गायिकाको अनौठो दाबी : २ वर्षपछि मात्रै विवाह गरेको थाहा पाएँ
अमेरिकी गायिका ब्रिटनी पोर्टरले मलेसियाका केलान्टानका सुल्तान मुहम्मद पाँचौँसँग आफ्नो विवाह भएको दुई वर्षपछि मात्रै थाहा पाएको अनौठो दाबी गरेकी छन् ।
आफूलाई थाहा नै नदिई सुल्तानले मुस्लिम धर्मअनुसार विवाह गरेको उनको भनाइ छ । सन् २०२४ मा सम्पन्न इस्लामिक “निकाह” रस्मलाई उनले सगाई समारोह ठानेकी तर दुई वर्षपछि मात्र त्यो वास्तवमा कानुनी विवाह भएको तथ्य थाहा पाएको उल्लेख गरेकी छन् ।
‘ओमानमा हामीले सगाई गरेका छौँ भनेर म खुसी थिएँ। तर पछि थाहा भयो, त्यो इस्लामिक निकाह रहेछ र कानुनी रूपमा विवाहको मान्यता पाउँदो रहेछ’ उनले हालैको एक अन्तरवार्तामा भनिन् ।
क्यालिफोर्नियाकी ३० वर्षीया पोर्टरले सन् २०२४ जनवरीमा न्यूयोर्कमा परस्पर चिनजानमार्फत सुल्तानसँग भेट भएको उल्लेख गरिन् । ‘उहाँको वौद्धिक क्षमता र ब्रिटिस अंग्रेजी उच्चारणले मलाई आकर्षित ग¥यो। हामी साथीबाट सम्बन्धमा गयौँ,’ उनले स्मरण गर्दै भनिन् ।
सुल्तान मुहम्मद पाँचौँ सन् २०१६ देखि २०१९ सम्म मलेसियाका राजा (याङ दी–पर्तुआन आगोङ) थिए। राजगद्दी त्यागेपछि उनी पुनः धार्मिक दृष्टिले रूढिवादी केलान्टानका सुल्तानका रूपमा फर्किएका हुन्।
पोर्टरले अब आफ्नो सम्बन्ध र ब्रेकअपबाट प्रेरित गीत सार्वजनिक गर्ने तयारी गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
टिप्पणीहरू