दोषी देखिए प्रचण्डलाई पनि नछोड्ने रेडफोर्सको दाबी
जेन जी रेडफोर्सको नाममा संगठित माओवादी कार्यकर्ताहरूले आफ्नो पार्टीभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गरेको छ ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनकी संयोजक स्मृति तिमिल्सिनाले यस्तो माग अघि सारेकी हुन् । माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले छानविन हुनुपर्नेमा जोड दिइन् ।
छानविनका क्रममा दोषी देखिएमा पार्टीका संयोजक पुष्षकमल दाहाल प्रचण्डलाई पनि जेल हाल्नुपर्ने तिमिल्सिनाको भनाई छ । रेडफोर्सले भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउनले पनि उनले बताएकी छन् ।
देश अब जेन जी रेडफोर्सले मात्रै बनाउनसक्ने दाबी गर्दै तिमिल्सिनाले भनिन्, ‘माओवादी केन्द्रमा भ्रटाष्चार नै छैन, भन्दिन म । भ्रष्टाचार छ, त्यो भ्रष्ट्राचारलाई यो सरकारले छानविन गरोस् र गल्ती देखिएको खण्डमा उनीहरुलाई दोषी देखिएमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाईहरुले जेल हाल्न सक्नुहुन्छ, यदी उहाँ दोषी देखिनुहुन्छ भने । रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाथ गरेर आवाज उठाउँछ । रेडफोर्सले देशका कुनैपनि भ्रष्टाचार सहनेछैन ।’
रेडफोर्सले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञहरू सम्मिलित मन्त्रिपरिषद्, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा आफूलाई उभ्याएको छ । सबै भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रको नेतृत्व तथा पदाधिकारी खुला प्रतिष्पर्धाबाट हुनुपर्ने, उच्चपदस्थ सबै व्यत्तिहरुको सम्पत्ति छानविन गरिनुपर्ने, सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुनुपर्ने, बन्द अवस्थामा रहेका उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने लगायतका माग पनि अगाडि सारेको छ ।
जेन जीको नाममा अनेक समूह सतहमा प्रकट भैरहँदा माओवादी केन्द्रका युवाहरूले केही समयअघि जेन जी रेडफोर्स गठन गरेका थिए । माओवादीमा आवद्ध युवाहरूले सामाजिक सञ्जालमार्फत स्वतस्फुर्तरूपमा गठन गरेको यो संगठनलाई सातै प्रदेश र ७७ वटै जिल्लामा विस्तार गर्ने योजना संयोजक तिमिल्सिनाले अघि सारेकी छन् ।
उनले रेडफोर्स माओवादीको मात्रै नभएको बताउँदै वामपन्थी, कम्युनिष्ट विचारधारा मन पराउने सबैलाई जोडिन आग्रह गरिन् ।
टिप्पणीहरू