चीनमा बालुवालाई सुन बनाइँदै
चीनको विशाल भूभागको करिब एक तिहाइ हिस्सा मरुभूमिले ढाकेको छ । तर पछिल्ला वर्षमा यही मरुभूमि चीनको पर्यटन उद्योगको नयाँ आकर्षण बन्दै गएको छ। उत्तरपश्चिमको कान्सु, सिन्जियाङ र उत्तरको भित्री मङ्गोलिया प्रान्त तथा स्वायत्त क्षेत्रका मरुभूमिहरू पछिल्लो समय आन्तरिक एवम् वाह्य पर्यटकका लागि साहसिक र सांस्कृतिक गन्तव्यका रूपमा देखिएका छन् ।
कान्सु प्रान्तको दुनह्वाङस्थित मिङ्सा पर्वत र क्रेसन्ट स्प्रिङ चीनको मरुभूमि पर्यटनको प्रतीक स्थल मानिन्छ । सुनौलो बालुवाको मनमोहक दृश्य, सिल्क रोडको पुरानो व्यापार मार्ग, र मरुभूमिको बीचमा रहेको अर्धचन्द्राकार प्राकृतिक पानीको स्रोत— यी सबैले दुनह्वाङलाई रहस्यमय र आकर्षक बनाएको छ । उक्त स्थानमा हुने गरेका उँट सवारी, सन्ड बोर्डिङ, बालुवा मोटरसाइकल, र सांस्कृतिक प्रदर्शन जस्ता गतिविधिले पर्यटक तान्ने क्रम बढेको छ ।
दक्षिणमा ताकलामाकान मरुभूमि र गोबी मरुभूमिले पनि मरुभूमि पर्यटनमा नयाँ स्थान बनाउन थालेका छन् । विशेष गरी सिन्जियाङको ताकलामाकानमा सरकारले पछिल्ला वर्षमा मरुभूमि राजमार्ग पर्यटन क्षेत्र विकास गरेको छ । यसबाट यात्रुहरू विशाल मरुभूमिबीचको राजमार्ग हुँदै ऐतिहासिक हरियाली र ओसिलो क्षेत्रका सहरहरूको भ्रमणमा जाने गरेका छन् ।
मरुभूमि पर्यटनलाई चीनले जलवायु चुनौतीबीच पनि हरित विकास र वातावरणीय पुनस्र्थापनासँग जोडेको छ । बालुवा उड्ने समस्यामा नियन्त्रण, वृक्षरोपण, र कृत्रिम ओएसिस विकासका कार्यक्रमले केवल मरुभूमि नियन्त्रणमा मात्र होइन, पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुर्याएका छन्।
यसले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ। मरुभूमि क्षेत्रका समुदायले अहिले होटल, यातायात, हस्तकला र लोकसंस्कृति प्रदर्शनीमार्फत आम्दानीका नयाँ अवसर पहिल्याएका छन् ।
दुनह्वाङ, गोबी र सिनजियाङका मरुभूमिहरू पहिले झैँ ‘सुनसान’ भूमि नभएर संस्कृति, इतिहास र साहसिक पर्यटनको संगमस्थलको पर्याय बनेका छन् । सिल्क रोडको ऐतिहासिक पक्ष, आधुनिक पूर्वाधार र हरित विकासका प्रयासबीच चीनको मरुभूमि पर्यटन आज विश्वका अनौठा गन्तव्यहरूमा गणना हुने अवस्थामा पुगेको बताइन्छ।
तस्बिरहरु





टिप्पणीहरू