न्यायाधीशसँग चर्काचर्की गर्ने अधिवक्तामाथि मुद्धा

न्यायाधीशसँग चर्काचर्की गर्ने अधिवक्तामाथि मुद्धा

भारतको झारखण्ड उच्च अदालतले न्यायाधीशसँग चर्काचर्की गर्ने एक वरिष्ठ अधिवक्तालाई अवहेलनाको मुद्धामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । मुख्य न्यायाधीश तर्लोकसिंह चौहान र न्यायाधीशहरु सुजितनारायण प्रसाद, रंगोन मुखोपाध्यय,आनन्द सेन र राजेश शंकरको संयुक्त इजलासले आज वरिष्ठ अधिवक्ता महेश तिवारीलाई तीन हप्ताभित्र जवाफ पेश गर्न भनेको हो । 

हिजो बिहान २४ नम्बर इजलासमा विद्युतको लाइन काटिएकोसम्बन्धी मुद्धामा सुनुवाई चलिरहँदा न्यायाधीश राजेशकुमार र वरिष्ठ अधिवक्ता तिवारीबीच चर्काचर्की परेको थियो । न्यायाधीशले पुरानो मुद्धाको प्रसंग कोट्याउँदै तिवारीलाई प्रश्न गरेपछि विवाद सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तिवारीले कुनै मुद्धाको सुनुवाई चलिरहँदा अर्को मुद्धाको प्रसंग निकालेर ह्युमिलिएट र म्यानिपुलेट गर्न नपाइने भन्दै न्यायाधीशलाई आफ्नो सीमा ननाघ्न भनेका थिए ।

त्यसपछि दुई जनाबीच करिब १० मिनेट चर्काचर्की पर्यो । चर्काचर्कीपछि न्यायाधीश राजेश कुमार सुनुवाई स्थगित भएको घोषणा गर्दै इजलासबाट निस्किएका थिए ।  अदालतका कर्मचारीले तिवारीविरुद्ध अवहेलनाको मुद्धा दर्ता गरेकोमा आज मुख्य न्यायाधीशसहितको संयुक्त इजलासले तिवारीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

https://www.facebook.com/share/v/1JZuBdszsB/

टिप्पणीहरू