जेनजीलाई जटिल प्रश्न : नेपालीलाई फर्काउने कि भगाउने ?
बल्लतल्ल विकासको लय समात्दै गरेको मुलुक पुनः खरानीबाट उठ्नुपर्ने भएको छ । आफ्नै सम्पत्तिमा आगो लगाएर जित हासिल गरेको खुशीयाली मनाएका जेनजीमाथि मुलुक बनाउने कि झनै बिगार्ने ? चौतर्फी प्रश्न छ ।
जेनजीले बताएअनुसार उनीहरूको माग भ्रष्टाचारमुक्त र सुशासित मुलुक हो । त्यसैगरी, युवा पुस्ताले देशमै रोजगारीको अवसर पाउनुपर्ने, जागिर खोज्दै विदेश जानुपर्ने अवस्था अन्त्य हुनुपर्ने भन्ने जेनजी आन्दोलनले अनपेक्षित मोड लिँदा विदेशबाट फर्किने होइन, मुलुकमै भएकाहरू पनि जतिसक्दो छिटो बाहिरिने अवस्था सिर्जना भएको छ । आगजनी, तोडफोड र हिंसाले डराएकाहरू विदेश जान कन्सल्टेन्सी र म्यानपावरको चक्कर काट्न थालेका छन् ।
भिसा प्रक्रियाका लागि राजधानीको एउटा कन्सल्टेन्सी पुगेकी महिलाले भनिन्, ‘यहाँ बसेर के गर्ने ? कहिले आन्दोलन, कहिले के ? व्यवसाय गर्न खोज्यो, तोडफोड र आगजनी गर्छन् । गरी खाने अवस्था छैन । छोराछोरी बाहिरै छन्, बरु म त त्यतै जान्छु ।’ त्यसैगरी, अर्कोले छोराछोरीलाई कहिल्यै नेपाल नफर्किन भनेको बताए । ‘मेरा छोराछोरी पनि विदेशमै छन् । मैले त अस्तिको घटनापछि नफर्किनु भनेको छु । मिले म पनि जान्छु’, उनले भने ।
राजधानीकै एक प्रतिष्ठित कन्सल्टेन्सी सञ्चालकका अनुसार आन्दोलनपछि विदेश जान र उतै सेटल हुन खोज्ने अभिभावकको संख्या ह्वात्तै बढेको छ । उनीहरू यहाँ भएको सबै सम्पत्ति बेचेरै उता जान खोजेको ती सञ्चालक बताउँछन् । भन्छन्, ‘युवायुवतीभन्दा तिनका बुवाआमा कसरी विदेश जाने हो भन्दै सोध्न आउँछन् । अधिकांशचाहिँ यहाँ भएको सम्पत्ति बेचेर उतै सेटल हुन खोज्दैछन् ।’
जेनजी आन्दोलनअगाडि युवाहरू उच्च शिक्षा र वैदेशिक रोजगारीका लागि विदेश जान्थे । अभिभावकले पनि सन्तानको सुनौलो भविष्यको सपना देखेर ऋणधन गरी पठाउँथे । हुनेखाने परिवारकाहरु अमेरिका, अष्ट्रेलिया, क्यानाडा, युरोप जान्थे भने आर्थिक अवस्था कमजोर भएकाहरू कमाउनका लागि खाडी, मलेसिया र मिडल इस्टतिर छिर्थे ।
विदेशमा कमाएर, स्वदेशमा आएर सन्तानले केही गरुन् भन्ने अभिभावकको चाहना जेनजी आन्दोलनपछि मर्दै गएको छ । सधैँको अशान्त वातावरण र देशको अवस्थाले अभिभावक सन्तान विदेशमै बसुन् भन्ने अवस्थामा पुगेका छन् । हाल झण्डै करोड हाराहारीमा नेपाली विभिन्न मुलुकमा छन् । अबको केही समयमै सो संख्या ह्वात्तै बढ्ने देखिन्छ । युवा जनशक्ति बाहिर हुँदा गाउँघर रित्तिएको छ । विदेश पलायनले रित्तिदो गाउँ सरकारका निम्ति टाउको दुखाई बनिरहँदा शहर पनि खाली हुने जोखिम बढेको छ । त्यसले विकासमा त गम्भीर असर पर्छ नै साथै मुलुकमा गम्भीर संकट पनि निम्त्याउँछ ।
उक्त आन्दोलनपछि नयाँ ट्रेण्ड शुरु भएको छ– जता छोराछोरी छन्, बुवाआमा पनि त्यतै जाने । जसले जेनजी आन्दोलनको उद्देश्यलाई फेल ख्वाउन लागेको देखिन्छ । पछिल्लो समय देखिएको यो प्रवृत्तिले एउटा गम्भीर प्रश्न उठेको छ–हङकङमा जागिर खाएकाहरू देशको अवस्था देखेर बेलायत सिफ्ट भए । सपरिवार नै बेलायत गएका उनीहरू स्वदेश फर्किएनन् । जेनजी आन्दोलनले पनि त्यही अवस्था निम्त्याएको छ । युवालाई स्वदेश फर्केर देशका लागि केही गर्न आकर्षित गर्नुको साटो तिनका अभिभावकलाई समेत लखेट्न लागेजस्तो हुँदैछ ।
यता, स्वदेश फर्किएर व्यवसाय गर्ने सोच बनाएकाहरू पनि धर्मराएका छन् । व्यवसायीहरू आन्दोलनकारीको टार्गेटमा परिरहेकाले उनीहरू मुलुक फर्किनै डराएका हुन् । बरु, जतिसक्दो छिटो यहाँ भएको घरजग्गा पनि बेचेर उतै लैजान खोजिरहेका छन् । नेपालमा ज्यान र लगानी दुवै सुरक्षित छैन भन्ने निश्कर्षमा नेपालीहरू पुगिरहँदा यसले मुलुकलाई आर्थिक रूपमा ठूलो क्षति पुर्याउने जानकारहरू बताउँछन् । नेपालको अर्थतन्त्र रेमिट्यान्समा आश्रित छ । परिवार नै विदेश भएपछि कसले रेमिट्यान्स पठाउने ?
अर्कोतर्फ, विदेशमा भएका मात्र नभई यहीँ व्यवसाय गरी बसेकाहरू पनि लगानी गर्न हिच्किचाएका छन् । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँको चैत १५ गतेको आन्दोलन होस् या जेनजीको, निजी व्यवसाय निशानामा परेका छन् । दुवै आन्दोलनमा भाटभटेनीमा क्षति पुर्याइयो । राजावादी आन्दोलनमा लाखको क्षति भएकोमा जेनजी आन्दोलनमा खर्बौंको नोक्सानी पुगेको छ ।
हिल्टन होटल जलाएर खरानी बनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोले बेलारुसमा बस्दा तेल बेचेर कमाएको पैसाले बनाएको घर जलाइएको छ । उनको मेडिसिटी अस्पताल, सानिमा बैंक र सानिमा हाइड्रोमा समेत क्षति पुर्याउन खोजियो ।
अरुको देशमा दिनरात नभनिकन कमाएको पैसाले देशमै केही गर्छु भनेर फर्किएकाहरूको सम्पत्तिमा यसरी आगो लगाइँदा विदेशमा भएका अन्य नागरिक के सोचेर फर्किने ? अलिकति कमाएको वा रमाएको देख्नेबित्तिकै आगो लगाइदिने भएपछि दुःखजिलो गरेर कमाएको सम्पत्ति स्वाहा पार्न को आउँछ ? उद्यमीहरू जीवा लामिछाने, निरजगोविन्द श्रेष्ठलगायत विदेशमा रहेका धेरै गैरआवासीय नेपालीले नेपालका विभिन्न उद्यम क्षेत्रमा लगानी गरेका थिए । दुई दिने सो आन्दोलनपछि उनीहरू पनि लगानी गर्न डराउनुपर्ने स्थिति आएको छ ।
लगानीकर्ताहरू डराएपछि देशले कसरी फड्को मार्छ ? यहीँका जनताले असुरक्षित मानेको देशमा विदेशी कसरी आउँछन् ? पर्यटन व्यवसाय कसरी फस्टाउँछ ? के जेनजीले चाहेको नेपाल यस्तै हो ? देशको सार्वजनिक र निजी सम्पत्तिमा आगो लगाएर भ्रष्टाचार रोकिन्छ ? सुशासन कायम हुन्छ ? विदेशमा भएका नेपालीलाई तर्साएर नयाँ नेपाल बन्छ ? यस विषयमा मोबाइल र इन्टरनेटमा हुर्किएका भनिएको जेनजी पुस्ताले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । किनकि, आफ्नो घर जलाउँदाको नोक्सानी आफैंलाई हुने हो, अरुलाई होइन ।
(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू