जेनजीहरु मख्ख मात्रै नपर्नु, बरु यता बल गर्नु

जेनजीहरु मख्ख मात्रै नपर्नु, बरु यता बल गर्नु

नेपालको राजनीतिक इतिहास भनेको निरन्तर परिवर्तनको यात्रा हो । राणाशासनको अन्त्यदेखि प्रजातन्त्र, राजतन्त्रको पतनदेखि गणतन्त्र प्राप्तिसम्मको यात्रा राजनीतिक आन्दोलनकै उपज थियो । यी सबै आन्दोलनहरूमा मुख्यतः युवाहरूकै योगदान र बलिदान रहेको छ तर जब अवसरको सवाल आयो, युवा पुस्ताको ठूलो हिस्सा सधैँ नै किनारामा धकेलियो ।

आजका युवा सात, सत्र वा सड्चालिसका युवाभन्दा शिक्षित, प्रविधिसँग जोडिएका, र विश्वदृष्टिकोणले सुसज्जित छन् भन्दा अतिशयोक्ति नहोला । अब युवालाई नजरअन्दाज गरेर अघि बढ्न सकिँदैन । आजको पुस्तालाई धेरैले राजनीतिक दलसित आवद्ध नभएका जेन जेड हुन् भनेर बुझेको देखिन्छ जुन बिल्कुलै गलत हो । सबै राजनीतिक दलमा उस्तै प्रतिभाशाली जेनजेड रहेका छन् । राजनीतिक दलका विद्यार्थी संगठन जेन जेडकै संगठन होइनन् र ? 

अन्यत्रजस्तै नेपालमा पनि यो पुस्ता सामाजिक सञ्जालमार्फत विश्व राजनीति, विचारधारा र परिवर्तनका स्वरहरूसँग प्रत्यक्ष सम्पर्कमा छ । तर यसो भनेर अन्य पुस्ता बेखबर छ भनेको होइन । नेपाली जनताको चाहना नै जेन जेड पुस्ताको पनि चाहना हो । नेपाली जनता जस्तै उनीहरू पनि परिवर्तन चाहन्छन्, परिवर्तन कसरी संभव हुन्छ भन्ने प्रश्न पनि सोधिरहेका छन् । त्यसैले अबको राजनीतिमा जेन जेडको दृष्टिकोणबाट कस्तो हुनुपर्छ भन्ने प्रश्न अत्यन्त सान्दर्भिक छ ।

विगतका दशकहरूमा हाम्रो राजनीति प्रायः खास राजनीतिक विचारधाराको छातामुनि तर व्यक्तिपूजामुखी र भावनात्मक समर्थनमा रहेर अगाडि बढेको थियो । सैद्धान्तिक रटान, परम्परागत विचारधारात्मक नारा, र नेतृत्वको अन्ध समर्थन अर्थात झोलेवाद, नै राजनीतिक चेतको मापन रहेको हो । तर अहिले मुखर भएर अघि आएको जेन जेड पुस्ता अब यस्तो अन्धअनुकरणमा विश्वास राख्दैन । उनीहरूका अनुसार तर्क, प्रमाण, र परिणाम नै राजनीतिको मापन हो । उनीहरू यही मान्यतामा आधारित राजनीतिलाई अघि बढाउन चाहन्छन् । युवाहरू कसले के बोले भन्दा पनि के परिणाम दियो भन्ने कुरामा केन्द्रित रहेर राजनीतिमा हस्तक्षेप गर्न खोजिरहेका छन्, जुन धेरै सकारात्मक छ । जेन जेडको यो दृष्टिकोणले दलहरूलाई उत्तरदायी, पारदर्शी र नीति आधारित बन्न बाध्य पार्नेछ ।

नेपालका परम्परागत राजनीतिक दलहरू– वामपन्थी, लोकतान्त्रिक, दक्षिणपन्थी, वा मध्यमार्गी आदि सबैले विचारधारात्मक सवालमा धेरै ऊर्जा खर्च गरे । तर जेन जेड पुस्ताको लागि विचारधारा अब त्यति महत्वपूर्ण र निर्णायक रहेन । उनीहरू मानवीय मूल्य, न्याय, अवसरको समानता र दिगोपन जस्ता मूल्य आधारित राजनीतिमा बढी विश्वास गर्छन् जस्तो देखिन्छ ।

यहाँनिर राजनीतिक प्रश्न सोध्न सकिन्छ; उनीहरूले उठाउन खोजेको मूल्यको राजनीति कुनै विचारधाराभन्दा बाहिरको राजनीति हो त ? विचारधाराप्रति अविश्वास हुनुको के कारण छ ? विचारधाराले समाजमा विभाजन ल्याउँछ कि एकता अथवा विकास ल्याउँछ कि विनाश ? हामीलाई थाहै छ कि जेन जेड पुस्ता इन्टरनेटमा हुर्किएको हो । उनीहरूको बुझाइमा सूचना पाउनु राज्यद्वारा प्राप्त कुनै खास सुविधा वा विलासिता होइन, त्यो त सबैको सार्वभौम अधिकार हो भन्ने छ । यही अनुसार अबको राजनीतिक दृष्टिकोण पारदर्शी, खुलापन र डेटामा आधारित हुनुपर्छ भन्ने बुझाइ देखिन्छ । यो पुस्ताले विकासका भाषणमा होइन, विश्वसनीय तथ्यका आधारमा टेकेर राजनीतिलाई अघि बढाउनुपर्छ भन्ने मान्यता बोकेको छ ।

जेन जेडको राजनीतिक दृष्टिकोणले अहिलेसम्म चलिआएको विकासको परिभाषालाई पुरापुर फेरबदल गर्नुपर्छ । वडाध्यक्षको सडक विकास, पालिका भवन निर्माण, वा प्रवेशद्वार निर्माणलाई विकास भन्ने मान्यतालाई ध्वस्त पार्नुपर्छ । अब दिगो विकास, वातावरणीय सन्तुलन, नवीकरणीय ऊर्जा, र कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुपर्छ । यस दिशातर्फ जान जोड लगाउनुपर्छ । उनीहरूको दृष्टिकोण समान अवसर, सुरक्षित राजनीतिक वातावरण, र योग्यतामुखी निर्णयजस्ता विषयप्रति केन्द्रित हुनुपर्छ । राजनीतिक दलको उम्मेदवारी चयनदेखि नीति निर्माणसम्म समावेशी सहभागितालाई वैकल्पिक होइन कि अनिवार्य शर्त बनाउन यो पुस्ताले संघर्ष नै गर्नुपर्छ ।

आजको दिनमा नेपालमा बेरोजगारी र वैदेशिक पलायनको वास्तविक पीडा भोगिरहेको कुनै पुस्ता यदि छ भने त्यो जेन जेड पुस्ता नै हो । तसर्थ उनीहरूको राजनीतिक दृष्टिकोणले नोकरी खोज्ने होइन, अवसर सिर्जना गर्ने अर्थतन्त्रको परिकल्पना गर्नुपर्छ । त्यो भनेको सीपमूलक शिक्षा, स्टार्टअप प्रोत्साहन नीति, युवा उद्यमीहरूका लागि सस्तो ऋणलगायत ग्रामीण क्षेत्रमा प्रविधि आधारित उत्पादन नीति बनाउनु हो । यी विषयलाई नीतिगत स्तरबाटै लागू गर्न सक्दा जेन जेडको राजनीतिक दृष्टिकोण आफ से आफ व्यावहारिक र प्रगतिशील बन्न जान्छ । जेन जेडले आफूलाई केवल सामाजिक सञ्जालमार्फत राजनीतिक आलोचनामा सीमित राखेर दायित्व पूरा भएको ठान्नु गलत हुनेछ । तर अहिले यो समूह सामाजिक सञ्जालबाट बाहिर निस्किन नसकेको हो कि भन्नेजस्तो देखिन्छ । वास्तविक परिवर्तन ल्याउन तब मात्रै सम्भव हुनेछ जब उनीहरूको नीतिनिर्माणमा, सरकारमा, नेतृत्वमा सक्रिय सहभागिता रहन जान्छ । नागरिक सचेतना फैलाउनु, तथ्यमा आधारित बहस गर्नु, र पार्टीभित्रै सुधारका आवाज उठाउनुजस्ता राजनीतिक संस्कृतिको नयाँ अभ्यासलाई व्यवहारमा लागु गराउन पहल गर्नुपर्छ ।

जेन जेड पुस्तालाई उनीहरूको पहुँचको सवाललाई हेरेर विश्व नागरिक हुन् भन्दै मख्ख पर्ने छुट छैन । यिनीहरूले नेपालप्रतिको पहिचानलाई गर्वका साथ धारण गर्नुपर्छ । यो भन्नुको अर्थ हो विश्वका प्रविधि, नीति र मानवअधिकारका अभ्यासबाट सिक्ने, तर आफ्ना मूल्य, मान्यता, संस्कृति र भू–राजनीतिक सन्तुलनलाई पनि कायम राख्ने अर्थात् अन्तर्राष्ट्रिय सम्बन्धमा साझेदारी र स्वाभिमान दुवै कायम राख्ने रणनीति निर्माण ।

नेपालमा जेन जेड पुस्ता दर्शक मात्रै होइन, यो देशको निर्णायक शक्ति बन्न सक्ने अवस्थामा पुगेको छ । उनीहरूको मुद्दा नै राजनीतिको केन्द्रीय मुद्दा बनिसकेको छ । मुद्दा पारदर्शिता, र मानवीय मूल्यमा आधारित देखिन्छ तर यो सैद्धान्तिक–वैचारिक आधारविनाको छ । कसरी यथार्थमा रूपान्तरण होला भनेर विचार पुर्‍याउनु पर्नेछ । जेन जेडको यो राजनीतिक दृष्टिकोणले देशलाई उत्तरदायित्वमा आधारित शासन, दिगो विकास, र मूल्यमा आधारित लोकतन्त्रको बाटोमा अघि बढाउन भूमिका खेल्न सक्नेछ तर सैद्धान्तिक आधारबिना यो अपनाउन संभव छैन ।

यदि जेन जेडले विचार र व्यवहार दुबैमा नवीन राजनीति निर्माण गर्न सकेको खण्डमा स्थायित्व, समृद्धि र वास्तविक लोकतन्त्रको स्वाद पाउन सक्ने कुरामा विवाद छैन । तर, फेरि पनि मूल प्रश्न भनेको त सिद्धान्त र विचारमा आधारित रहेर देशको राजनीतिमा सक्रिय र इमानदार सहभागिता नै हो ।

(जनआस्था साप्ताहिकको कात्तिक २६ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू