काठमाडौंमा बढ्यो अपराध
काठमाडौंमा अपराध बढ्दै गएको छ । विभिन्न कसुरमा दिनहुँ दर्जनौं पक्राउ परिरहेका छन् । क्रिप्टो,लागुऔषध, लुटपाटलगायतका कसुरमा संलग्नहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर,काठमाडौंले अदालतबाट धमाधम म्याद थप गरिरहेको छ । परिसरले १९ करोड ८१ लाख रुपैयाँभन्दा बढीको क्रिप्टो कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई पक्राउ गरेर ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुर’ मा अनुसन्धान थालिएको छ । त्यस्तै, क्रिप्टो कारोबार गरेकै आरोपमा २२ वर्षीय विकास शाह बानियाँलाई समातिएको छ । ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ क्रिप्टो कारोबार र अनलाइन ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए ।
उता, एनपिएलमा अनलाइन बेटिङ गरेको आरोपमा पनि पक्राउ पर्ने क्रम जारी छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनमा सरकारी तथा निजी भवनमा आगजनी तथा तोडफोड गरेको अभियोगमा काठमाडौं प्रहरीले अहिलेसम्म झण्डै दुई सय जनालाई पक्राउ गरिसकेको छ । त्यसमध्ये ६ जना सर्वोच्च अदालत जलाएको अभियोगमा समातिएका हुन् ।
हिजो चितवनबाट नेपाल ल क्याम्पसका पूर्वसभापति तथा अधिवक्ता विष्णु ढुंगेललाई पक्राउ गरिएकोमा काठमाडौं ल्याइसकिएको छ । उनीमाथि काठमाडौं जिल्ला अदालतबाट हिजै पाँच दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले जानकारी दिए ।
जेनजी प्रदर्शनमा लुटिएका हतियारहरु पनि देशभरका विभिन्न जिल्लाबाट नियन्त्रणमा लिने क्रम जारी छ । उता, टिबेटियन ओरिजिनल ब्लड (टिओबी) का सदस्य तेन्जिङ दाबा लामामाथि अनुसन्धान अन्तिम चरणमा पुगेको छ । उनीमाथि अभद्र व्यवहार, लागुऔषध र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोमा प्रहरीले एकाध दिनमै सकेर मुद्दा लैजाने तयारी गरेको छ ।
ठमेलमा पर्यटकहरुलाई अनावश्यक हैरानी दिने र लुटपाट गर्ने १३ जनामाथि अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू