अर्थमन्त्रीलाई सिध्याउन पूर्व प्रधान न्यायाधीश आतुर !
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर भित्रभित्रै सरकार ढाल्ने खेल चलाइरहेको भनिएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अर्थमन्त्री डा. रामेश्वर खनाललाई पत्तासाफ पार्ने धम्की दिएको बुझिएको छ । उनले आज बिहान एकजना प्रतिष्ठित उध्योगीमार्फत त्यस्तो धम्कीपूर्ण चेतावनीसहितको सन्देश पठाएको स्रोतले बतायो ।
बताइएअनुसार कल्याणका छोराको व्यावसायिक साझेदार एकजना व्यापारीको पक्षमा निर्णय गर्न दबाब झेलिरहेका अर्थमन्त्री खनालले त्यसलाई अस्वीकार गरेपछि परिस्थिति धाकधम्कीको तहमा पुगेको हो । प्रधानमन्त्री सुशीला कार्की र कल्याण दुबैतिर सम्पर्क,सम्बन्धमा रहेका आदर्श श्रेष्ठमार्फत यसअघि अर्थमन्त्रीलाई सिधै खबर आउने गरेको थियो । तर,केही व्यापारीको नामै तोकेर आएका त्यस्ता सन्देशलाई अर्थमन्त्री खनालले इन्टरटेन गरेनन् ।
यो सूत्र प्रयोग गरेर काम नबन्ने पक्का भएपछि कल्याण धम्काउने तहमा उत्रिएको स्रोत दावी गर्छ । प्रश्न उठ्छ- राज्य सत्ताको औपचारिक जिम्मेवारीमा नरहेको व्यक्तिले देशको कार्यकारी प्रमुखलाई चेतावनी दिने हैसियत के हो ? भनिंदैछ कि न्यायालयमा समानान्तर सत्ता चलाउने गरेको आरोप लागेका कल्याणले त्यसैको आडमा सरकारमाथि दबाब बढाएका हुन् ।
एकातिर सुदन गुरुङ्गले गृहमन्त्रीको राजीनामा माग्ने,अर्कातिर कल्याण श्रेष्ठले अर्थमन्त्रीमाथि दागा धर्ने अर्थात सुशीला कार्कीका दुई सारथीलाई हानेर सरकारलाई कमजोर बनाउने,चुनाव हुन नदिने । यो कस्तो ब्युहचक्र हो !
कार्की नेतृत्वको सरकार ढालेर आफू प्रधानमन्त्री बन्ने योजनासहित दौडधुपमा रहेको चर्चाका बीच कल्याणले केही साताअघि गुण्डु पुगेर एमाले अध्यक्ष ओलीसँग गोप्य भेट गरेका थिए । जबकि कुनै समय यी दुई एकअर्काका कट्टर दुश्मनजस्तो देखिन्थे । अहिले उनीहरूको साझा स्वार्थ छ- सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गराउने र आफू अनुकूल सरकार बनाउने ।
तर,त्यो बाटो कठिन हुने देखिएपछि मन्त्रीहरूलाई दबाब दिएर प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने नयाँ खेलमा कल्याण लागेको अनुमान गरिएको छ । पूर्वअर्थसचिव खनाल अहिलेको सरकारका मन्त्रीमध्ये परिपक्व र तुलनात्मकरुपमा इमान्दार मानिन्छन् । लामो प्रशासनिक अनुभवले खारिएका र अर्थतन्त्रको ज्ञाता उनलाई प्रधानमन्त्रीको एक बलियो सारथीका रूपमा पनि हेरिएको छ ।
राजनीतिक अस्थिरताका बीच मुलुकको अर्थतन्त्र सम्हाल्ने कठिन जिम्मेवारीमा रहेका खनालको सफलता सिंगो सरकारको सफलतासँग जोडिएको छ । यो बुझेरै अस्थिरतामा खेलेर आफ्नो स्वार्थसिद्ध गर्न तल्लिन बिचौलियाहरूको आक्रमणको केन्द्रमा उनी परेको र त्यहीअन्तर्गत कल्याणले धम्कीयुक्त चेतावनी दिएको स्रोत बताउँछ ।
एकातिर सुदन गुरुङ्गले गृहमन्त्रीको राजीनामा माग्ने,अर्कातिर कल्याण श्रेष्ठले अर्थमन्त्रीमाथि दागा धर्ने अर्थात सुशीला कार्कीका दुई सारथीलाई हानेर सरकारलाई कमजोर बनाउने,चुनाव हुन नदिने । यो कस्तो ब्युहचक्र हो ! राजनीतिक पर्यवेक्षकहरु छक्क परेका छन् ।
टिप्पणीहरू