कमाउन मात्रै लागेपछि वकिललाई कारागार
एकदिन वकिलकहाँ पुग्दा कार्यालय बन्द भएको र वकिललाई जेल सजायँ तोकिएको खबर सुनेँ ।
कमनवेल्थ देशबाट बसाइँ सरेर स्थायी बसोबास गर्ने कानुन व्यवसायीले एउटा सामान्य परीक्षा उत्तीर्ण गरेर बेलायत (इंग्ल्याण्ड एण्ड वेल्स) मा काम गर्न पाउँछन् । त्यसैले भारत, पाकिस्तान, श्रीलंकालगायत देशका धेरै कानुन व्यवसायीले कार्यालय खडा गरेका छन् । तीमध्ये अधिकांशले आप्रवासनसम्बन्धी मुद्दाहरूमा काम गर्छन् ।
म बेलायत पुगेपछि आप्रवासनसम्बन्धी निवेदन दर्ता गर्न एकजना श्रीलङ्काली कानुन व्यवसायीकोमा पुगेँ । उनले सामान्य विवरण लिएर एउटा कागजमा दस्तखत गर्न लगाए र बाँकी काम आफैले गरे । सम्भवतः त्यो ‘राइ एण्ड को’ नामक फर्म थियो । लामो समयसम्म मुद्दाको सुनुवाइ (हियरिङ) नभएका कारण वकिललाई बारम्बार भेट्नुपरेन । पछि मेरो मुद्दाको पालो आएर वकिल खोज्न जाँदा उनको कार्यालय बन्द थियो ।
आफूसँग पैसा नहुनेहरूले वैतनिक कानुन व्यवसायी (लिगल एड) पाउने व्यवस्था छ । तिनले यही सहायताको दुरूपयोग गरी एकै व्यक्तिका धेरै निवेदन दर्ता गरेर ठूलो रकम कमाएको प्रमाणित भएछ । अन्ततः उनको सम्पत्ति जफत गरियो, ठूलो रकम जरिवाना तिराइयो र केही वर्षको कारागार सजायँ तोकियो ।
बेलायतमा कानुन व्यवसायीहरू (सोलिसिटर र ब्यारिस्टर) लाई उच्च स्तरको व्यावसायिक आचरण पालना गर्न कानुनी र नैतिक रूपमा बाध्य गरिएको छ । तर, जब उनीहरूले आफ्नो जिम्मेवारी ठीकसँग पूरा गर्दैनन् वा कानुनी प्रक्रियामा लापरवाही गर्छन्, यसले नागरिकलाई गम्भीर असर पार्छ, जसले गर्दा कानुनी अधिकार गुम्ने, आर्थिक नोक्सानी हुने, भावनात्मक तनाव र मानसिक पीडा झेल्नुपर्ने अवस्था आउँछ । आप्रवासन मुद्दामा लापरवाहीका कारण धेरैले बसोबासको अधिकार गुमाएका छन् वा देशनिकाला भोगेका छन् । व्यक्तिगत क्षतिपूर्ति दावीमा प्रमाण संकलन नगर्ने वा समयमा मुद्दा दर्ता नगर्ने गर्दा पीडितहरू मुआब्जाबाट वञ्चित भएका छन् ।
यस्ता लापरवाही बारम्बार दोहोरिएमा जनताको न्याय प्रणालीप्रति विश्वास गुम्ने खतरा हुन्छ । लापरवाहीका उदाहरणमा गलत कानुनी सल्लाह दिनु, समयमा मुद्दा दर्ता वा प्रतिवाद नगर्नु, आवश्यक कागजात पेश नगर्नु, वा ग्राहकसँग समयमा सम्पर्क नराख्नु आदि पर्छन् । त्यस्ता व्यवहार आफ्नो पक्षका ग्राहकसँग मात्र सम्बन्धित नहुन सक्छन् । कतिपय अवस्थामा यसले सरकारलाई समेत ठूलो घाटामा पुर्याउन सक्छ । सरकारी सुविधालाई गलत ढंगबाट प्रयोग गरेर व्यक्तिगत फाइदा पुर्याउनेहरू पनि यही वर्गमा पर्छन् ।
बेलायतमा कुनै सोलिसिटर वा ब्यारिस्टरले अनैतिक, गैर–पेशागत, वा गैरकानुनी कार्य गरेमा वा सेवामा लापरवाही देखाएमा, छानबिन र कारबाहीका लागि विशेष नियामक निकायहरू छन् ।
वकिलले आफ्नो लाइसेन्स खारेज भइसकेपछि पनि अवैध रूपमा आप्रवासनसम्बन्धी सल्लाह दिँदै १९ जनालाई ठगी गरेको प्रमाणित भयो ।
सोलिसिटर र ब्यारिस्टर दुवै कानुन व्यवसायी हुन्, तर उनीहरूको भूमिका, तालिम, र जिम्मेवारी फरक छन् । सोलिसिटरहरूले मुख्य रूपमा ग्राहकसँग सिधा सम्पर्क राख्छन्, कानुनी सल्लाह दिन्छन्, कागजात तयार गर्छन्, र सम्झौता वा वार्तालापमा सहजीकरण गर्छन् । ब्यारिस्टरहरू भने अदालती कारबाहीमा केन्द्रित हुन्छन्, जस्तै बहस गर्ने, जटिल कानुनी तर्क प्रस्तुत गर्ने, र उच्च अदालतहरूमा प्रतिनिधित्व गर्ने ।
बेलायतमा कानुन व्यवसायीहरूमाथि प्रत्येक वर्ष अनुशासनात्मक कारबाही हुन्छ तर अभ्यास अनुमति (लाइसेन्स) गुमाउनेहरूको संख्या भने कम छ । सन् २०२३–२०२४ मा ७८ सोलिसिटरलाई प्रतिबन्ध लगाइँदा ५९ कानुनी फर्म बन्द भए । सन् २०२१ मा ४९ र सन् २०२२ मा ९ गम्भीर मुद्दामा ६३ सोलिसिटरलाई अभ्यासबाट हटाइयो र १३ जनालाई निलम्बन गरियो । बारले वार्षिक करिब दुई हजार उजुरी प्राप्त गर्छ तर १ प्रतिशतभन्दा कममाथि मात्र गम्भीर कारबाही भएको पाइन्छ । २० भन्दा कम ब्यारिस्टरको अभ्यास अनुमति रद्द हुने गरेको देखिन्छ ।
वकिलहरूलाई कानुनका ज्ञाता र नैतिक मानकका प्रतिनिधि मानिने भएकाले, अदालतले उनीहरूको अपराधलाई गम्भीरतापूर्वक लिने गरेको छ । सन् २०२२ मा वकिल टिमोथी स्कूल्सलाई कानुनी सहायता प्रणाली दुरूपयोग गरी ३२० मिलियनभन्दा बढी (साढे तीन अर्ब नेपाली रूपैयाँ) अनियमित रूपमा लिएको आरोपमा १४ वर्षको जेल सजायँ दिइयो । त्यस्तै, २०१९ मा वकिल एलन ब्लाकरले झूटो उपाधि र परिचय प्रयोग गरेर अदालतलाई झुक्याएको आरोपमा कारबाही भोग्नुपर्यो ।
बर्मिंघमका सोलिसिटर राजिन्दर सिंह बठले ग्राहकको ट्रस्ट फण्ड दुरूपयोग गरेर तीन वर्ष जेल सजायँ पाए भने लिड्सका वकिल मोहम्मद अयुबले झूटा आप्रवासन दस्तावेज प्रयोग गरेको कारण दुई वर्ष जेल सजायँ भोगे । त्यसैगरी, अधिवक्ता र अर्धकालिक आप्रवासन न्यायाधीश रासिब घाफ्फरले झूटा कानुनी बिल प्रस्तुत गरी सरकारले दिने कानुनी सहायता रकमबाट ३१.८ मिलियन ठगेका थिए, जसका लागि तीन वर्ष जेल सजायँ सुनाइयो । नरफोकका वरिष्ठ सोलिसिटर ह्यु लान्सडेलले क्लाइन्ट ट्रस्ट खाताबाट ३२ मिलियनभन्दा बढी रकम निकालेर व्यक्तिगत रूपमा खर्च गरेपछि चार वर्ष जेल सजायँ पाएका थिए ।
फ्लोरा मण्डेस नामक वकिलले आफ्नो लाइसेन्स खारेज भइसकेपछि पनि अवैध रूपमा आप्रवासनसम्बन्धी सल्लाह दिँदै १९ जनालाई ठगी गरेको प्रमाणित भयो र ७ वर्ष ६ महिनाको जेल सजायँ, सात लाख पाउण्डभन्दा बढी सम्पत्ति जफत गरियो । त्यस्तै, ब्यारिस्टर ब्रुस हाइम्यानले पितृत्व विवादमा अर्को पक्षलाई फसाउन झूटा इमेल बनाएर अदालतमा पेश गरेको कारण एक वर्ष जेल सजायँ पाए र लाइसेन्स गुमाए । रिचर्ड लिप्सकम्बले आफूलाई वकिल भनेर अदालतमा झूठो परिचय दिएको पाइएकाले १० महिनाको जेल सजायँ र बीस हजार पाउण्ड (झण्डै ३५ लाख रूपैयाँ) जरिवाना तिराइयो ।
(लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका लेखक श्रेष्ठ नेपालका अधिवक्ता हुन् ।)
टिप्पणीहरू