पुटिनसँगको भेट रोकेर ट्रम्प चिनियाँ राष्ट्रपतिसँग कुराकानी गर्दै

पुटिनसँगको भेट रोकेर ट्रम्प चिनियाँ राष्ट्रपतिसँग कुराकानी गर्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने भएको छ। भेट आगामी अक्टोबर ३० मा दक्षिण कोरियामा हुने जनाइएको छ ।

दक्षिण कोरियामा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलन हुँदैछ। उक्त सम्मेलनमा सहभागी हुने क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग ट्रम्पले औपचारिक भेटवार्ता गर्ने ह्वाइट हाउसले जनाएको छ।

भेट वार्तामा द्विपक्षीय व्यापार, ऊर्जा सहकार्य, युक्रेन युद्धलगायत क्षेत्रीय र विश्व राजनीतिबारे कुराकानी हुने आकलन छ । ट्रम्प र सीबीचको आसन्न भेटलाई वाशिङ्टन र बेइजिङबीच बढ्दो आर्थिक र भू–राजनीतिक प्रतिस्पर्धाबीच संवादको अवसरका रूपमा हेरिएको छ। भेटवार्ताले एसिया–प्रशान्त क्षेत्रमा शक्ति सन्तुलनका मुद्दामा नयाँ संकेत दिने बताइएको छ ।​​​​​​

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गतसाता भेटवार्ताको तयारी गरेका थिए। तर अमेरिकी प्रशासनले युक्रेनमाथि रूसी आक्रमण जारी रहँदा त्यस्तो भेटले ‘असामयिक र अनुचित सन्देश’ दिन सक्ने जनाउँदै कार्यक्रम स्थगित गरेको थियो । 

अमेरिका–रुसबीचको सम्बन्ध पछिल्ला वर्षमा युक्रेन युद्ध, ऊर्जा नीति र परमाणु हतियार नियन्त्रणसम्बन्धी मतभेदका कारण तनावपूर्ण बनेको छ ।

टिप्पणीहरू