गाेली खाएर मर्ने एउटा, मन्त्री खाने अर्को !
नेपालीमा एउटा उखान छ, ‘काम गर्ने कालु, मकै खाने भालु ।’ यो उखान जेनजीसहित परिवर्तनको नाममा हालसम्म भएका आन्दोलनसँग ठ्याक्कै मेल खान्छ । जनताका छोराछोरीको रगत बगाएर स्वार्थी समूहले सधैं मौकाको फाइदा उठाउँदै आएका छन् । राजनीतिक परिवर्तनका नाममा बारम्बार आन्दोलन भयो । विडम्बना, ती आन्दोलन बाठाटाठाका लागि सत्ता चढ्ने भर्याङ मात्र बन्यो । राणा शासनविरुद्ध वि.सं.२००७ सालमा आन्दोलन भयो । त्यसयताको सात दशकमा पनि पटक–पटक राजनीतिक परिवर्तनका निम्ति आन्दोलन भएको छ । २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन, २०५२ सालदेखि १० वर्ष माओवादी विद्रोह, २०६२–६३ सालमा जनआन्दोलन ।
हरेक आन्दोलनमा जनताका छोराछोरीले ज्यान दिएका छन् । माओवादी विद्रोहमा १७ हजारको ज्यान गएको छ । घाइते र बेपत्ता हजारौंको संख्यामा छन् । तर, ती पीडित परिवारका न कुनै सदस्य सत्तामा पुगे न कुनै अवसर नै पाए । अहिले फेरि पनि त्यहीँ नियति दोहोरिएको छ । भदौ २३ र २४ गते भ्रष्टाचार अन्त्य र सुशासन कायमका निम्ति जेनजी आन्दोलन भयो ।
स्कूल र कलेजको ड्रेसमा ब्याग बोकेर आन्दोलनमा आएकाहरू गोली लागेर मरे । २२ जनाको मृत्यु र हजारौं घाइते भएको आन्दोलनले मुलुकमा सत्तापलट गरायो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । हालसम्म १० सदस्यीय मन्त्रिपरिषद् गठन भएकोमा एक जना पनि मृतक र घाइते परिवारबाट छैनन् ।
देशको लागि गोली खानेमा अधिकांश दुर्गभ भेगका र हुँदा खाने परिवारका छन् । सुनौलो भविष्यको सपना देखेर काठमाडौं आएकाहरू गोली खाएर मर्दा पदमा पुग्नेहरू शहरिया र सस्तोलोकप्रियतामा रमाउने व्यक्ति छन् । मैदानमा नआएपनि सामाजिक सञ्जालमार्फत भीडलाई उक्साएकाहरूले सरकारमा भाग पाउँदा आन्दोलनमा ज्यानको बलिदान नै दिएका परिवार भने यसपटक पनि हेरेको हेर्यै भएका छन् । हाल मन्त्री बनेकाहरू राज्यको कुनै न कुनै निकायमा काम गरिसकेका र सेवासुविधा पाएकै व्यक्ति हुन् ।
- मिलन थापा
टिप्पणीहरू