महामन्त्रीको छलफलअघि सभापतिसँग भेट
नेपाली कांग्रेसभित्र चुनावअघि महाधिवेशन गर्ने वा नगर्ने विषय तीव्र विवादमा परिणत भइरहेका बेला पार्टीभित्रका केही केन्द्रीय सदस्यले महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मासँगको तय भएको छलफलअघि सभापति शेरबहादुर देउवासँग छुट्टै भेटेर आफ्नो धारणा राखेका थिए ।
हिजो दिउँसो महाराजगञ्जस्थित एक होटलमा दुई महामन्त्रीसँग महाधिवेशन प्रारम्भको माग राख्दै संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्य पुगेका थिए ।
तर, सो भेटअघि नै उनीहरूले देउवासँगको भेटवार्तामा पनि उस्तै धारणा राखेको बताइन्छ । सभापतिसँगको भेटमा ती सदस्यले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई प्रभावकारी बनाउन पार्टीभित्र नेतृत्वको स्पष्टता अनिवार्य रहेको र त्यसका लागि १५औँ महाधिवेशन मंसिर १५ गतेभित्र सुरु हुनैपर्ने धारणा राखेका हुन् ।
बैठकमा सहभागी एक सदस्यले भने, “गगन–विश्वसँग बोलेकै कुरा हामीले सभापतिलाई पनि राख्यौं। पार्टीले निर्णय गर्न ढिला गरे नेताहरू बीच अविश्वास बढ्ने भन्दै उहाँलाई ध्यानाकर्षण गराएका हौँ।” अस्ति पनि सोही समूहले देउवालाई भेटेर महाधिवेशनमा ढिलाइ नगर्न आग्रह गरेको थियो।
उता, गगन–विश्वप्रकाशले चुनावअघि विशेष वा नियमित महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नभए आफूहरू फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने चेतावनी दिँदैं आएका छन्। कांग्रेसभित्र महाधिवेशन, विशेष महाधिवेशन वा निर्वाचन—तीनै विकल्प एकसाथ खुला रहेका बेला शीर्ष नेताहरूबीच भएको फरक फरक भेटघाटले पार्टीभित्र शक्ति समीकरण फेरबदलको संकेत आएको विश्लेषकहरूको बुझाइ छ ।
टिप्पणीहरू