कस्तो हुने होला अबको आन्दोलन ?
तिहार र छठपछि आन्दोलनको आँधीबेहरी ल्याउने भन्दै दुर्गा प्रसाईले सामाजिक सञ्जालमा जति कराए पनि त्यस्तै अवस्था आउन नसक्ने विश्लेषण गर्न थालिएको छ । जेनजी आन्दोलन सार्थक नभएको, आन्दोलनका नाममा हत्या, लुटपाट, तोडफोड, आगजनी बढेकाले आन्दोलनप्रति सर्वसाधारणको विश्वास धमिलिएको अवस्था रहेकाले यस्तो निश्कर्ष निकालिएको हो । सरकार र पुराना राजनीतिक दल र तिनका नेताप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा सहभागी हुने सर्वसाधारण बाली उठाउन खेतखलिहानमा व्यस्त भएकाले पनि आन्दोलन सोचेजस्तो ठूलो नहुने बताइन्छ । त्यसो त अहिलेको समयलाई आन्दोलनको प्रतिकूलकै रूपमा हेर्न सकिन्छ ।
जेनजी आन्दोलनबाट बनेको सरकार र उसको काम कारवाहीप्रति आन्दोलनकारी नै विश्वस्त हुन सकेका छैनन् भने आन्दोलन नै हामी नेपाल नामक एनजिओले हाइज्याक गरेको अवस्था छ । यसैकारण सर्वसाधारण आन्दोलनप्रति वितृष्णा देखिएको पाइन्छ । अब हुने आन्दोलनमा थरीथरीका राजावादीले भाग लिएर आकार ठूलो बनाए पनि त्यसले खासै उपलब्धि हासिल गर्न नसक्ने विश्लेषण गरिएको छ । यस्तो विश्लेषणको मुख्य आधार गणतन्त्रसँग असन्तुष्ट भएकाहरूको संख्या वृद्धि पनि हो । चैत १५ गते एक सयभन्दा बढी राजावादी पक्राउ पर्दा तीमध्ये थोरै विरुद्ध मात्रै मुद्दा चलाइएको थियो ।
आउँदा दिनमा हुने आन्दोलनको स्वरूप र नेतृत्वकर्ता कस्ता हुनेछन् भन्ने कुरा ठम्याउन गाह्रो छ । सर्वसाधारणदेखि पार्टी कार्यकर्ताहरूसम्म असन्तुष्टि बोकेर हिँडेका छन्, राजावादी र संघीयता अनि गणतन्त्रविरोधी त्यसै असन्तुष्ट हुने नै भए । धेरैलाई पद, प्रतिष्ठा र पैसा चाहिएको अवस्था छ । जेनजी आन्दोलनका क्रममा घाइते भई उपचारत कसैलाई राजा, कसैलाई राष्ट्रपति, कसैलाई प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिएको अवस्था छ । सबैजसो घाइतेको आ–आफ्नै विचार देखिन्छ । त्यसैले अब हुन सक्ने आन्दोलनमा को कसरी प्रदर्शन कसरी ओर्लिन्छ भनेर ठम्याउन गाह्रो पर्नेछ ।
टिप्पणीहरू