विध्वंशकाे विवरण बुझाउन तीन दिने सूचना
राष्ट्रिय योजना आयोगले देशभरका स्थानीय तहलाई भदौ २३ र २४ गतेको जेनजी विध्वंशकाे क्रममा भएका क्षतिको विवरण तीन दिनभित्र बुझाउन आग्रह गरेको छ । आयोगले आज एक सूचना जारी गरेर ‘क्षति मुल्याकंन सर्वेक्षण पोर्टल’मा यथाशिघ्र विवरण प्रविष्ट गर्न भनेको हो ।
असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले देशभरको क्षति मुल्यांकन गरेर प्रतिवेदन तयार पार्न योजना आयोगका सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले भदौ २३ र २४ गते ४४ भन्दा बढी जिल्लामा रहेका सरकारी तथा निजी सम्पतिमाथि तोडफोड र आगजनी भएको प्रारम्भिक रिर्पोट तयार पारेकाे छ । आयोगले ती जिल्लाहरुबाट पनि क्षतिको पूर्ण विवरण नआएको भन्दै सर्वेक्षण पोर्टलमा समावेश गर्न सूचित गरेको हो ।
‘क्षति मुल्यांकनको लागि तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको छ’, सूचनामा भनिएको छ,‘...समितिले निर्माण गरेको पोर्टलमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकासँग समन्वय गरी बढीमा तीन दिनभित्र क्षतिको विवरण प्रविष्ट गरिदिनुहुन अनुरोध छ ।’
समयसीमा नाघेपछि प्राप्त भएका विवरणलाई मुल्यांकनमा समावेश नगरिने बताइएको छ ।
टिप्पणीहरू