साँझ पर्दै गएपछि ओलीको रौद्र रुप
नेतृत्व छोड्न चर्को दबाब परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हप्कीदप्की शैलीमा प्रस्तुत हुनुभएको छ ।
तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकको आज समापन मन्तव्य राख्ने क्रममा उहाँ निकै आक्रामक हिसाबले प्रस्तुत हुनुभयो । नेतृत्व पुनर्गठनको पक्षमा बोल्नेहरूप्रति कठोर रुपमा प्रस्तुत उहाँले अझै १८ घण्टा खट्न सक्ने भन्दै पद नछोड्ने शुरुमै स्पष्ट पार्नुभयो ।
'१८ घण्टा अझै खटिन सक्छु,दिमाग तगडा छ, किन छोड्नुपर्यो ?' उल्टो प्रतिप्रश्न गर्दै आफ्नो अनिवार्यता पुष्टि गर्न अखिलका अध्यक्ष डा. सुजन कडरियाको प्रसंग निकाल्नुभयो- 'जेन जीलाई अखिलको अध्यक्ष बनाएको हैन ? खै छोडेर हिंड्यो त !'
आफूले जेन जी आन्दोलन विदेशीको इशारामा भएको भन्दा अरूको किन टाउको दुख्छ ? भन्दै ओली झन चर्किनुभयो । क्रमैसँग एक-एकको जवाफ दिने क्रममा पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रसंग आएपछि थप कड्किनुभयो ।
'उहाँलाई ब्लड क्यान्सर हुँदा पार्टीको तर्फबाट केही खर्च दिउँभन्दा नमान्ने तपाईंहरू नै हैन ? अनि अहिले किन गोहीको आँशु झार्नुपर्यो ?',उहाँको प्रश्न थियो ।
भण्डारीलाई पार्टी राजनीतिमा फर्काउनुपर्ने धारणा राखेका नेताहरूमाथि निकै आक्रोशित देखिनुभयो । सचिव योगेश भट्टराई लगायतका नेताहरूले विद्याको सदस्यता रोक्ने अघिल्लो केन्द्रीय कमिटीको निर्णय सच्याउनुपर्ने मत राखेका थिए । त्यसको जवाफमा ओलीले भन्नुभयो, 'कोही यहाँ विद्या भण्डारीको हिमायती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु । उहाँ अप्ठेरो अवस्थामा हुँदा मैले नै सहयोग गरेको हुँ ।'
मञ्चमा संगै रहेका पदाधिकारीतर्फ हेर्दै झर्किएर विद्या भण्डारी बिरामी भएका बेला सहयोग गर्न प्रस्ताव गर्दा अरूले नमानेको दाबी गर्नुभयो र भन्नुभयो- 'उहाँलाई ब्लड क्यान्सर हुँदा पार्टीको तर्फबाट केही खर्च दिउँभन्दा नमान्ने तपाईंहरू नै हैन ? अनि अहिले किन गोहीको आँशु झार्नुपर्यो ?',उहाँको प्रश्न थियो ।
त्यसक्रममा ओलीले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान अब छलफल र चर्चाको विषय नै नरहेको बताउनुभएको छ । 'विधान महाधिवेशनले टुंग्याईसक्यो,अब चर्चा र छलफल हुनै सक्दैन',यसरी आफ्नो लाइन सुनाउनुभयो ।
दशौँ महाधिवेशनयता केन्द्रीय कमिटी बैठक ओलीको भाषण सुनाउने चौतारीका रुपमा परिणत हुँदै आएको गुनासो व्याप्त रहँदा आज त झन उधुमै भएको अनुभव एक नेताले त्यतैबाट सुनाए ।
टिप्पणीहरू