न्यायाधीशलाई गाँजाको गाडी
लागुऔषध (गाँजा) सहित बरामद भएको भारतीय नम्बरको गाडी धादिङ अदालतका न्यायाधीश र कर्मचारीहरुले प्रयोग गरेको पाइएको छ ।
एक सय ४३ किलो गाँजासहित बरामद गरी विचाराधिन मुद्दामा रहेको बि.आर. ०६ पि. सी ११६७ नम्बरको भारतीय गाडी न्यायाधीश र कर्मचारीहरुले व्यक्तिगत काममा चलाउने गरेको भेटिएको हो ।
मुद्दा चलिरहेको बेला सो सम्बन्धी कुनै पनि वस्तु न्यायाधीशले नै प्रयोग गर्न खोज्नु लाई न्यायिक स्वतन्त्रता र निष्पक्षताविरुद्ध मानिन्छ । बरामद भएका कुनै पनि वस्तु वा सवारीसाधन नेपाल सरकारको नाममा हस्तान्तरण नभएसम्म कसैले पनि प्रयोग पाइँदैन । तर, प्रमाण सुरक्षित राख्नुपर्ने निकायका जिम्मेवारहरुले नै आचारसंहिता मिच्दै विचाराधीन मुद्दामा रहेको सवारी प्रयोग गरेका छन् ।
न्यायाधीश र कर्मचारीले निर्वाध प्रयोग गरिरहेको सवारीसाधनका विषयमा सामाजिक सन्जालहरुमा समेत सार्वजनिक हुन थालेपछि यसले जिल्लाभर चर्चा पाएको छ । बरामद भएर मुद्दा विचाराधिन अवस्थामा रहेको गाडी पटक पटक सडकमा गुडिरहेको देखिए पनि पछिल्लो पटक मंसिर ११ गते प्रयोग गरेर अदालतको मूल ढोका अगाडि पार्किङमा राखिएको तस्बिर सामाजिक सन्जालमा छ्याप्छ्याप्ती बनेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ आँपटारबाट २०८२ असार ३० गते राती अन्दाजी २ बजेर ४५ मिनेटमा १४३ किलो ८४० ग्राम गाँजासहित बि.आर.०६ पि. सी ११६७ नम्बरको भारतीय गाडी प्रहरीले बरामद गरेको थियो । गाँजा र गाडीसँगै पक्राउ परेका प्रतिवादी पुर्पक्षको लागि थुनामा छ । मुद्दा कार्वाहीयुक्त अवस्थामा छ ।
विचाराधिन मुद्दाको वस्तुको प्रमाण सुरक्षित राख्नु अदालत र प्रहरीको दायित्व हो । श्रीमानहरुले कार्यान्वयन गर्नुपर्ने आचारसंहितामा यस्तो वस्तु प्रयोग गर्नु अनियमितता ठहर हुन्छ र आचारसंहिता उल्लंघनमा कार्बाहीमा पर्न सक्छन् ।
नेपाल सरकारले तेल,सवारी साधन र ड्राइभर समेत सुविधा दिने गरेको छ । आफ्नो सवारी साधन घरमा आफन्तलाई प्रयोग गर्न दिने र यस्ता गैर कानुनी सवारी साधन प्रयोग गर्ने न्यायाधीश तथा कर्मचारीहरुको आदत बढिरहेको गुनासो छ ।
गाडी प्रयोग गरेको विषयमा धादिङ अदालतका श्रेस्तेदार राजेन्द्र लुइँटेलले भने मुद्दा पेसी चढ्ने प्रक्रियामा रहेको र कार्यालय प्रयोजनको लागि सवारी नभएकोले कसुरजन्य सम्पत्तिअन्तर्गत विभागबाट अनुमति लिनको लागि ट्रायलको रुपमा चलाएको प्रतिक्रिया दिएका छन् ।
त्यसो त जफत गरिएका मेशिनरी र ब्याट्री प्रयोग हुने सामान बेलाबखत नचलाई राख्दा सिज हुने खतरा पनि उत्तिकै रहने तर्क गरिन्छ । काठमाण्डौको दुई नम्बर न्यायाधीश रहिसकेका गौप्राणी श्रीमान (रामप्रसाद शर्मा) यतिबेला धादिङ्गमा हुनुहुन्छ । उहाँको मनशाय भएभरका र हुने नहुने सुख सुविधा उपभोग गरिहालौँ भन्ने नरहेको जिल्लाका सुरक्षा प्रमुखहरु बताउँछन् ।
टिप्पणीहरू