मातृभूमिबारे सोच्दासोच्दै अस्ताए १०३ वर्षे नोबेल पुरस्कार विजेता

मातृभूमिबारे सोच्दासोच्दै अस्ताए १०३ वर्षे नोबेल पुरस्कार विजेता

चीनका प्रख्यात भौतिकशास्त्री,नोबेल पुरस्कार विजेता तथा चिनियाँ विज्ञान एकेडेमीका सदस्य चेन निङ याङको १०३ वर्षको उमेरमा राजधानी बेइजिङमा निधन भएको छ । 

सन् १९२२ मा आनहुई प्रान्तको हफेईमा जन्मिएका याङले प्राथमिक र माध्यमिक शिक्षा बेइजिङमा प्राप्त गरेका थिए । सन् १९३० को दशकको अन्त्यतिर उनले नेशनल साउथवेस्टर्न एसोसिएटेड युनिभर्सिटीमा भौतिकशास्त्रमा भर्ना भएर सन् १९४२ मा स्नातक उपाधि प्राप्त गरे । त्यसपछि उच्च अध्ययनका लागि संयुक्त राज्य अमेरिका गए र पछि उतै अध्यापनमा सक्रिय रहे । 

सन् १९५७ मा याङलाई भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। उनले अमेरिकी भौतिकशास्त्री रोबर्ट मिल्ससँग मिलेर विकास गरेको याङ–मिल्स गेज सिद्धान्तलाई २०औं शताब्दीको भौतिकशास्त्रको सबैभन्दा महत्वपूर्ण उपलब्धिहरूमध्ये एक मानिन्छ ।

मातृभूमि फर्किएपछि २० वर्षभन्दा बढी समय छिङ्ह्वा विश्वविद्यालयमा अध्यापन गरे । देशमा भौतिकशास्त्रका प्रतिभा विकास, अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान प्रवर्धन तथा नयाँ पुस्ता तयार पार्न महत्वपूर्ण योगदान दिएका थिए ।

सन् २००५ को एक अन्तर्वार्तामा याङले भनेका थिए, ‘म धेरै वर्ष अमेरिका बसेँ, तर मेरो रगतमा बहने संस्कृतिको धारा चिनियाँ नै हो । मेरो आगामी गन्तव्य र मेरो पहिलेको शुरुवात जन्मभूमि नै हो । म भविष्यका विश्वस्तरीय भौतिकशास्त्री कर्णधारहरू तयार गर्न चाहन्छु।’

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू