नेपालमै पहिलो पटक सफ्टपोस सेवा, एनएमबिबाट थालनी
नेपालमै पहिलो पटक सफ्टपोस सेवा शुरु भएको छ । एनएमबि बैंकले सो सेवा शुरु गर्दै नेपाली डिजिटल भुक्तानी प्रविधिमा महत्त्वपूर्ण कदम अघि बढाएको हो ।
बैंकका अनुसार सेवाअन्तर्गत कुनै पनि एनएफएस सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेशिनको रुपमा प्रयोग गर्न सकिन्छ ।
यसले डेबिट वा क्रेडिट कार्डमार्फत साना तथा मझौला उद्यम र टुर्सिम उद्यमलगायत व्यवसायीले मोबाइलबाटै भुक्तानी स्वीकार गर्न सक्ने बैंकको दाबी छ ।
सफ्टपोसले साना व्यापारी, डेलिभरी सेवालगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, ‘यो सेवा केवल नयाँ प्रविधि होइन, नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठूलो पाइला पनि हो ।’
आजकल हरेकको खल्तीमा स्मार्टफोन हुने भएकाले भुक्तानीका निम्ति सम्बन्धित ठाउँमै पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न यो सेवाले भूमिका खेल्ने उनको विश्वास छ ।
सफ्टपोसले अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्डअनुरुप काम गर्ने भएकाले व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकको प्रतिबद्धता छ ।
एनएमबि बैंकले हाल देशभर आफ्ना दुई सय दुई शाखा, एक सय ८४ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ ।
टिप्पणीहरू