कुरा नमिल्नासाथ अपराधी कमरेड
प्रतिनिधि चयनमै कुटाकुट भएको नेकपा एमालेमा महाधिवेशनको मिति नजिकिंदै जाँदा एकले अर्कालाई खुइल्याउने खेल शुरु भएको छ ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानलवद्ध प्रतिष्पर्धा हुने निश्चित भएसँगै फरक बिचार समूहलाई खुल्याउन थालिएको हो । खासगरी प्रचार मोर्चा सम्हालिरहेका प्रेस चौतारीमा आवद्ध केही नेताले सामाजिक सञ्जालमा केपीको समर्थन गर्दै ईश्वर समूहका नेताको उछित्तो काढिरहेको देखिन्छ ।
केपीको पक्षमा निरन्तर फेसबुक रंगाइरहेका चौतारीका एकजना पूर्वअध्यक्षले त कित्ता फरक पर्नासाथ अपराधी करार गर्नसमेत भ्याइसकेका छन् । उपाध्यक्ष विष्णु पौडेललाई केपीले खादा लगाइदिएको फोटो फेसबुकमा हाल्दै लेखेका छन्- सदा रहने छौँ साथसाथ,हुन्न कहिल्यै विश्वासघात । मुस्कानले नै गरिरहेछ मिसन सफल पार्ने बात । अपराधीहरू किन दिउँसै पारिरहेछौ रात !
परिस्थिति हेरेर आफ्नो अनुकूलतामा गोटी चाल्न खप्पिस मानिएका विष्णु अहिलेसम्म दुवै खेमामा प्रष्ट खुलेर नलागेको भनिएको थियो । ईश्वर समूहले उनलाई आफूतिर तान्न प्रयास गरिरहेको चर्चा थियो । तर, उनी केपी ओलीतिर खुलेको खुशी बाँड्दै चौतारीका ती पूर्वअध्यक्षले अरूलाई अपराधी करार गरेको बुझ्न सकिन्छ ।
कित्ता परिवर्तन गर्नासाथ आफ्नै पार्टीका नेतालाई अपराधी देख्नेहरूले केपीलाई भने भगवानको अर्को रूप मानेको देखिन्छ । उनीहरूले पहिले झोले अभियानमा जस्तै पृष्ठभूमिमा केपीको फोटो राखेर 'जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व' लेखिएका ब्यानर सञ्जालमा व्यापक बनाएका छन् । यस्तो लेख्नेहरूले भदौ २४ गते आफ्नै ज्यान जोगाउन केपी हेलिकप्टर चढेर भाग्नुपरेको कुरा चैं बिर्सिएको पाइन्छ ।
हुन त नेपालका कम्युनिष्ट पार्टीमा 'मिल्दा चाटाचाट,नमिल्दा काटाकाट' हुनु अनौठो होइन । छिसिक्क केही हुनेबित्तिक्कै शब्दकोषमा भेटिएसमका शब्द खोजेर गाली गर्ने चलन पहिलेदेखि नै चल्दै आएको छ ।
एमालेको सौराहा महाधिवेशनमा पनि फरक विचार समूहलाई निस्तेज पार्न अनेक प्रचारवाजी भएको देखिएकै हो । सर्वसम्मत अध्यक्ष हुने चाहनामा भीम रावल बाधक बनेपछि बाक्सा थाप्न बाध्य भएका केपीलाई जिताउन चिट बाँड्नेदेखि अर्को समूहका नेतालाई धक्कामुक्की गर्नेसम्मको स्थिति त्यहाँ देखिएको थियो ।
केपी ओलीलाई चुनौती दिएकै कारण एमालेबाट लखेटिएका रावल अहिले नेपाली कम्युनिष्ट पार्टीमा छन् । एमालेमा अहिले ओलीको विरोध गर्नेलाई 'भीम रावल' बनाइन्छ भन्ने भाष्य नै बनेको छ ।
टिप्पणीहरू