हतियार खोज्दा अमेरिका रिसाउने खतरा !

हतियार खोज्दा अमेरिका रिसाउने खतरा !

अघिल्लो साता सुशीला कार्की सरकारका दुई प्रभावशाली मन्त्रीको अन्तर्वार्ता प्रसारित भयो । कान्तिपुरका रूपेश श्रेष्ठलाई समय दिएका गृहमन्त्री ओमप्रकाश अर्यालले एक घण्टा बोले तर केही पनि बोलेनन् । भोलिपल्ट टीकाराम यात्रीको कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले गृहमन्त्रीले भन्न नसकेको कुरा खोलिदिए, ‘लुटिएका हतियारकै कारण चुनाव हुँदैन भन्ने कुरा छैन । ती ठूला हतियार कहाँ कहाँ छन्, त्यसको ‘जीपीएस ट्र्याकिङ’ भइसकेको छ । सुरक्षाकर्मी ती हतियार ‘रिकभर’ गर्ने क्रममा छन् ।’

खनालले अन्तर्वार्ता दिएको मितिकै मध्यरातमा ‘अथेन्टिक डकुमेण्टरी’ नामक एक विदेशी च्यानलले युट्युबमा एउटा नयाँ भिडिओ अपलोड गर्‍यो– ‘द कुङ्गफु नन्स अफ काठमाण्डु !’ यो भिडिओ नागार्जुन नगरपालिकाको ‘सेतो गुम्बा’ का नामले चर्चित ‘ड्रुक अमिताभ मोनाष्ट्री’ का बारेमा रहेछ । सेतो गुम्बा नेपालस्थित तिब्बती मूलका किशोरीहरूको आश्रयस्थल हो । यहाँ आठ वर्षकी बालिकादेखि २२ वर्षका युवतीहरू बिहान र बेलुकी दुई दुई घण्टाको दरले दैनिक चार घण्टा अनिवार्य कुङ्ग फु नामक शारीरिक युद्दकलाको अभ्यास गर्छन् । 

‘नेपालमा तिब्बती भिक्षुणीहरू कुङ्ग फुलाई ध्यान र सशक्तिकरणका माध्यमको रूपमा प्रयोग गर्दैछन् । उनीहरू हिमालयको संरक्षण र जलवायु परिवर्तनको नकारात्मक असरलाई कम गर्न पनि त्यति नै प्रतिबद्ध छन् ‘पश्चिमा दर्शक र दातालाई लक्ष्य गरेर बनाइएको यो भिडियोमा भनिएको छ ! 

यो गुम्बाका डाक्टर भिक्षुणीहरू नेपाली बोल्दैनन् । हिन्दी बोल्छन् । उनीहरू दलाई लामाको निर्वासित सरकारको मुख्यालय भारत, हिमाञ्चल प्रदेशको धर्मशालाबाट यता खटाईएका हुन् । यो गुम्बामा भिडिओ बनाउन आउने अमेरिकी र युरोपेलीहरूलाई अन्तर्वार्ता दिन अर्को समूह तयार रहेछ, जो युरोपमा पढेर नेपाल फर्कियो । यो गुम्बाको सामुदायिक गतिविधि बढेको छ । भिक्षुणीहरू महिनाको दुईपटक छिमेकी रामकोटको अनाथालय पुगेर कापी कलम बाँड्छन् । अथवा कीर्तिपुरको ल्याब स्कूलमा गएर किशोरीहरूलाई स्यानिटरी प्याड बाँड्दै यौन शिक्षाको महत्वबारे छलफल गर्छन् । सेतो गुम्बाका स्वयंसेवकहरू राजधानीका एक निश्चित वर्गको मन जित्न लागेको दश वर्षभन्दा बढी भयो । 

किन खुले यति धेरै गुम्बा ?

सन् १९५९ मा २३ वर्षका तिब्बती धर्मगुरु दलाई लामा भागेर भारत पुगेपछि दक्षिण एशियाको भूराजनीतिक धरातलमा चिरा मात्र परेन, चलखेल गर्न अमेरिकाले नेतृत्व गरेको पश्चिमा गठबन्धनले एक प्रवेशबिन्दू प्राप्त गर्‍यो । त्यो बेलाको नेपालको चिरा आज फैलिएर चीनविरोधी राजमार्गमा परिणत भएको छ । सन् १९५९ देखि १९६० को एक दशक नेपालमा तिब्बतीहरूको अनियन्त्रित प्रवाह भयो । सन् ९० मा भुटानी शरणार्थीको समस्या झैं तीस वर्ष अघि पनि संयुक्त राष्ट्र संघको चलखेलमा नेपाल तिब्बती शरणार्थीहरूलाई अस्थायी रूपले आश्रय दिन तयार भयो । पश्चिमा दाताहरू पैसाको पोका बोकेर आए । नेपालमा पहिलो तिब्बती शरणार्थी क्याम्पको शुरुवात भयो, जावलाखेलमा । 

तिब्बतीहरू जावलाखेलमा मात्र सीमित भएनन् । तत्कालीन सरकारसँग उत्तरबाट छिरेका विदेशीहरूका बारेमा यथोचित सूचना र अभिलेख राख्ने संयन्त्र थिएन । जावलाखेलमा नअटाएकाहरू बौद्ध स्तुप वरिपरि जम्मा हुन थाले । उनीहरूको हातमा पैसा नभए पनि सुन थियो, दुर्लभ प्राकृतिक खनिज र जडीबुटी बोकेर आएका उनीहरूले तत्कालीन नेपाल सरकारका हाकिमहरूलाई दक्षिणा भेटी चढाउन कुनै कञ्जुस्याइँ गरेनन् । 

नौ वर्षको बीचमा हजारौं तिब्बतीले आफ्नो नाम फेरेर कसैले सोलु, कसैले सिन्धुपाल्चोक जिल्लाबाट नेपाली नागरिकता लिए । १९६९ मा लामा थुब्तेन येशे र अर्का रिम्पोछे भनिने व्यक्ति मिलेर तत्कालीन राजदरवारमा जोशी थरका एक ज्योतिषलाई नजराना चढाए । राजदरवारले उनीहरूलाई अहिले कपन गुम्बा रहेको सिंगो डाँंडा किन्ने अनुमति दियो । यो केवल एक शुरुवात थियो । 

सन् १९७० सम्म तिब्बतबाट सम्पत्तिसहित पलायन भएका प्रभावशाली समूहको एक रणनीतिक दल राजधानीको बौद्ध क्षेत्रमा स्थापित भैसकेको थियो । यो समूहले निजी घर र जग्गा मात्र होइन, राजधानी उपत्यका वरिपरीका डाँडामा गुम्बा बनाउन लायक जग्गा जमीनमा आँखा गाडिसकेको थियो । 

सन् १९७६ मा नेपालमा पहिलो र सबैभन्दा ठूलो तिब्बती गुम्बा अस्तित्वमा आयो । कान्यिंग सेड्रव लिंग मोनष्ट्री ! बौद्धको यो गुम्बामा जो कोहीलाई प्रवेश छैन । सन् १९९२ मा बनेको पुलाहरी गुम्बा अझै रहस्यमय छ । सेतो गुम्बामा तिब्बती किशोरीहरूलाई कुङ्ग फुको तालिम अपरिहार्य छ भन्ने कुरा नेपाल सरकारको संज्ञानमा छैन । राजधानी उपत्यकाका काँठ क्षेत्रमा च्याउसरी उम्रिएका अन्य गुम्बाहरूमा के के हुन्छन्, पञ्चायतकालको सरकारले वास्ता गरेको थिएन । संसदीय वा गणतान्त्रिक सरकार ल्हाक्र्याल लामा जस्ता पात्रबाट बिकेको थियो, त्यो लामा जसको फर्जी काम र नक्कली नागरिकताको मात्र सवाल थिएन, उसको बैंकको लकरबाट बन्दुकको गोली नै फेला परेको थियो । तापनि, कांग्रेस, एमाले र माओवादी सरकारले ल्हाक्र्याल लामालाई छानी छानी भनेको ठाउँमा नियुक्ति दिएको धेरै पुरानो समाचार होइन । 

काठमाडौ खाल्डो घेरेर उभिएका डांँडा वरिपरि तिब्बती गुम्बा ठडिनुको अभिप्राय के हो? राष्ट्रिय सुरक्षा नीतिका जानकारहरूलाई चासो हुनुपर्ने हो । एकजना पूर्व रक्षा सचिवलाई सोद्धा उनको सीधा सपाट जवाफ थियो, ‘हामीले यो कुरा बारम्बार उठाएको हो । हाम्रो आफ्नो टेरिटोरीभित्र धर्म वा कुनै पनि नाममा के के हुँदैछ, त्यो जान्ने हाम्रो अधिकार मात्र होइन, जिम्मेवारी पनि हो । यी गुम्बाका बारेमा पनि धेरै पटक कुरा उठेको हो, तर अमेरिका रिसाउँछ भनेर नेताहरू तर्किए।’

राजधानीका काँठमा सञ्चालित यी गुम्बा सानो पैसाले चलेका छैनन् । तर, यहाँभित्र के–के हुन्छ, जानकारी छैन । सरकारलाई जानकारी लिन डर लाग्छ ! यसपटकको कथित जेन जी आन्दोलनमा टिओबी नामक एक दर्जन बुलेट बाईक धारक हुल संसदअगाडि र पछाडि गर्नुको कारण के थियो? लगभग अन्त्य हुन लागेको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक तुल्याउन तिब्बती शरणार्थी किन प्रयोग भए? 

पश्चिमाहरूले चीनविरुद्ध नेपाललाई प्रयोग गरेको यो पहिलोपटक होइन । सरकारले हामीलाई सही इतिहास पढ्न दिएको छैन । त्यसैले जेन जीलाई नेपालको खम्पा बिद्रोहका बारेमा कुनै जानकारी छैन भने त्यो स्वाभाविक हो । 

खम्पा विद्रोह 

सन् १९५९ मा तिब्बत विधिवत् चीनको भएपछि उपद्रो भयो । त्योभन्दा बढी स्वाभाविक त यो थियो कि, अमेरकी खुफिया संस्था सिआइएले आफ्नो चलखेल गर्ने नयाँ भूमि फेला पारेको थियो । सिआइएको आर्थिक र भौतिक सहयोगमा मुस्तांगबाट चीनविरुद्ध सशस्त्र अभियान शुरु भयो । एक दशक चलेको छिटपुट घटनाले चीन अत्तालिएन । १९७० मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चिनियाँ नेता माओ त्सेतुङसँग हात मिलाएपछि परिस्थितिले नयाँ मोड लियो । सन् १९७२ मा नेपालमा नयाँ राजा बीरेन्द्र सत्तामा आए । चीनले सहेर बसेको थियो, तर नेपालले चीनविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिएको कुरा उसलाई चित्त बुझेको थिएन । निक्सन र माओको मिलनपछि सिआइए खम्पा विद्रोहीलाई गरिआएको परम्परागत सहयोग कटौती गर्न बाध्य भयो । 

सन् १९७४ सेप्टेम्बरमा नेपाली सेनाले खम्पा बिद्रोहीहरूलाई घेरा हाल्यो । हजारौंले आत्मसमर्पण गरे । तर, खम्पा नेता ग्यालो वाङ्ग्दी भारत भाग्ने प्रयास गर्दागर्दै दार्चुलाको टिंकर भन्ज्याङमा मारिए । चीन र नेपाली राजदरवारको स्नेह, आत्मीयता र विश्वास त्यहीबेलादेखि झांगिएको हो ।

नेपालमा जेनजी नामक पश्चिमा रंगीन क्रान्तिको खरानी सेलाएपछि चीनले जमानामा कहलिएका बफादार दरवारिया जर्नेल विवेक शाहलाई गत हप्ता किन बोलायो ? उनीसँगै राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा पनि किन चीन गए ? भदौ २४ मा लुटिएका हतियार राजधानीका कुन ठाउँमा लुकाईएका छन् भन्ने कुरा के नेपाल सरकारलाई थाहै नभएको हो ? 

होइन । पहिले थाहा थियो । अहिले पनि छ । तर, इतिहास अर्कै छ । थाहा हुनेले काम गर्न पाएका छैनन् । यी गुम्बाका गतिविधिबारे बढी खोजी गर्ने गृह मन्त्रालयका कर्मचारीलाई निशाना साँधेर विदेशमा तालिम लिन जाने अवसरबाट वञ्चित गरियो । जसले गुम्बा विकास समितिबाट आएका प्रस्तावलाई द्रुतमार्गबाट सकारात्मक परिणाम दिलाए, उनीहरूको पदोन्नति पनि त्यसै रफ्तारमा भयो । पञ्चायतकालबाट शुरु भएको यो प्रथा संसदीय प्रजातन्त्र हुँदै गणतन्त्र स्थापित हुँदासम्म यथावत् रह्यो । स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि, कर्मचारी र स्थानीय प्रहरी चौकीका हाकिमहरू समेत यी गुम्बाका आर्थिक सौजन्यको बोझले थिचिएका थिए । 

सुरक्षा निकायका मेरा पुराना साथी संगातीको एकमत छ, – संसद, सर्वोच्च अदालत होस् वा सिंहदरवार, यी ठाउँमा पहिलो झिल्को बाल्नेमा तिब्बती मूलका तालिम प्राप्त युवाहरूको भूमिका रहेको देखियो । यिनीहरू रातारात तिब्बतबाट आएका होइनन् । राजधानी वरिपरि बसेर कुनै संकेतको प्रतीक्षामा थिए । नेपाल प्रहरी यसबारेमा जानकार मात्र होइन, ऊसँग जेन जी विध्वंशमा तिब्बती शरणार्थीको घुसपैठको प्रमाणसमेत छ । तर, प्रहरी लाचार छ । जसले गुम्बामा तालिमप्राप्त दस्तालाई ‘आन्दोलनमा’ घुसपैठ गरायो, नयाँ सरकार पनि उसैले बनाइदिएको छ । 

एक रिटायर्ड डिआइजीले मलाई भनेअनुसार, अहिले नेपाल प्रहरीको अवस्था ‘चुलेसी र फर्सीको लडाइँजस्तो भएको छ ।’ आइलागे पनि घाइते, जाइलागे पनि घाइते ! आफ्ना मालिकको अवज्ञा गरेर ‘चाहिनेभन्दा बढी‘ प्रोफेसनल हुन अहिले प्रहरीलाई छुट छैन । ‘जसको बलमा सरकार बनेको छ, उसैको गुम्बामा हतियार खोज्न पठाउने आँट छ यो सरकारको? मलाई त शंका छ । सबैलाई आफ्नो स्वार्थ प्यारो हुन्छ । नेपाल जुन अवस्थामा छ, यहाँ ‘रिस्क लिने मान्छे छैनन् !’ 

नेपालका शासकको एउटा सदाबहार पीडा छ, उहिले अमेरिका रिसाउँछ भन्ने डर थियो । अहिले पनि अमेरिका रिसाउँछ नै भन्ने डर छ । सातसय बढी स्थानीय पालिका प्रमुखमध्ये एउटा केटो कालो चश्मा लगाएर प्रधानमन्त्रीलाई ‘डिक्टेट‘ गर्न सक्छ । कालो चश्माका भक्तहरूलाई आँखा चिम्लिने छुट छ तर कालो चश्मा मालिकको काखबाट झरेको दिन उसको टेक्ने ठाउँ दुष्कर हुनेछ । त्यो दिन आउँदैछ ।  सेनाले बालेनलाई, अनि बालेनले सेनालाई देखाउने नाटकको पर्दा चाँडै खस्नेछ । 

(जनआस्था साप्ताहिकको कात्तिक १९ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू