कोशी एमालेमा पहिलेको एकछत्र तोडिएको दाबी
फाइल फाेटाे
पार्टीको एघारौँ महाधिवेशनका लागि कोशी प्रदेशमा एमालेको संस्थापन र इतर समूहले आफ्ना–आफ्ना समूहले बराबर प्रतिनिधि जिताएको दाबी गरेका छन्। आगामी महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको प्रभाव बलियो रहेको बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओली समूहको यसअघिको एकछत्र प्रभावलाई तोड्दै पोखरेल समूहले ४० प्रतिशतभन्दा बढी प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरेको छ । यसबाट अध्यक्ष ओली समूह पहिलेको शतप्रतिशतबाट ६० मा सीमित हुनपुगेको हो ।
कोशीमा सोलुखुम्बु बाहेक सबै जिल्लाबाट पोखरेल पक्षका उल्लेखनीय प्रतिनिधि चयन भएका छन्। पोखरेल पक्षले ओखलढुंगामा ‘क्लिन स्वीप’ गरेको छ। तर संस्थापन पक्षले ओखलढुंगाका प्रतिनिधिलाई मान्यता नदिने जनाएको छ। ओली पक्षले सोलुखुम्बुमा ‘क्लिन स्वीप’ गरेको दाबी गरेको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार सोलुखुम्बु, खोटाङ, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम गरी ७ जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत भएको छ। सहमति भएका जिल्लामध्ये खोटाङ, इलाम र ताप्लेजुङमा पोखरेल पक्ष बलियो देखिएको छ भने सोलुखुम्बु र भोजपुरमा ओली पक्ष बलियो देखिएको छ।
तेह्रथुममा सबै एकताबद्ध हुने र केन्द्रमा कसलाई भोट दिने भन्ने विषयमा पनि एकै मत बनाएर निर्णय गर्ने सहमति भएको त्यहाँका नेताहरूले बताएका छन्। पाँचथरमा मिश्रित परिणाम आएको स्थानीय कार्यकर्ताहरू बताउँछन्।
निर्वाचन भएको झापा, धनकुटा र संखुवासभामा ओली पक्ष बलियो देखिएको छ भने मोरङ र सुनसरीमा प्रतिनिधिहरू आधा–आधा विभाजित भएका छन्। उदयपुरमा पनि पोखरेल पक्ष बलियो हुने अनुमान गरिन्छ। तेह्रथुममा सर्वसम्मति भए पनि लछुमन तिवारी, तेजमान कन्दङ्वालगायतका नेताहरूको भूमिका इतर पक्षमै रहने दाबी गरिएको छ। यद्यपि तिवारीले आफूहरू एकताको पक्षमा रहेको बताएका छन्। धनकुटामा नेता राजेन्द्र राईको प्रभाव छ, राई ओली पक्षका हुन्। भोजपुर एमाले नेता तथा कोशी इन्चार्ज शेरधन राईको गृह जिल्ला हो। यद्यपि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘फ्याक्टर’ का कारण त्यहाँ पनि मत बराबर हुन सक्ने पोखरेल पक्षको दाबी छ।
सुनसरीमा २५ प्रतिनिधिमध्ये आधा–आधा हुने दुवै पक्षको दाबी छ। त्यहाँ एमाले सचिव भीम आचार्य र भगवती चौधरीसमेत पछिल्लो समय अध्यक्ष ओलीसँग असन्तुष्ट रहेको कार्यकर्ताहरू बताउँछन्।
टिप्पणीहरू