अरु नबोलेपछि बालेनको आतंक

अरु नबोलेपछि बालेनको आतंक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले विकास निर्माणका कामभन्दा विध्वंशमा बढी जोड गरेपछि अन्य जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । आक्कलझुक्कल आलोचना गर्ने उपमेयर सुनिता डंगोलका लागि बालेनले गाडी र क्यामेरा म्यानको व्यवस्थापन गरिदिएका छन् । उनलाई दुइटा गाडी दिइएको छ । क्यामेरा म्यानहरू जतिबेला पनि अघिपछि हुन्छन् । 

स्रोत भन्छ, ‘पहिला उपमेयरले मेयरको कति धेरै विरोध गर्नुहुन्थ्यो । अहिले मुखै खोल्नुहुन्न । लगातार विदेश भ्रमण, गाडी र क्यामेरा म्यान पाएपछि के चाहियो ? आफ्नो टिकटक र भिडियो आउँदा मख्ख हुनुहुन्छ ।’ दुवै क्यामेरा म्यानलाई श्रम बैंकबाट तलब दिइएको छ ।

५ नम्बरका वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई बालेनले दाहिने हात बनाएका छन् । बालेन घुमघाममा जाँदा उनी ड्राइभर बन्छन् । बालेनका ‘ड्रिंक्स पार्टनर’ पनि हुन् । बालेनको कार्यशैलीको चर्को आलोचना गर्ने १७ नम्बर वडाध्यक्ष तथा महानगर प्रवक्ता नवीन मानन्धर यतिबेला दक्षिण कोरियामा छन् । उनीसँगै वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी र वडा नम्बर २९ का कुश ढकाल सोल गएका हुन् ।

त्यसैगरी, बालेनले वडाध्यक्षहरूलाई महँगा गाडी दिएका छन् । २० लाख रूपैयाँसम्मको बजेट आफूखुशी चलाउन पाउने अधिकार पनि प्रदान गरिएको छ । ‘उहाँलाई कसको मुख कसरी बन्द गर्ने भन्ने राम्ररी थाहा छ । २० लाखसम्मको बजेट चलाउन वडाध्यक्षले अनुमति लिनुपर्दैन । गाडी दिइएको छ, अरु के चाहियो ? गाडी नलिएका एकाधले विरोध गर्छन्, उनले वास्तै गर्दैनन्,’ स्रोतले भन्यो ।

(जनआस्था साप्ताहिकको कात्तिक २६ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू