सूर्यकुमारका सालोको कन्चटमा गोली
हिजो पुस २३ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, राई टोल बस्ने ४० वर्षीय सनिप चाम्लिङ राईले आफ्नै कञ्चटमा गोली हाने । घरको चौथो तलामा रहेको कोठामा चुकुल लगाएर आफैंलाई गोली हानेका उनको मृत्यु भएको छ ।
उनले चलाएको बन्दुक अर्ध स्वचालित (पोइन्ट टु–टु) हतियार भूतपूर्व ब्रिटिश गोर्खा सूर्यकुमार नेम्वाङको भएको जिल्ला प्रहरी परिसर,भक्तपुरका कामु सूचना अधिकारी इन्स्पेक्टर सुभेष अधिकारीले बताए । सूर्यकुमार र सनिप सालो–भिनाजु नाता पर्ने उनले जानकारी दिए ।
जनआस्थासँग भने,‘उनले आफैंलाई हानेको गोलीको लाइसेन्स प्राप्त भएको छ । त्यो सूर्यकुमार नेम्वाङको नाममा छ ।’ इन्स्पेक्टर अधिकारीका अनुसार उनी मानसिक समस्याबाट पीडित थिए । जिल्ला प्रशासन कार्यालय,भक्तपुरबाट लाइसेन्स प्राप्त नेम्वाङको हतियार भने प्रहरीसँग छ ।
लण्डनमा बसोबास गर्दै आएका नेम्वाङ अहिले काठमाडौंमा छन् । नेम्वाङले केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । उनी फेरि पनि देउवासँग भेट गर्ने तयारीमा रहेको स्रोत बताउँछ ।
‘पाँच दिनअघि उनी काँग्रेस सभापति देउवालाई भेट्न पुगेका थिए । आज–भोलिमा उनी फेरि भेट्न जानेछन्’,स्रोतले भन्यो । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उनी पाँचथरबाट प्रत्यक्ष उम्मेदवार सिफारिस भएका थिए ।
विभिन्न आरोपमा मुछिएका व्यक्तिलाई उम्मेदवार सिफारिस गरेपछि चर्को विरोध भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले नेम्वाङलाई ठगी मुद्दामा दोषी ठहर गरेको छ । उनी फरार सूचीमा रहेको पाइएको छ ।
उनलाई प्रहरीले ठगीको आरोपमा २०८० सालमा पक्राउ पनि गरेको थियो ।
टिप्पणीहरू