‘नेपाली हामी रहाैँला कहाँ नेपालै नरहे’

‘नेपाली हामी रहाैँला कहाँ नेपालै नरहे’

पटकपटक नेपालको राजनीतिक परिवर्तन भए पनि जनअपेक्षाअनुसार काम हुन सकेन । जनताका पटकपटकका चेतावनी, सरोकारवालाहरूका खबरदारी र सुझावलाई लत्याइँदै आएपछि राजनीतिक  दलहरू अहिले यता न उताका भएका छन् । २०८२ साल भदाै २३ को जेन्जी विद्रोह र २४ गते जेन्जीको नाम लिएर भएको विध्वंसपछि मुलुक राजनीतिक दल र दलीय सरकारबिना चल्छ, चल्नुपर्छ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । कतिपय वैदेशिक शक्तिहरू यो भाष्य स्थापित गराउन लागिपरेका छन्  ।  

एक किसिमले भन्ने हो भने तत्काललाई दलहरू बेरोजगार भएका छन् भने विभित्र पेसा- व्यवसाय- रोजगारीमा रहेकाहरूले दलको काम गरिरहेका छन् । जेञ्जीका प्रमुख माग सुशासन  र भ्रष्टाचारमुक्त समाज भए पनि यो सरकार ०८४ मा हुने नियमित  चुनावलाई ८२ मै गराउन बनाइएको भनेर लय मिलाइँदैछ । एक किसिमले भन्दा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन तोड्नकै लागि जेञ्जी विद्रोह गराइएको जस्तो देखिएको छ ।किनकि गैर- दलीय सरकार बनेपछि पनि सुशासन कायम हुनेगरी सेवा प्रवाह हुनसकेको देखिदैँन । यो सरकारको मुख्य ध्येय नै चुनाव भएकाले त्यतातिर ध्यान दिन भ्याउने पनि देखिदैन ।  

अर्कोतिर दुई दिनमा यति उथलपुथल हुँदा पनि सबै दलहरूको पुरानो ढर्रा फेरिन सकेको छैन ।  कतिपय दलहरू पुरानै सोच- व्यवहार बोकेर सत्तामा फर्कन कसरत गरिरहेका छन् । फेरि अचम्म के छ भने, स्वयम् जेञ्जीहरूमै विश्रृङ्खलित छन् । उनीहरूको आन्दोलनको खास नेतृत्वको पहिचान हुनसकेको छैन ।  यसको फाइदा उठाउँदै गुन्डा, ट्यापे, गजडी, फर्स्टेटहरू रातारात  स्वघोषित नेता बनेको देख्नुपरिरहेको छ । गाली-गलाैजबाहेक अन्य योगदान र योग्यता नभएकाहरू छाती फुलाएर देश हाँक्न टुँडिखेलमा देखापरेका छन् । मानाैँ यो देशको विराशत तिनीहरूले नै धान्दै आएको  हो, यो देश तिनहरूको मात्रै हो र देशको चिन्ता तिनीहरूलाई मात्रै छ । जे भए पनि जेन्जी विद्रोहले राजनीतिक सिद्धान्त र नेतृत्वबिना हुने आन्दोलनबाट समाधान भन्दा अन्याैलता र जटिलता पैदा हुने रहेछ भन्ने कुरामा थप पुट मिलेको छ । यस्ता आन्दोलन  प्रत्यक्ष नेताको नेतृत्वमा हुनुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ ।

किन भो यस्तो ? 

पटकपटक  राजनीतिक परिवर्तन भए पनि जनअपेक्षाअनुसार काम हुनसकेन । फुट, सत्तालिप्सा, कुशासन, अस्थिरता, सत्ता र शक्तिको आडमा हुने राज्यदोहन, नेताहरूबिचको इगो र झगडाले दलहरूप्रति नै नकारात्मक धारणा विकास हुँदै आयो ।  राणा शासनको अन्त्यदेखि गणतान्त्रिक सरकारसम्म आइपुग्दा पनि जनजीविका समस्याहरू हल हुन सकेनन् । न आर्थिक समृद्धितर्फ मुलुकलाई डोर्‍याउन सकियो न सामाजिक न्याय भयो । न सुशासन र पारदर्शिता कायम भयो । न जनताले आधारभूत स्वास्थ्य सेवा, शिक्षा पाए । बरू पटकपटक सत्ताभित्रै रहेर शक्तिको दुरुपयोग गरियो । यो यथार्थ त थियो । यो शासक- प्रशासकहरूबाट पटकपटक भएकाे कमजोरी, बेइमानी थियो तर यसबिचमा भएका कतिपय राम्रा काम पनि थिए । ती कामहरूको प्रचार हुन सकेन ।अधिकाँश सञ्चार माध्यम र सामाजिक सन्जालहरूबाट पनि यस्ता राम्रा काम र सकारात्मक विषयभन्दा दल, नेता, प्रशासकका अनेक कमीकमजोरीलाई मात्रै औँल्याउँदा नागरिकमा सबैप्रति थप वितृष्णा, असन्तुष्टि पैदा हुँदै गयो । निराशा बढ्यो । यसैको योगफलका रुपमा  जेन्जी विद्रोही भयो । 

अब के गर्ने ? 

अब राजनीतिक कोर्स  फेरिएको छ । जेञ्जी भूकम्पले सबै राजनीतिक दलहरूमा पराकम्प त ल्याइदिएको छ तर पनि दलहरू गम्भीरताका साथ सच्चिएर अगाडि बढ्न सकेको पाइएको छैन । पुराना दलका नेताहरू घुमाईफिराई आफैँ शक्तिको मियोमा रहने प्रपञ्चमै छन् । अधिकाँश प्रशासकमा अझै डर पैदा भएको छैन । थप जिम्मेवारीका साथ राष्ट्र र नागरिकप्रति समर्पित हुन खोजेको देखिएको छैन । त्यसैले अब  दल, सबै पेशा- व्यवसाय, विभित्र जिम्मेवारीमा रहेकाहहरूदेखि नागरिकहरूसम्मले पुरानो बाटो हैन नयाँ बाटो, पुरानाे  हैन नयाँ सोच लिएर अगाडि बढ्नुको विकल्प छैन । दलहरूले आपसमा मिलेर राजनीतिक सहमति कायम गर्दै जेन्जी विद्रोहले उठाएका मागलाई पूरा गर्ने र दलहरू सच्चिएर अगाडि नबढ्ने हो भने मुलुक  झन् द्वन्द्वमा जानेछ । जेन्जीहरूले पनि देशको भू-राजनीतिक अवस्थाको ख्याल गर्दै थप संयमित भएर अगाडि बढ्नुपर्छ । देशलाई 'जेलिनेस्की' हरूको हातमार्फत विदेशीहरूको रणभूमिमा पुर्याउनबाट जोगाउनुपर्दछ । किनकि राष्ट्र नै नरहे के, को रहन्छ र  यहाँ ? राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेजस्तै, 

‘नेपाली हामी रहाैँला कहाँ नेपालै नरहे’

टिप्पणीहरू