सडकको ठेक्कामा अनियमितता,आठ जनाउपर मुद्दा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल भ्रष्टाचारमा तानिएका छन् । सडक निर्माणको ठेक्कामा बदनियत गरेको आरोपमा उनीसहित आठ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो ।
मुद्दा चलाइएकामा तत्कालिन इन्जिनियर कर्णबहादुर कार्की,प्रशासकीय अधिकृत हिराचन्द्र धराला,शिक्षा अधिकृत भीमबहादुर थापा,वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा,एमआईसी अपरेटर हरिचन्द्र विष्ट,बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ र दिव्या निर्माण सेवाका प्रोप्राइटर भीमराज न्यौपाने छन् ।
नगरपालिकाको वडा नम्बर ५,स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७८–०७९ मा बजेट छुट्याएर काम अघि बढाइएको थियो । कानूनअनुसार ठेक्का लगाउन राष्ट्रिय दैनिक पत्रपत्रिकामा सात दिने सूचना निकाल्नुपर्छ ।
तर, उनीहरुको मिलिभगतमा सूचना प्रकाशनमा बदनियतका साथै अन्य कम्पनीलाई अनुत्तिर्ण गरेर बढी रकम कबोल गर्ने दिव्या निर्माण सेवालाई ठेक्का दिइएको अख्तियारको ठहर छ । अख्तियारद्धारा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम ५५ लाख ८९ हजार ६३ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुमाथि कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।
टिप्पणीहरू