भाेटेलाई बर्खास्त गर्नैपर्ने अडान
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने सञ्चालक समिति सदस्य वीरबहादुर रावत (भोटे) लाई बर्खास्त गर्न माग गरिएको छ । सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनालाई दुर्व्यवहार गर्ने रावतलाई तत्काल निलम्बन गरी बर्खास्त गर्न भनिएको हो ।
नेफ्स्कुनमा कार्यरत सम्पूर्ण कर्मचारीले प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै उनलाई नहटाएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसैगरी, घटनाको छिनोफानो नभएसम्म संघबाट प्रवाह सबै सेवा बन्द गरिने बताइएको छ ।
‘सुर्खेत घटनाका कारण सम्पूर्ण कर्मचारीहरुको मनोबलमा नकारात्मक प्रभाव परेको सन्दर्भमा यस घटनाको छिनोफानो नभएसम्मका लागि संघका सबै कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द गरिने जानकारी गराउँदछौं’,पत्रमा भनिएको छ,‘साथै उपरोक्त मागहरु सम्बोधन नभएमा चरणबद्ध थप आन्दोलनको समेत घोषणा गर्दछौं ।’
कर्मचारीहरुले सम्पूर्ण कार्यालयहरुमा रहेको सबै उपसमितिको कार्यकक्षहरु तत्कालै हटाउन, सबै कर्मचारीको जिउधनको सुरक्षा गर्नलगायतका माग पनि राखेका छन् । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यसमेत रहेका भोटेले सहकारीको कार्यक्रममा काठमाडौं ओहोरदोहोर गर्दाको प्लेन भाडा, ट्याक्सी तथा होटलको पैसा अन्य खर्चको रुपमा मिलाएर नदिएको भन्दै कर्मचारीलाई अश्लिल गाली गर्दै कुटपिट गरेका थिए ।
टिप्पणीहरू