शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली
झापाको दमक नगरपालिका-५ स्थित दीपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलामाथि सरकारी कागजात किर्ते कसूरमा मुद्दा लागेको छ ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज मुद्दा दर्ता गरेको हो ।
२०५५ सालमा करार सेवामार्फत विद्यालयमा नियुक्ति लिएकी निरौला ०७५ चैत २८ गते स्थायी भएकी थिइन । तर, उनले नियुक्तिका बेला पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको अख्तियारको भनाइ छ ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख भएअनुसार निरौलाले मध्यम तहको परीक्षा उत्तीर्ण गरेको भनि पेश गरेको प्रमाणपत्र नक्कली भएको पाइएको छ । उक्त प्रमाणपत्र भारतको बिहारस्थित संस्कृत शिक्षा बोर्डबाट जारी भएको अख्तियारले जनाएको छ ।
झुट्टा प्रमाणपत्र पेश गरेर सरकारी सेवामा प्रवेश गरेर तलब, भत्ता र लाभ लिएको ठहरसहित उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कैद र जरिवाना सजाय हुनुपर्ने अख्तियारको माग छ ।
टिप्पणीहरू