ज्वाइँ साहेब, यस्तो बेला हजुर कता हो ?

ज्वाइँ साहेब, यस्तो बेला हजुर कता हो ?

ज्वाइँ साहेव कता हो ? ससुरा बचाउन गएनौ । डिआइजिपीको फुली लगाएको के काम ? हेडक्वार्टर बस्यो, अरुको कुरा काट्यो । साला घुसखोरी ।

माथिको फेसबुक स्टाटस सि.सं. २ नम्बरबाट सशस्त्र प्रहरीमा इन्स्पेक्टरको जागिर शुरु गरेका तर नियतवस अन्यायमा पारिएपछि जागिर छोडी बेलायत पलायन भएका कुलदिप खातीले सहकर्मी एक जना डिआइजीप्रति रोष प्रकट गर्दै लेखेका हुन् । उनले डिआइजी दिपेन्द्र कुँवरप्रति लक्ष्यित गरेको प्रष्टै बुझिन्छ । कुँवर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाका भतिजा भानु देउवाका बहिनी–ज्वाइँ हुन् । त्यसैका आधारमा कुँवरले सहकर्मी र प्रतिस्पर्धीहरूलाई पछि पार्दै आएका छन् । एसपी हुँदा ११ नम्बरमा रहेका उनलाई एसएसपी बनाउन रातारात नम्बरमा तानिएको थियो । सँगैका ब्याचीहरू एसएसपी हुन नपाउँदै उनले डिआइजीको फुली लगाउन सफल भएका थिए । कार्यक्षमता र दक्षताको बदला नाताले स्वाट्टस्वाट्ट तानिएकालाई आइजीपी बनाउने योजनाअनुरूप तानिएको हो । 

गिरीमात्र होइन कुँवरलाई काखी च्याप्दा पाखा पारिएका उनकै व्याचीमा मणिजंग हमाल, वीरसिंह साहु, डिएसपी दुर्गेश थापालगायत आधा दर्जन अहिले विदेशमै रमाइरहेका छन् । र, आफूप्रति अन्याय गर्नेहरूलाई जेनजीले गोदेका बखत फेसबुक स्टाट्स लेख्दै आएका छन् । हल्चोकको प्रवन्ध शाखामा वर्षौंवर्ष बसेर कुँवरले करोडौंको सम्पत्ति जोडेको चर्चा हुने गरेको छ । उनले केही नेतालाई गाडीसमेत उपहार दिएको चर्चा छ । 

उता राजनीतिक पहुँचका कारण नेपाल प्रहरीका एसएसपी विश्व अधिकारी पनि फस्दै छन् । पोहोर चैत १५ गतेको राजावादी आन्दोलनमा दुर्गा प्रसाईंले बानेश्वरको अवरोध (ब्यारिकेड) तोडेर हिँडेका बेला प्रहरी कमाण्डर उनै विश्व अधिकारी थिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा त्यही ठाउँको ब्यारिकेड तोड्दा पनि कमाण्डर उनै रहे । गोली चलाउने ठाउँमा चक, डस्टर घोट्ने पात्र उपयुक्त हुनै सक्दैन ।

चैत १५ गतेको आन्दोलनमा त एसएसपी अधिकारी कमाण्ड पोष्टमै बसेका थिएनन् । त्यसबखत काठमाडौंको सिडिओ ऋषिराम तिवारी थिए । पोष्टमा एक पटक झुल्केका अधिकारी ल है म एकछिन निस्कें भन्दै कालो चश्मा लगाउँदै, दुई वटा मोबाइल र सञ्चार सेट बोकेर फोटो सेशन गर्दै हिँडेका थिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको दाहिने हात भन्दै गृहमन्त्री रमेश लेखक र गृहसचिवहरू समेतलाई टेर्दैनथे । गाडीबाट झरेर परिस्थिति हेर्दै पोजिशन लिने र तर्साउने गरी ताक्ने, त्यसपछि मात्रै ग्याँस सेल हान्नुपर्नेमा उनको कमाण्डमा खटिएको टोलीले गाडीबाट आन्दोलनकारीतर्फ ग्याँस सेल पड्काइदिएका थिए । जसको परिणाम जेनजी आन्दोलनमा देउवा दम्पतीले कुटाइ खाएर मूल्य चुकाउनुपर्‍यो । 

प्रहरीमा १६ वर्षदेखि जागिर शुरु गरेकाहरू डिएसपी हुन सकेका छैनन् । आफ्ना नातेदारहरूलाई भने एकल बढुवा गरी एआइजी बनाइएको छ । एआइजी बन्नेले पनि जग्गा बेचेर रकम बुझाएको चर्चा विभागभित्रै हुने गरेको छ । देउवा दम्पतीको कुटाइ प्रकरण फौजमा तजविजी अधिकार प्रयोग गरी काविलहरूलाई पाखा लगाउनुको परिणाम पनि भएको प्रष्ट छ ।

(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू