नेपाली कानुन तोड्नमा विदेशी अगाडि

नेपाली कानुन तोड्नमा विदेशी अगाडि

अध्यागमन ऐन, २०४९ को दफा ३ मा विदेशी पर्यटक नेपाल प्रवेश, उपस्थिति र प्रस्थानसम्बन्धी व्यवस्था छ । उपदफा (१) मा लेखिएको छ, ‘कुनै पनि विदेशीले राहदानी र भिसा नलिई पस्न र बस्न पाउने छैन ।’ पर्यटन वा अध्ययन भिसामा आएका विदेशीहरूका हकमा त झन् वर्षको १५० दिनभन्दा बढी बस्न र त्यस वर्ष पुनः प्रवेश गर्न नपाउने नियम छ ।

तर, भिसा अवधि सकिएपछि पनि विदेशीहरू लुकिछिपी यतै हराउने क्रम जारी छ । जसमा पढ्ने नाममा आउनेहरू धेरै छन् । शैक्षिक भिसामा ६ महिनाको अनुमति लिएर आउँछन् । र, त्यसपछि पनि यतै बस्छन् । त्यसरी बस्ने सात जनालाई अध्यागमन विभागले भर्खरै निश्कासन गरेको छ । जसमा सबै पश्चिमा मुलुकका छन् । अनुमति नलिइकन बसिरहेका उनीहरूलाई २०८० कात्तिक २२ गतेको निर्णयानुसार जरिवाना तिराएर स्वदेश फिर्ता पठाइएको हो ।

उनीहरूबाट प्रतिव्यक्ति प्रतिदिन ८, भिसा फी ३४ र लेट फि ५४ का दरले जरिवाना असुल गरिएको विभागले जनाएको छ । सबैलाई टर्किस एअरको उडान नम्बर टिके ७२७ द्वारा इस्तानबुल हुँदै फर्काइएको हो । स्रोतका अनुसार उनीहरूले तिब्बती शरणार्थीझैं गेरुवस्त्र धारण गरेर कपाल मुण्डन गरेका थिए । विभागमा बयान दिँदा ठेगाना काठमाडौं महानगरपालिका–६, बौद्ध राखेका थिए ।

नेपाल भ्रमण शंकास्पद

फिर्ता पठाइएका सबैको नेपाल भ्रमण शंकास्पद देखिन्छ । अमेरिकाको फल्स आरडी रकी माउण्ट एनसी २७८०४ की बासिन्दा ३० वर्षीया इमाइली भिक्टोरिया फर्गुसन संस्कृत भाषा पढ्ने भन्दै आएकी थिइन् । ५६७९८४६४३ नम्बरको राहदानीवाहक उनी प्रदर्शनीमार्गस्थित संस्कृत विद्यापीठमा भर्ना भइन् । ६ महिना पढेर सन् २०२३ फागुन १२ मा फर्किइन् ।

सन् २०२४ जनवरी १ मा भिसा अवधि समाप्तिसँगै नेपाल आउनुलाई चाहिँ शंकास्पद मानिएको छ । एउटा भिसा वर्षमा एकचोटिभन्दा बढी नेपाल प्रवेश गर्न नपाउने व्यवस्था छ । नेपालबाट गएको ४८ दिनपछि नयाँ वर्ष शुरु हुनेबित्तिकै पुनः प्रवेश गर्नुले प्रश्न उठाउँछ । दोस्रोपटक आउँदा लुम्बिनी विश्वविद्यालय र नमोबुद्ध बुध्दिष्ट ध्यान तथा शैक्षिक संस्थाअन्तर्गतको ‘थ्रान्गु शेखार कलेज अफ मेडिटेशन’मा भर्ना भइन् । त्यहाँबाट अनौपचारिक शिक्षाका लागि अध्ययन भिसा लिएकी थिइन् । उक्त कलेज भक्तपुरको साबिक सुडाल गाविस–७, सरस्वतीथानमा छ ।

रोचक प्रसंग के भने, उक्त कलेजको इमेल छ तर अनलाइन डोमेन छैन । सन् २०२२ मा खिचिएको केही फोटो भने इन्टरनेटमा भेटिन्छ । वासिङ्टनको मेरिल्याण्डस्थित एक प्रतिष्ठित विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातक गरेकी महिला संस्कृतजस्तो जटिल संकायमा भर्ना हुनु आफैंमा खुशी र आश्चर्यको कुरा हो । नेपालमा बस्नकै लागि जटिल र आफ्नो विषय विज्ञताभन्दा अलग संकायमा भर्ना भएको बुझ्न धेरै सोच्न पर्दैन । कसैले नभेटुन् भनेर भक्तपुरको गाउँमा अवस्थित विश्वविद्यालयमा भर्ना भएको हुनसक्छ ।

उनले अध्यागमनलाई बुझाएको फोन नम्बर ९८२३१११०२१ रहेको छ । जुन ढुङ्कर गेष्ट हाउसको हो । उनीसँगै प्रमाणपत्र तहमा ९ र स्नातक तहमा ११ जना गरी मानविकी संकायअन्तर्गतको स्नातक तहमा विभिन्न देशका २० जना भर्ना भएका थिए । बेलायतका उनीहरू स्कटल्याण्डको इस्ड्यालेमियुर, ल्याङ्लोम, डमफ्राइजस्थित तिब्बतियन बौद्ध गुम्बा ‘क्याग्यु साम्ये लिङ मोनास्ट्री एण्ड तिब्बतियन सेन्टर’ मार्फत आएका थिए ।

एउटा भिसा वर्षमा एकचोटिभन्दा बढी नेपाल प्रवेश गर्न नपाउने व्यवस्था छ । नेपालबाट गएको ४८ दिनपछि नयाँ वर्ष शुरु हुनेबित्तिकै पुनः प्रवेश गर्नुले प्रश्न उठाउँछ ।

त्यहाँबाट आउनेमा सारा एलिजाबेथ उलम्यान, टेरेसा हेलेन ¥याण्डल, सारा लोइज क्यानेल छन् । क्यानेलको पासपोर्ट नम्बर १४२६८०५३२ हो । ¥याण्डल १४२५५७५९३ नम्बरको राहदानीवाहक हुन् । उलम्यानको पासपोर्ट नम्बर १४२०२९७४८ हो । उक्त गुम्बाका प्रमुख तिब्बतियन मूलका धर्मगुरु हिज होलिनेस द १७ औं ग्याल्वाङ कर्मापा ओग्यान थिन्ले दोर्जे हुन् । अध्ययन भिसामा आएका उनीहरू समय–समयमा बौद्ध स्तुपापछाडि रहेको रोक्पा गेष्ट हाउसमा भेला हुने गर्थें ।

बेलायतकै अटारजा अन्ना स्लोपेनको २०८० असोज २५ गते नेपाल ईन्ट्री भएको थियो । पासपोर्ट नम्बर ५५२७१७८८२ भएका उनी २३६ दिन बसे । जबकि, कानुनले विदेशी पर्यटकलाई एक वर्षमा १५० दिन मात्र बस्ने अनुमति छ । अध्यागमनले नियन्त्रणमा लिएर उनलाई डिपोर्ट गरिएको छ । स्लोपेनभन्दा एकदिन पछाडि आएका जर्मनीका डा.परत्रा होइलसेचर पनि डिपोर्ट भएका छन् । युनिभर्सिटी अफ डोर्टमण्डबाट सोसियोलोजी अफ रिहाबिलिटेशनमा पिएचडी गरेका उनी पनि अध्ययन भिसामै आएका थिए ।

तर, कानुनविपरीत बसेपछि निश्कासन गरिएको हो । फ्रान्सकी रिजा रतिनाहिराना पनि ओभरस्टे गर्दा कारबाहीमा परेकी हुन् । पासपोर्ट नम्बर १७ईएच६८०८६ भएकी उनी १९८ दिन बसेकी थिइन् । बेलायतका डेभिड नेभियाजस्काई कानुनले तोकेकोभन्दा ८६ दिन बढी नेपाल बसे । उनको पासपोर्ट नम्बर ५५४६१७१८७ रहेको छ । ईटालीका बारबरा क्यारारो २०८० असोज २७ गते पुनः निश्कासनमा परिन् । वाईबी३३१५६२१ नम्बरको राहदानीवाहक उनी २६४ दिन बसेकी थिइन् ।

लुकिछिपी बस्नुको कारण के ?

विदेशीहरू पढ्ने भन्दै आउनु र लुकिछिपी बस्नुको पछाडि धेरै कारण हुनसक्छ । उनीहरूले संस्कृत र बौद्ध विश्वविद्यालयमा भर्ना लिन्छन् । यहाँस्थित तिब्बतियन शरणार्थी शिविर तथा बौद्ध गुम्बाहरूमा छद्म भेषमा प्रवेश गर्छन् र अनेक खिचडी पकाउँछन् भनिन्छ । विशेषतः चीनबाट निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिन र तिब्बतियन स्वतन्त्रता दिवसको अवसरमा ललितपुरको जावलाखेल, काठमाडौं महानगरपालिका–१३, स्वयम्भूको किमडोल, नागार्जुन नगरपालिका–२ को नामग्याल स्कूल, सेतो गुम्बामा कार्यक्रम हुने गर्दछ ।

पश्चिमा कूटनीतिक नियोगका कर्मचारीहरू उक्त कार्यक्रममा सहभागी हुने गर्दछन् । नियामक निकायले भिसा जारी गर्दा कुन प्रयोजन भनी हेर्नुपर्ने जानकारहरू बताउँछन् । त्यस्तै, नेपालमा इन्ट्री भएपछि उनीहरू कहाँ जान्छन् ? कहाँ बस्छन् ? के गर्छन् ? निगरानी राख्न जरुरी छ ।

के छ कारबाहीको व्यवस्था ?

ओभरस्टे अध्यागमनसम्बन्धी कसुरमध्ये एक गम्भीर कसुर हो । नेपालको कानुनले बढीमा पाँच महिनासम्मको भिसा दिने व्यवस्था गरेको छ । उक्त अवधिभन्दा बढी पर्यटन भिसा नियमित गरिँदैन । भिसा नियमित नगराई बसेको अवस्था ओभरस्टे हो । ‘अध्यागमन कार्यविधि, २०६५’ ले ओभरस्टे कसुरमा अधिकतम तीन वर्ष नेपाल प्रवेश गर्न नपाउनेगरी निश्कासन गर्न सकिने व्यवस्था छ ।

‘ट्र्याकिङ’ गर्ने तयारीमा अध्यागमन

अध्यागमन विभागले नेपाल आउने पर्यटकहरूको ‘ट्रयाकिङ्ग’ गर्न थालेको छ । उनीहरू कहाँ बस्छन् ? कहाँ जान्छन् ? यसको अभिलेख राखिने अध्यागमनले जनाएको छ । विवरण राख्न थालेपछि विदेशीबाट हुने अपराध घट्नुका साथै उनीहरूको सुरक्षा पनि सुनिश्चित हुने त्यहाँका अधिकृतहरु बताउँछन् ।

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)  

टिप्पणीहरू