच्छे

भेनेजुयलाको राजधानीमा मध्यरात गरिएको आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने क्रममा अमेरिकी सेनाले ‘रहस्यमय शक्तिशाली हतियार’ प्रयोग गरेको तथ्य खुलेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले सामाजिक सञ्जाल एक्समा सेयर गरेको एक प्रत्यक्षदर्शीको भनाइले उक्त तथ्य पुष्टि गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार सैन्य आक्रमणको बेला भेनेजुयलाली सुरक्षाबलको राडार प्रणाली अचानक निष्क्रिय बनाइयो । त्यसपछि ठूलो संख्यामा राजधानी काराकासको आकाशमा ड्रोनहरु देखिए । करिब दुई दर्जन विशेष सैन्य टोली हेलिकोप्टरमा अवतरण गरेका थिए । त्यसबेला उनीहरूसँग परम्परागत हतियारभन्दा फरक खाले अत्याधुनिक प्रविधिको हतियार रहेको उनले बताए ।

उनका अनुसार अमेरिकाले मध्यरात प्रयोग गरेको उपकरणरुपी हतियार तीव्र ध्वनि–तरंगजस्तो थियो । सोही हतियार प्रहारका कारण भेनेजुयलाका सुरक्षाबलका सदस्यहरू रगतपच्छे भएका हुन् । उनीहरुको नाकबाट एकाएक रगत बग्ने,रगत नै बान्ता गर्ने र उठ्न नसकेर घुँडा टेक्ने अवस्था बन्यो । ‘टाउकोभित्रै बिस्फोट भइरहेको जस्तो महसुस भयो,” प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै न्यूयोर्क पोष्टले लेखेको छ ।
भेनेजुयला सरकारले जनवरी ३ राति भएको आक्रमणमा करिब एक सयजना सुरक्षाकर्मी मारिएको बताएको छ । तीमध्ये कतिको हताहती उक्त कथित हतियारका कारण भएको थियो भन्नेबारे खुलाइएको छैन ।

अमेरिकी सेनासँग लामो समयदेखि डाइरेक्टेड–एनर्जी वेपन (माइक्रोवेभ वा लेजरजस्ता केन्द्रित ऊर्जाबाट लक्षित स्थान र व्यक्तिलाई निष्क्रिय पार्ने हतियार) रहेको बताइन्छ। एक पूर्व अमेरिकी गुप्तचर स्रोतले यस्ता हतियारले सम्बन्धित व्यक्तिलाई अत्यधिक दुख्ने,पोल्ने,हलचल गर्न नसक्ने अवस्थामा पुर्याउने बताएको छ । त्यसैगरी रक्तस्रावजस्ता लक्षण देखिन सक्ने भएकाले त्यही साधन हो वा होइन भन्ने आधिकारिक पुष्टि भइसकेको छैन ।

अमेरिका र भारतले यसअघि उल्टै सन् २०२० मा भारत–चीन सीमामा भएको तनावमा चीनले यस्तै माइक्रोवेभ हतियार प्रयोग गरेको आरोप लगाएका थिए ।

टिप्पणीहरू