नीलो र सेतो पहिरन पछाडिका जीवनदाताहरु जो, रुन बाध्य छन्
बाहिरबाट हेर्दा अस्पतालमा काम गर्ने नर्सहरुको जीवन जति झकिझकाउ र सुन्दर देखिन्छ,यथार्थमा भने उनीहरूको अवस्था त्यस्तो पाइँदैन । निजी अस्पतालमा कार्यरत नर्सहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत पाउन सकेका छैनन् ।
१० लाखसम्म लगानी गरेर नर्सिङ पढ्यो, तर तलबसुविधा भने सामान्य कामदारको जति पनि नभएको भन्दै चितवनका नर्सहरूले गुनासो पोखेका छन् । यहाँका निजी अस्पतालहरूले मासिक १२ देखि १४ हजार मासिक तलबमा काम गर्न बाध्य पारेको भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।
सरकारी अस्पतालमा नर्सको तलब मासिक ३५ हजारसम्म रहेको छ । सरकारले तोकेअनुसारकै तलबसुविधा पाउनुपर्ने माग राख्दै निजी अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु आज चौबीसकोठीमा प्रदर्शनमा उत्रिएका हुन् ।
‘सपोर्ट नर्सेस राइट्स, फेयर पे नाउ’, ‘वि क्यान नट पुट प्यासेन्ट फस्र्ट इफ यु पुट नर्सेस लास्ट’, ‘चितवनको ‘नान’ खै ?’, ‘नर्सविनाको अस्पताल शून्य, हक विनाको सेवा दुःखपूर्ण’, ‘वि वान्ट जस्टिस’ ‘सेवा हाम्रो धर्म हो, सम्मान हाम्रो हक हो’ लगायत नारा लेखिएका प्लेकार्ड हात–हात बोकेका नर्सिङ स्टाफ बिहान चौबीसकोठी चोकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिए ।
चितवनका निजी अस्पतालहरूले १२ देखि १६-१७ हजार मासिक तलबमै नर्सहरूलाई अस्पताल सञ्चालकले रातदिन काममा दलाइरहेको यसबाट प्रस्टिएको हो ।
‘बजारका सामान्य कपडा पसलमा काम गर्ने कामदारले नै मासिक १५ हजार तलब पाइरहेका छन् । हामी त एउटा पढेको विद्यार्थी हो नि । हामी पनि आर्मी–पुलिस जस्तै हो । खट्नेबेलामा दशैं-तिहार नभनी घरपरिवार सबै छोडेर हामी खटिराका हुन्छौं । राती भन्यो, दिउँसो, बिहान जतिखेर नि खटिनुपरिरहेको हुन्छ । तर त्यो १५ हजार, १३ हजारले त हुँदैन नि ?’ प्रदर्शनमा सहभागी एक पुरुष नर्सले बताए ।
थोरैमा ८-९ लाख खर्च गरेर नर्सिङ पढ्नुपर्छ । कति कलेजमा होस्टलसमेत अनिवार्य गरिएको विद्यार्थीहरुले बताएका छन् । ‘अहिले कुनै कुनै हस्पिटलले तलब बढाइ पनि राछ, कतिले बढाएकै छैन’, उनले भने, ‘लोकसेवाबाट लडेर आउनेहरुको त पेन्सन पनि हुन्छ ।’
सरकारी डाक्टर, नर्सहरु प्राइभेटमा गएर काम गर्दासमेत उनीहरूलाई केही मार परिरहेको बुझ्न सकिन्छ । माग पूरा नभए काम बन्द गर्ने चेतावनी प्रदर्शनमा आएका अर्का एक नर्सले दिए ।
‘यो दबाबमूलक आन्दोलन हो’, प्रदर्शनमा सहभागी नर्स कविता थापा मगरले भनिन्, ‘सरकारले केही रेस्पोन्स गरेन भने पेनडाउन गर्नुपर्ने पनि हुनसक्छ ।’ चितवनमा हिजोदेखि सकेसम्म बिरामीको सेवा नरोकी काम र आन्दोलन पनि भइरहेको उनीहरूले बताएका छन् ।
भरतपुरको चौबीसकोठीमै छन् अधिकांश प्राइभेट अस्पतालहरू । चौबीसकोठीबाट मालपोतचोक जानेबाटोलाई हस्पिटल रोड नै भनिन्छ । तर, त्यहाँका अधिकांश अस्पताल मापदण्डअनुसार संचालनमा नरहेको अनुगमनका क्रममा फेला परेको छ । कति अस्पतालमा पार्किङको समेत व्यवस्था छैन भने केहीले भनेअनुसारको बेड र सेवा सुविधा दिएका छैनन् ।
एभरेष्ट हस्पिटलअगाडि एम्बुलेन्स सडकपेटीमै चढाएर बिरामी ओसारपसार गरिँदा बाटो हिँड्ने पैदलयात्री छेकिएर बस्नुपर्ने स्थितिप्रति स्थानीय र पैदलयात्रीको लामो समयदेखि गुनासो रहँदै आएको छ ।
टिप्पणीहरू